मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ २८ शनिबार ०६:१२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

६ वर्षपछि मूल्यवृद्धि ८ प्रतिशत पुग्यो 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ २८ शनिबार ०६:१२:००

देशभित्र बैंकको ब्याजदर तथा अन्तर्राष्ट्रिय बजारमा वस्तुको भाउ बढेपछि मूल्यवृद्धि अनियन्त्रित बन्दै

करिब ६ वर्षपछि नेपालको मूल्यवृद्धि आठ प्रतिशत हाराहारी पुगेको छ । यसअघि ०७३ भदौमा मूल्यवृद्धि ७.९ प्रतिशत रहेकोमा त्यसपछि निरन्तर राष्ट्र बैंकले तोकेको सीमाभित्र रहँदै आएको थियो । तर, यस वर्षको वैशाखमा यो ७.९ प्रतिशत नै पुगेको छ । यस वर्षको फागुन, चैत तथा वैशाखमा निरन्तर मूल्यवृद्धि सात प्रतिशतभन्दा माथि रहँदै आएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य निर्धारण गरेको छ । तर, खासगरी देशभित्र बैंकको ब्याजदर तथा अन्तर्राष्ट्रिय बजारमा वस्तुको भाउ बढेपछि मूल्यवृद्धि अनियन्त्रित बन्दै गएको छ । 

अघिल्लो वर्षको वैशाखमा मुलुकमा मुद्रास्फीति ३.६५ प्रतिशत थियो । ०७८ वैशाखको तुलनामा ०७९ वैशाखमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेलको मूल्यवृद्धि सबैभन्दा धेरै २४.८६ प्रतिशत भएको छ । त्यसपछि फलफूल, दुग्ध पदार्थ तथा अन्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत भएको छ । त्यस्तै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः २१.८१ प्रतिशत, ११.६४ प्रतिशत र ८.२१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

शोधनान्तर र चालू खाता घाटा अझै गहिरिए

मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको हिसाब देखिने शोधनान्तर र चालू खाता घाटा झनै गहिरिएका छन् । वैशाखमा चालू खाता घाटा पाँच खर्ब ४७ अर्ब पुगेको छ । जब कि अघिल्लो महिना चैतमा चालू खाता घाटा पाँच खर्ब १२ अर्ब रुपैयाँ थियो । अघिल्लो वर्षको वैशाखमा चालू खाता दुई खर्ब ५१ अर्बले मात्रै घाटामा थियो । त्यस्तै, मुलुकको शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति सात अर्ब ७५ करोडले बचतमा थियो । चैतमा मुलुकको शोधनान्तर घाटा दुई खर्ब ६८ अर्बले घाटामा थियो ।

रुपैयाँ कमजोर हुँदा विप्रेषण आप्रवाहमा सामान्य प्रगति
यस वर्षको वैशाखसम्ममा गत वर्षको वैशाख महिनासम्मकै हाराहारीमा विप्रेषण भित्रिएको छ । चैत महिनासम्म विप्रेषण आप्रवाहको वृद्धिदर नकारात्मक भए पनि वैशाखमा भने ०.२ प्रतिशतले सकारात्मक बनेको छ । चालू आर्थिक वर्षको वैशाखसम्म कुल आठ खर्ब ११ अर्ब ७९ करोड रेमिट्यान्स भित्रिएको छ । 

तर, रेमिट्यान्स सकारात्मक बन्नुमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्नु प्रमुख कारण बनेको देखिएको छ । किनभने अमेरिकी डलरमा हेर्दा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड मात्रै भित्रिएको छ । जब कि अघिल्लो वर्ष नेपाली रुपैयाँमा गणना गर्दा रेमिट्यान्स आप्रवाह १९.२ र अमेरिकी डलरमा हेर्दा १६.१ प्रतिशतले वृद्धि भएको थियो ।

विदेशी मुद्राको सञ्चिति दुई वर्षदेखि निरन्तर ओरालो : अहिलेको सञ्चितिले साढे ६ महिनाको मात्रै आयात धान्ने

विदेशी मुद्राको सञ्चिति घटेर ६.५७ महिनाको मात्रै वस्तु तथा सेवा आयात धान्ने तहमा पुगेको छ । अघिल्लो महिनाको सञ्चिति ६.६ महिनाको आयात धान्ने अवस्थामा थियो । अंकमा हेर्दा यस्तो सञ्चिति अघिल्लो महिना चैतको तुलनामा वैशाखमा २१ अर्ब चार करोडले घटेको छ । चैतमा नेपालसँग भएको सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड रहेकामा वैशाखमा ११ खर्ब ४६ अर्ब ८८ करोडमा झरेको नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । दुई वर्षदेखि नै मुलुकमा विदेशी मुद्राको सञ्चितिमा कमी आइरहेको छ । ०७७ साउनमा विदेशी मुद्राको सञ्चिति १५.६ महिनाको वस्तु तथा आयात धान्न सक्ने निकै नै बलियो स्थितिमा पुगेको थियो । यस आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा घटेर ८.३ महिनाको आयात धान्ने स्तरमा झ¥यो भने अहिले झनै कमजोर बनेको छ । विदेशी मुद्राको सञ्चिति साढे ६ महिनाको वस्तु तथा सेवा आयात धान्नेभन्दा तल झ¥यो भने त्यो अर्थतन्त्रका लागि संकटको संकेत मान्ने गरिन्छ ।