मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सडक भासिएपछि पैदलै हिँडेर सडक पार गर्दै यात्रुहरु
२०७९ जेठ २७ शुक्रबार २१:४२:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सडक भासिएर कार र मोटरसाइकल मर्स्याङ्दी नदीमा खस्दा दुईजनाको मृत्यु

Read Time : > 2 मिनेट
२०७९ जेठ २७ शुक्रबार २१:४२:००

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका– ४ साँखरमा शुक्रबार बिहान सडक भासिँदा एउटा कार र दुईवटा मोटरसाइकल मर्स्याङ्दी नदीमा खस्यो । जहाँ दुईजनाको मृत्यु भयो ।  मृत्यु हुनेमा गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका– २ बस्ने ३५ वर्षीय केशव घिमिरे र हेटौँडाका ३५ वर्षीय हेमबहादुर भुजेल रहेका छन् । 

सडकमा गुडिरहेका सवारीसाधनहरू शुक्रबार बिहान करिब पाँच बजेको समयमा अकस्मात सडक भासिन जाँदा सवारीसाधनहरू मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । उनका अनुसार सडक भासिएर सवारीसाधन खसेको थाहा पाउनेबित्तिकै प्रहरीको टोली घटनास्थल पुगेको थियो । त्यहाँ पुगेर प्रहरीले मर्स्याङ्दीमा खसेर बेपत्ता भएको खोजी कार्य गर्दा दुईवटा शव फेला परेको थियो । ग १५ प २९५३ नम्वरको मोटरसाइकल चालक केशव घिमिरेको शव फेला परेको थियो भने उनको मोटरसाइकल नदीमा बेपत्ता भएको डिएसपी खड्काले बताए ।

घिमिरे जाममा परेकी श्रीमतीलाई लिन गएका थिए । श्रीमतीले जाममा परेपछि लिनको लागि श्रीमानलाई बोलाएको घिमिरेका आफन्त नरनाथ काफ्लेले बताए । श्रीमती लिन गएका घिमिरे भासिएको सडकमा सँगै भासिए । यता श्रीमती चिनजान भएका व्यक्तिको मोटरसाइलमा लिफ्ट मागेर घर गइन् । मोटरसाइकलमा लिफ्ट पाएपछि उनले श्रीमानलाई नआउन भन्नको लागि उनले फोन गरिन् तर उनको फोन अफ भइसकेको थियो । 

सडक भासिएपछि पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । बिहान पाँच बजेदेखि अवरुद्ध भएको राजमार्ग दिउँसो तीनबजे साना सवारी साधनलाई एकतर्फी खुलाएको भए पनि सडक जोखिम भएकाले आवतजावतमा रोक लगाइएको छ ।

त्यस्तै बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेर बेपत्ता भएको तर मोटरसाइकलमा सवार व्यक्तिहरू भने सकुशल रहेको उनले बताए । त्यस्तै  नदीमा बा १० च ४७७९ नम्बर लेखिएको कारको केही भाग भेटिएको भए पनि कार भने नभेटिएको प्रहरीले जनाएको छ । कार नदीमा बेपत्ता भएकोले त्यसमा कति जना सवार थिए भन्ने नै अहिलेसम्म नखुलेको उनले बताए । मर्स्याङदीमा पानीको बहाब बढेकाले पनि गोताखोर टोली परिचालन गर्न नसकेको प्रहरीले जनाएको छ ।राजमार्ग अवरुद्ध भएपछि सडक खुलाउनको लागि डोजर परिचालन गरिएको सडक डिभिजन कार्यालय तनहुँका प्रमुख लक्ष्मी केसीले बताइन् । ‘सडक खुलाउने प्रयास भइरहेको छ । खुलाउनको लागि रातको समयमा पनि काम गरिरहेका छौँ,’ उनले भने ।

तत्काल सवारी आवतजावत खुलाउन मन्त्रीको निर्देशन
गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विकले अवरुद्ध राजमार्गलाई छिटोभन्दा छिटो सुचारु गर्नको लागि निर्देशन दिएका छन् । सडक भासिएर सवारीसाधन मर्स्याङदीमा खसेको थाहा पाउनेबित्तिकै मन्त्री विक निरीक्षणको लागि पोखराबाट आँबुखैरेनी आएका थिए । उनले सयौँको संख्यामा रोकिएका सवारीसाधन र यात्रुहरू बिचल्लीमा परेको देखेपछि सम्बन्धित पक्षलाई छिटो राजमार्ग सुचारु गर्न निर्देशन दिएका हुन् । राजमार्ग दुईतर्फी रूपमा सञ्चालन गर्नको लागि पहाड फोररे बाटो बनाउनुपर्ने देखिएको मन्त्री बिकले बताए । ‘घटना भएको थाहा पाउनेबित्तिकै म आफैँ यहाँ आएको हुँ । यहाँ सानो एउटा सवारीसाधन कटाउन पनि असहज छ । ठूला सवारी त झन कल्पनै नगरे पनि हुन्छ । त्यसैले रातको समयमा सवारीसाधनलाई रोकेर रातभरि काम गर्नुपर्छ त्यसो भयो भने शनिबारबाट राजमार्ग सुचारु हुन्छ,’ उनले भने । राजमार्ग बन्द हुँदा बढी मात्रामा बिरामीहरू मर्कामा परेका छन् ।

राजमार्ग अवरुद्ध भएपछि हेलिकोप्टरमार्फत बिरामी काठमाडौं लगियो 
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध भएपछि बिरामीलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । गोरखाको बारपाकका ५२ वर्षीय बाल गुरुङलाई उपचारको लागि काठमाडौं लगिएको हो । राजमार्ग अवरुद्ध भएपछि लैजानको लागि कुनै विकल्प नभएपछि उनलाई हेलिकोप्टरमा लगिएको हो । उनी प्रेसरका बिरामी थिए ।

आबुखैरेनी मुग्लिन खण्ड ७ बजेबाट बन्द 
आबुखैरेनी मुग्लिन खण्ड ७ बजेबाट बन्द भएको छ । सडक बनाउनको लागि उक्त खण्ड बन्द गरिएको हो । बेलुका सात बजेबाट शनिबार बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो ।