फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण
फ्रान्सको एक सहरमा क्रिसमस बजारलाई लक्ष्य गरी मंगलबार अतिवादी हमला भएको छ । क्रिसमस बजारमा एक बन्दुकधारीले गोली चलाउँदा चारजनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् । यो हमलालाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमण बताइएको छ ।
स्थानीय समयअनुसार राति ८ बजे बन्दुकधारीले गोली चलाएका थिए । ती बन्दुकधारीले बजारमा सामान खरिद गरिरहेका ग्राहकतर्फ लक्षित गर्दै गोली चलाएका थिए । आक्रमणका घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । बन्दुकधारीको परिचय खुलेको र उनी पहिलेदेखि नै उच्च निगरानीमा रहेको चरमपन्थी समूहका सदस्य भएको फ्रान्सेली प्रहरीले जनाएको छ ।
क्रिमसमका लागि विशेष योजनासहित सञ्चालन गरिएको बजारमा अन्धाधुन्द गोली प्रहार भएपछि स्थानीय बासिन्दा त्रसित छन् । सन् २०१५ मा फ्रान्समा भएका शृंखलाबद्ध हमलामा २४५ जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसपछि सन् २०१८ को मे १२ मा एक व्यक्तिले गरेको चक्कु प्रहारमा एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य चार घाइते भएका थिए ।
सन् २०१८ को मार्च ३ मा फ्रान्सको दक्षिणी सहरमा भएको एक बन्दुकधारीको आक्रमणमा प्रहरीका एक कर्णेलसहित चार व्यक्तिको मृत्यु भएको थियो । सन् २०१७ को अक्टोबर १ मा फ्रान्सको दक्षिणी प्रमुख सहर मसैलीको रेलवे स्टेसनमा २९ वर्षीया एक ट्युनिसियाली नागरिकले गोली प्रहार गरी दुई युवतीको हत्या गरेका थिए । अहमत हनाची नामका यी बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका थिए ।