मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ २७ शुक्रबार ०६:१५:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्थानीय निर्वाचन परिणामबारे कांग्रेस प्रतिवेदन : सिट र मत दुवैतिर पहिलो शक्ति

Read Time : > 3 मिनेट
२०७९ जेठ २७ शुक्रबार ०६:१५:००
  • वडाध्यक्षमा प्राप्त मतका आधारमा कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको दाबी
  • वडाध्यक्षमा कांग्रेसले पाएको मत : ३८ लाख ८३ हजार १३८

कांग्रेसले सिट र मत दुवैतर्फ स्थानीय तह निर्वाचनमा आफू पहिलो भएको दाबी गरेको छ । एमालेले जनमतमा आफू पहिलो शक्ति भएको दाबी गरिरहेका वेला कांग्रेसले एक प्रतिवेदन सार्वजनिक गर्दै दुवैतर्फ आफू नै पहिलो शक्ति रहेको बताएको हो । 

कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले बिहीबार निर्वाचन परिणामको समग्र तथ्यांक पेस गर्दै कांग्रेस एक्लै र गठबन्धनको बलमा प्राप्त शक्तिको जानकारी दिएको छ । केन्द्रीय सदस्य प्रदीप पौडेल संयोजकत्वको उपसमितिले कांग्रेसले वडातर्फभन्दा बढी मत पाएको प्रतिवेदन सार्वजनिक गरेको हो । 

‘स्थानीय निर्वाचन, २०७९ को नतिजाले कांग्रेसलाई सबैभन्दा ठूलो दलका रूपमा स्थापित गरेको छ । वडाध्यक्षमा प्राप्त मतका आधारमा कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको छ,’ प्रतिवेदनमा छ ।

उपसमिति संयोजक पौडेलले ३९ प्रतिशत वडाध्यक्ष विजयी भएको र वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा कांग्रेस सबैभन्दा ठूलो दल भएको बताए । प्रतिवेदनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार (विजयी, प्रत्याशी र तेस्रो स्थानसम्म आएकालाई आधार बनाइएको)ले ३८ लाख ८३ हजार एक सय ३८ मत पाएको उल्लेख छ । प्रतिवेदनमा यो एमालेका वडाध्यक्षका उम्मेदवारले पाएभन्दा एक लाख ७५ हजार ७६ मतले बढी रहेको र सोही मतका आधारका कांग्रेस स्थानीय तहमा जनमतमा पनि पहिलो शक्ति रहेको दाबी छ । 

प्रतिवेदनमा सात सय ५२ स्थानीय तहको परिणाम आउँदा कांग्रेसले एक सय ८८ गाउँपालिका अध्यक्ष र एक सय ४१ नगर प्रमुख गरी ४४ प्रतिशत (तीन सय २९ स्थान) जित हासिल गरेको उल्लेख छ । त्यस्तै, उपप्रमुखतर्फ तीन सय स्थान (एक सय ९० उपाध्यक्ष र एक सय १० उपप्रमुख) गरी ४० प्रतिशत जित हासिल गरेको प्रतिवेदनमा छ ।

यसबाहेक एक हजार पाँच सय चार कार्यकारी पदमध्ये ६ सय २९ स्थान (४२ प्रतिशत)मा कांग्रेसको उपस्थिति भएको, ६ हजार सात सात ३३ वडाध्यक्षमध्ये दुई हजार ६ सय ६५ वडाध्यक्ष, दुई हजार ६ सय ६ महिला सदस्य, दुई हजार पाँच सय ५१ दलित महिला सदस्य र पाँच हजार तीन सय सात खुला सदस्य विजयी भएको कांग्रेस प्रतिवेदनमा छ । यस्तै, प्रदेशगत आधारमा प्रमुख र उपप्रमुख पदमा कांग्रेस सातवटै प्रदेशमा पहिलो दल बनेको प्रतिवेदनमा छ ।

प्रतिवेदनअनुसार स्थानीय तह निर्वाचन, २०७४ मा कांग्रेसले प्रमुख र अध्यक्ष पदमा दुई सय ६६ (३५ प्रतिशत) जित हासिल गरेकामा अहिले तीन सय २९ (४४ प्रतिशत) स्थानीय तहमा जित हासिल गरेको छ । त्यस्तै, ०७४ मा उपप्रमुख र उपाध्यक्ष पदमा दुई सय २३ (३१ प्रतिशत सिट जितेको थियो भने हालको निर्वाचनमा तीन सय (४० प्रतिशत) सिट जितेको प्रतिवेदनमा छ । त्यस्तै, २०७४ मा ६ हजार सात सय ४३ वडामध्ये दुई हजार दुई सय ८७ (३४ प्रतिशत) वडाध्यक्ष जितेकोमा अहिले दुई हजार ६ सय ६५ (३९.५ प्रतिशत) वडामा आफ्नो पार्टी निर्वाचित भएको कांग्रेसले जनाएको छ । 

३२४ पालिकामा गठबन्धन : कसलाई कति फाइदा ? 
कांग्रेस प्रतिवेदनअनुसार सात सय ५३ मध्ये तीन सय २४ स्थानमा गठबन्धनमा रहेका दलबीच तालमेल भएको थियो । जसमध्ये दुई सय नौ प्रमुख र एक सय १५ उपप्रमुखमा उम्मेदवारी दिएको कांग्रेसले एक सय २८ प्रमुख र ८५ उपप्रमुखमा जित हासिल गरेको छ । तालमेलअनुसार माओवादी केन्द्र्रले ८१ प्रमुखमा उम्मेदवार उठाएकोमा ६९ र एक सय ४९ उपप्रमुखको उम्मेदवारी दिएकोमा ७९ सिट जितेको, एकीकृत समाजवादीले २७ प्रमुखमा उम्मेदवारी दिएकोमा १३ र ४३ उपप्रमुखमा उम्मेदवारी दिँदा १४ स्थानमा जित हासिल गरेको कांग्रेसको प्रतिवेदनमा छ । राष्ट्रिय जनमोर्चाले चार प्रमुखको उम्मेदवारी दिएकोमा चार र ६ उपप्रमुखको उम्मेदवारी दिएकोमा तीन सिट जितेको  तथा जसपाले तीन प्रमुखमा उम्मेदवारी दिएकोमा दुई र ११ उपप्रमुखको उम्मेदवारी दिएकोमा चार स्थानमा जित हासिल गरेको कांग्रेसको प्रतिवेदनमा छ ।

तालमेल भएर पनि प्रमुखमा पाँच दलले १०८ सिट गुमाए 
तीन सय २४ स्थानमा तालमेल भए पनि गठबन्धनमा रहेका दलहरूले दुई सय १६ सिटमा जित निकालेका छन् । उनीहरूले प्रमुखमा एक सय आठ सिट गुमाएका छन् । त्यसैगरी, तालमेल भएका तीन सय २४ मध्ये एक सय ३९ उपप्रमुख पनि गठबन्धनमा रहेका दलहरूले गुमाएको कांग्रेस प्रतिवेदनमा छ । तालमेल गरेका ठाउँमध्ये कांग्रेसले ८१, माओवादीले १२, एकीकृत समाजवादी १४ र जसपाले एक सिट गुमाएको छ । त्यसैगरी, उपप्रमुखमा तालमेल भएका ठाउँमध्ये कांग्रेसले ३०, माओवादीले ७०, एकीकृत समाजवादीले २९, जसपाले सात र जनमोर्चाले चार सिट गुमाएका छन् । 

गठबन्धनबारे प्रतिवेदन : रणनीतिक रूपमा साझा संकल्पसहित उद्देश्य प्राप्तिका लागि अघि बढ्नु देखिन्छ
स्थानीय तह निर्वाचन, २०७९ का सन्दर्भमा सत्तामा रहेका पाँच दलबीचको गठबन्धनलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमै अत्यन्त चासोका साथ हेरिएको थियो । निर्वाचन परिणामलाई लिएर गठबन्धनमा रहेका दलहरूबीच आपसमा र सम्बन्धित दलभित्र नै केही असन्तुष्टि र आकांक्षा एकैपटक प्रकट भएको छ । यसले प्रादेशिक र संघीय निर्वाचनमा गठबन्धनले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने विषयमा चर्चा हुन थालेको छ । गठबन्धनको औचित्य कुनै राजनीतिक शक्तिलाई निस्तेज पार्नेभन्दा पनि राजनीतिक क्रान्तिमार्फत प्राप्त उपलब्धिको रक्षा गर्दै समुन्नत राष्ट्र निर्माणमा वैचारिक प्रतिस्पर्धा अँगाल्दै रणनीतिक रूपमा साझा संकल्पसहित उद्देश्य प्राप्तिका लागि अघि बढ्नु देखिन्छ ।

गणितीय रूपमा तालमेल भएका स्थानमा सकारात्मक प्रभाव देखिन्छ : प्रदीप पौडेल संयोजक, निर्वाचन अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमिति
कांग्रेसले सात सय ५३ वटै पालिकामा गठबन्धन गरेको होइन । करिब ४३ प्रतिशत स्थानीय तहमा गठबन्धन गरेको थियो । जहाँ कांग्रेस कमजोर छ, त्यहाँ मात्र गठबन्धन गरिएको छ । हामी पहिलो भएको र एक्लै प्रतिस्पर्धा गर्न सक्ने ठाउँमा गठबन्धन गरिएको थिएन ।

गणितीय हिसाबले गठबन्धन गरिएका स्थानमा सकारात्मक प्रभाव पारेकै देखिन्छ । तर, कांग्रेसभित्रको आन्तरिक समस्या समाधान गरेर, टिकट वितरण प्रक्रिया विधि–विधानमा टेकेर, लोकप्रिय र न्यायको सिद्धान्त अँगालेर पार्टीको सम्पूर्ण शक्ति कांग्रेस जिताउन खर्चिने स्थिति निर्माण भएर अगाडि बढेको भए र गठबन्धन पनि अझै कसिलो बनाएको भए साढे चार सयभन्दा बढी स्थानमा कांग्रेसको जित्ने स्थिति थियो ।

पहिलो आन्तरिक व्यवस्थापनको विषयमा थुप्रै त्रुटि देखिए । गठबन्धनले परिणाम घटाएको, उथलपुथल बनाएको र पार्टीलाई घाटा भएको भन्ने हाम्रो निष्कर्ष छैन ।