मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३ शुक्रबार ०८:३०:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अमेरिकासँग नेपाल ३९ रनले पराजित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३ शुक्रबार ०८:३०:००

ब्याट्सम्यानहरूले फेरि एकपटक खराब ब्याटिङ गरेपछि नेपाल आइसिसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा अमेरिकासँग ३९ रनले पराजित भएको छ । अमेरिकामा सम्पन्न त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार बिहान अमेरिकाले नेपालमाथि सहज जित निकालेको हो । सिरिजकै चौथो खेलमा अमेरिकाले पहिलो ब्याटिङ गरी सात विकेट गुमाएर दुई सय ४५ रन बनाएको थियो । प्रत्युत्तरमा नेपाल ४७.४ ओभरमा दुई सय ६ रनमा अलआउट भयो । 

अमेरिका भ्रमणमा नेपालले एक जित, दुई हार तथा एक टाई नतिजा बेहोर्‍यो । सिरिजअन्तर्गत नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकासँग टाई खेल्यो । नेपालले शीर्ष स्थानमा रहेको ओमानमाथि तेस्रो खेलमा सात विकेटको सानदार जित निकाल्यो । अब नेपालले सिरिजअन्तर्गत यसै महिना स्कटल्यान्डको भ्रमण गर्नेछ । 

अंक तालिकामा नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौँ स्थानमा छ । विश्वकप लिग–२ मा नेपालले अहिलेसम्म सात जित, आठ हार र एक खेल बराबरी खेलेको छ । सात राष्ट्र सम्मिलित प्रतियोगितामा ओमानले शीर्ष स्थानमा सर्वाधिक ४४ अंक जोडेको छ । ओमानले विश्वकप लिग–२ अन्तर्गतका सबै खेल खेलिसकेको छ । 
स्कटल्यान्डले २० खेलबाट २८ अंक बनाएको छ । स्कटल्यान्ड दोस्रो स्थानमा छ । युएई २६ अंकका साथ तेस्रो स्थानमा छ । अमेरिकाले २४ खेलबाट २३ अंक जोडी चौथो स्थान बलियो बनाएको छ । छैटौँ स्थानमा रहेको नामिबियाले १४ खेलबाट १४ अंक बटुलेको छ । २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौँ स्थानमा छन् । 

आरिफ र सोमपालले दिलाएको आशा

लक्ष्य पछ्याएको इनिङ्समा नेपाल एक समय ९३–५ को कमजोर अवस्थामा थियो । सोमपाल कामी र आरिफ शेखले छैटौँ विकेटका लागि एक सय ६ रनको साझेदारी गर्दै नेपाललाई जितको आशा दिलाएका थिए । यी दुई ब्याट्सम्यानले नेपाललाई खेलमा पुनरागमन गराउन सफल भए । इनिङ्सको ४४.४ ओभरमा आरिफ आउट भए । उनी आउट हुँदा नेपाल १९९–६ को अवस्थामा थियो । अन्तिम पाँच विकेट केवल सात रनभित्र गुमाउँदा नेपाल जित हात पार्न वञ्चित भयो । 

नेपालका लागि आरिफले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ७६ बलमा तीन चौका प्रहार गरे । आरिफको यो एकदिवसीय खेलमा तेस्रो अर्धशतक हो । आरिफलाई गतिलो साथ दिएका सोमपाल ४४.६ ओभरमा आउट भए । उनले ४७ रनको योगदान दिँदा ७२ बलमा एक चौका प्रहार गरे । आरिफ र सोमपालबीच छैटौँ विकेटका लागि भएको साझेदारी नेपालका लागि उच्च साझेदारी थियो । यसअघि सन् २०२० मा कीर्तिपुर मैदानमा विनोद भण्डारी र कुशल मल्लले अमेरिकाविरुद्ध छैटौँ विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । नेपालको ब्याटिङमा कुशल भुर्तेलले १० रन, देव खनालले ३४ रन तथा रोहितकुमार पौडेलले १६ रन बनाए । 

व्यक्तिगत प्रदर्शनमा खुसी छैनन् सन्दीप

नेपालका कप्तान सन्दीप आफ्नै व्यक्तिगत प्रदर्शनमा खुसी छैनन् । अमेरिका भ्रमणमा सन्दीपले आफूले पनि सोचेजस्तो राम्रो प्रदर्शन गर्न नसकेको बताएका छन् । ‘जितको एकदमै नजिक पुगेर पराजित भयौँ,’ सन्दीपले अन्तर्राष्ट्रिय मिडियासँग भने, ‘हामीले जुन तरिकाले खेलेका थियौँ, त्यहाँबाट एउटा मात्र खेल गुमाउनुपर्ने हो ।’ सन्दीपले स–साना आफ्नै गल्तीका कारण विपक्षीले जित निकालेको प्रतिक्रिया दिएका छन् । ‘हामी अमेरिकामा चारै खेल जित्ने अवस्थामा थियौँ । तर, स–सानो गल्तीका कारण खेल गुमायौँ,’ उनले भने, ‘हामी कहाँ छौँ, यसको विश्लेषण गर्नु आवश्यक छ, अब हामीले धेरै सुधार गर्नुपर्ने हुन्छ ।’ सन्दीपले बलिङमा थप राम्रो हुन सक्ने बताए । ‘सिरिजमा मैले पनि राम्रो बलिङ गर्न सक्थेँ, तर सोचेजस्तो प्रदर्शन भएन,’ उनले भने, ‘आउने सिरिजमा हामीमाथि चुनौती हुनेछ, अगामी खेलका लागि तयारी गर्नुपर्छ ।’

करण बने प्लेयर अफ द सिरिज

नेपालका दायाँहाते तीव्र गतिका बलर करण केसी अमेरिका, ओमान र नेपालको त्रिकोणात्मक एकदिवसीय सिरिजकै प्लेयर अफ द सिरिज भएका छन् । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा आयोजक अमेरिकासहित नेपाल र ओमानले प्रतिस्पर्धा गरेका थिए । करणले चार खेलमा सर्वाधिक १३ विकेट लिँदै उत्कृष्ट खेलाडीको उपाधि हात पारेका हुन् । उनले ओमानविरुद्धको दुवै खेलमा पाँच विकेट लिए । करणले अमेरिकाविरुद्धको टाई खेलमा कुनै विकेट लिन सकेनन् । करणले पहिलो खेलमा ओमानविरुद्ध ३८ रन खर्चिंदै पाँच विकेट लिए । त्यसपछि तेस्रो खेलमा उनले ओमानका पाँच ब्याट्सम्यान आउट गर्न ३३ रन खर्चिए । अमेरिकाविरुद्ध चौथो खेलमा करणले ६७ रन खर्चिंदै तीन विकेट हात पारे । 

करण नेपालका लागि टी–२० र एकदिवसीयमा दुईपटक पाँच विकेट लिने पहिलो खेलाडी हुन् । एकदिवसीय खेलको एकै सिरिजमा दुईपटक पाँच विकेट लिने करण नेपालका एक मात्र खेलाडी हुन् । नेपालका लागि एकदिवसीय खेलमा सोमपाल कामीले पहिलोपटक पाँच विकेट लिएका थिए । सोमपालले सन् २०१९ मा युएईविरुद्ध पाँच विकेट लिएका थिए । नेपालका कप्तान सन्दीप लामिछानेले दुईपटक ६ विकेट लिएका छन् । सन् २०२१ मा ओमानमा भएको खेलमा सन्दीपले पपुवा न्युगिनीविरुद्ध ११ रन खर्चिंदै ६ विकेट हात पारेका थिए । उनको यो प्रदर्शन नेपालका लागि एकदिवसीय खेलमा अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । सन्दीपले कीर्तिपुर मैदानमा सन् २०२० मा अमेरिकाविरुद्ध १६ रन खर्चिंदै ६ विकेट लिए ।