मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७९ जेठ २७ शुक्रबार ०९:४८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तातोपानीमा अड्किएको मल आयात गर्ने बाटो खुल्यो 

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७९ जेठ २७ शुक्रबार ०९:४८:००

साल्ट ट्रेडिङले सिल्क सिनोम्याचसँग भंग गरेको सम्झौता यथास्थितिमा राख्न अदालतको आदेश

उच्च अदालत पाटनले कृषि सामग्री कम्पनीले गरेको सिल्क सिनोम्याच ग्लोबल म्याटिक विध जेभीसँग मल ल्याउने ठेक्का रद्दको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ । १९ जेठमा उच्च अदालतका न्यायाधीशद्वय नरीश्वर भण्डारी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले यस्तो अन्तरिम आदेश दिएको हो । समयमा मल नल्याएको भन्दै कृषि सामग्रीले सम्झौता तोडेपछि सिल्क सिनोम्याच रिट निवेदन लिएर उच्च अदालत पुगेको थियो ।

मल आयात गर्ने जिम्मा पाएको कम्पनीले काबुबाहिरको परिस्थितिका कारण समयमा मल आयात गर्न नसकेकाले त्यस आधारमा सम्झौता भंग गर्न नमिल्ने अदालतको आदेशमा उल्लेख छ । रिटको अन्तिम टुंगो नलागेसम्म मल ल्याउने ठेक्का रद्द नगर्न आदेश दिएको हो । तातोपानी भन्सार कार्यालयमा रोकिएको भनिएको मल र सम्झौताअनुसार झिकाउनुपर्ने परिमाणको मलसमेत नेपाल भित्र्याउन सहजीकरण गर्नू–गराउनू भनेर अदालतले अन्तरिम आदेश दिएको छ । 

एक महिनादेखि तातोपानी नाकामै पाँच सय टन मल 
 नेपालका लागि आयात गरिएको करिब पाँच सय मेट्रिकटन रासायनिक मल भने एक महिनादेखि तातोपानी भन्सारमै थन्किएर बसेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट रासायनिक मल ल्याउन टेन्डर आह्वान गरेपछि सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले रासायनिक मल ल्याउने ठेक्का प्राप्त गरे । सरकारी नियमानुसार मंसिरमा आयात गर्न चारवटै कम्पनी सम्मिलित जेभी ग्रुपले चीनको छिङ्हाई सहरमा पुगेर २५ हजार मेट्रिकटन मल अर्डर गर्‍यो ।

भूकम्पपछि चीनबाट नेपालका लागि सामान आयात गर्दै आएको सिल्क ट्रान्सपोर्ट कम्पनीको सिल्क ग्रुपले पहिलोपटक मल ल्याएको थियो । दोस्रो टेन्डर आह्वान भएपछि सिल्कसहित अन्य तीन कम्पनीलाई पनि मल आयात गर्ने टेन्डर पर्‍यो । चीनबाट सामान आयात गर्दै आएको सिल्क कम्पनीले छिङ्हाई सहरमा पुगेर मल अर्डर गर्‍यो । सिल्क कम्पनीसँग ढुवानी गर्ने आफ्नै कन्टेनर छन् ।

चार कम्पनीमध्ये चिनियाँ क्षेत्रमा पर्ने सबै कामको जिम्मवारी सिल्कले लियो । सिल्क मार्केटले मल आयातमा आफ्नो मात्र मनोमानी गरेको तथा सरकारी निकायसँग मिलेमतो गरेको भन्दै अन्य तीन कम्पनीसँग विवाद हुन थाल्यो । चिनियाँ बजारमा परिचित सिल्कले जेभी गरेका कम्पनीलाई तर्साउन र आउँदा वर्षहरूमा मलको व्यापारमा हात नहालोस् भन्ने उद्देश्यले सहयात्री तीन कम्पनीलाई ठेक्का सम्झौता भएको दिनदेखि नै दुःख दिएको एक कम्पनीका सञ्चालकले बताए ।

सिल्ककै कुरा सुनेर तातोपानी आइपुगेको मल काठमाडौं नल्याई ठेक्का तोेड्न सरकारी निकाय लागेको उनको आरोप छ । तर, मल ल्याउन ढिला गरेको र सम्बन्धित कम्पनीले एलसी नखोलेकाले कृषि सामग्री कम्पनीले ठेक्का तोडेको सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले बताए । जेभीका आधिकारिक प्रतिनिधि भीमकान्त भण्डारीले  भने सरकारी असहयोगका कारण चिनियाँ क्षेत्रमा रहेको दुई लाख बोरा मल पनि अलपत्र परेको गुनासो पोखे । 

फागुनमै आउनुपर्ने मल ढिला गरेर जेठको सुरुमा खासाबाट तातोपानी आइपुगेपछि आयात गर्ने कम्पनीहरूबीच विवाद सुरु हुन थाल्यो । त्यही समयमा मल भन्सारमा आइपुगेपछि कृषि सामग्री कम्पनीले १० जेठमा एकाएक ठेक्का तोडेको घोषणा गर्‍यो । कम्पनीको यस्तो निर्णयले लगानी डुब्ने भएपछि जेभीका आधिकारिक प्रतिनिधि भण्डारीले सर्वोच्च अदालत पुगेर उजुरी गरे ।

गोदाममा मल थुप्रिएर स्थान अभाव भएकाले तातोपानी भन्सार कार्यालयमा अन्य सामग्री राख्ने स्थान अभाव भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । मल छुटाउन जाँचपास गरेर सिलबन्दी गर्न व्यापारीले कुनै कागजात भन्सारमा पेस नगरेको उनले बताए ।