१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
पोखरा बसपार्क
२०७९ जेठ २५ बुधबार १७:५४:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जग्गा अधिग्रहणको ४७ वर्षपछि बल्ल पोखरा बसपार्कको नाला शिलान्यास, कहिले बन्ला बसपार्क ?

Read Time : > 3 मिनेट
२०७९ जेठ २५ बुधबार १७:५४:००

पोखरा बसपार्क निर्माणका लागि जग्गा अधिग्रहण भएको झन्डै ४७ वर्षपछि बल्ल नाला निर्माणको काम थालिएको छ । सधैँ राजनीतिक नारा र चुनावी एजेन्डामा सीमित बसपार्क कहिले बन्ला भन्ने टुंगो भने अझै लाग्न सकेको छैन । 

भद्रगोल अवस्थाको बसपार्कलाई व्यवस्थित गर्छु भन्दै निर्वाचन लड्ने नेताहरूले जितेर आफ्नो अवस्था सुधारे पनि बसपार्कको अवस्था झनै भद्रगोल बनेको बसपार्क रहेको पोखरा महानगरपालिका–९ का निवर्तमान वडाध्यक्ष रामराज लामिछाने टिप्पणी गर्छन् । आफ्नो कार्यकालमा चाहँदाचाहँदै पनि बसपार्क निर्माणलाई अगाडि बढाउन नसकेकोमा उनी खिन्न छन् । 

आफू वडाध्यक्ष बन्दा बसपार्क निर्माणको एजेन्डा उठाएको र प्रदेशदेखि संघीय सांसदका सबै उम्मेदवारले बसपार्क निर्माणको एजेन्डा उठाएको उनले स्मरण गरे । कास्कीको क्षेत्र नम्बर २ मा पर्ने उक्त बसपार्क निर्माणको एजेन्डा उक्त क्षेत्रका उम्मेदवारले उठाउने मुख्य एजेन्डा नै हो । यही एजेन्डा बोकेका स्व. रवीन्द्र अधिकारी सांसद हुँदै मन्त्री बने । उनको दुर्घटनामा परेर निधन भएपछि अहिले सोही निर्वाचन क्षेत्रमा पुनः बसपार्क निर्माणकै एजेन्डा उठाउँदै अधिकारी पत्नी विद्या भट्टराई संघीय सांसद बनेकी छिन् । 
कांग्रेसको तर्फबाट प्रदेश सभा निर्वाचनमा बिन्दुकुमार थापाले बसपार्ककै एजेन्डामा निर्वाचन जिते । अधिकारी, थापा र भट्टराईका प्रतिस्पर्धी सबैले बसपार्कको एजेन्डा उठाएकै हुन् । 

भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत मेयर बनेका धनराज आचार्यले पनि बसपार्क निर्माणलाई प्राथमिकता दिएर पाँच दलको तर्फबाट घोषणा-पत्र जारी गरेका थिए । अब भने आफूहरूले बसपार्क निर्माण गरेर छाड्ने पोखरा ९ का नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र मर्सानीले दाबी गरे । ‘मेयरसाब र हामी सबैको कमिट्मेन्ट छ । यो बसपार्क (पोखरा बसपार्क)लाई सिटी बसपार्कको रूपमा विकास गर्छौं ।’

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसी पोखरा बसपार्कमा सवारीसाधन पार्किङ गर्ने कुनै आधार नै नरहेको दाबी गर्छन् । अझ यात्रुलाई त्यहाँभित्र लैजाँदा पोखराकै पहिचानमा दाग लाग्ने अवस्था रहेको उनको टिप्पणी छ । बसपार्कमा पैदल हिँड्ने र दुईपांग्रे सवारीमा पुग्नेहरूको हिलोले छेपिएर र लडेर बिजोग हुने गरेको स्थानीय बताउँछन् । 

२०५ रोपनी जमिन ८१ रोपनीमा खुम्चियो 
पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । फरक अस्तित्वको उपत्यका नगरविकास समिति अहिले मेयरकै नेतृत्वमा आएको छ । झन्डै ४७ वर्षअगाडि अर्थात् १८ फागुन २०३२ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार बनाइएको छैन । 

पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागी वन जानेबाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्गभित्रको २ सय ५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ । त्यति मात्र होइन, त्यहाँ झन्डै ५ सयभन्दा बढी सुकमबासी र अन्य प्रयोजनका लागि केही व्यवसायीले समेत हडपेका घरटहरा छन् । 

पोखरा उपत्यका नगरविकास समितिका तत्कालीन अध्यक्षहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बाँस्तोलका पालामा विभिन्न व्यक्ति र संस्थाको नाममा बसपार्कको जग्गा दिने निर्णय भएको थियो । 

एयरपोर्ट बनाउने वेला उत्तरपूर्वी कुनामा बसेका होटेल व्यवसायीहरूलाई बसपार्ककै जग्गामा सारिएको थियो । त्यसमध्ये पश्चिम लाइनमा ३१ वटा घडेरी ३ लाखका दरले, दक्षिण लाइनमा ११ वटा घडेरी २ लाख ६० हजारका दरले र होटेल पूर्वी लाइनमा ३४ घडेरीमध्ये ३२ वटाको १ लाख ८० हजारका दरले दिइएको पोखरा उपत्यका नगरविकास समितिमा अभिलेख छ । योसहित ९ करोड रुपैयाँ अहिले पनि बसपार्क निर्माण प्रयोजनका लागि नगरविकासको खातामा पैसा छ । 

अशोक पालिखे २२ मंसिर २०५६ देखि १३ आसोज २०६० सम्म पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष थिए । क्षेत्रबहादुर केसी १४ असोज २०६० देखि २५ असोज २०६१ सम्म अध्यक्ष थिए । विष्णुप्रसाद बाँस्तोला  २६ असोज २०६१ देखि १५ कात्तिक २०६३ सम्म, १८ माघ २०६७ देखि २६ वैशाख २०६८ सम्म र १३ वैशाख २०७० देखि १ वैशाख २०७२ सम्म गरेर ३ पटक नगरविकास समितिका अध्यक्ष बनेका थिए । 

तीन वर्षभित्र सुविधा सम्पन्न सिटी बसपार्क निर्माण गरेरै छाड्छौँ :  मेयर आचार्य 
बुधबार भद्रगोल बसपार्कमै नाला निर्माण कार्यको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् ।

पोखरा बसपार्क नाला शिलान्यास गर्दै गण्डकी प्रदेशका सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्य  । तस्बिर : सुदर्शन रञ्जित

शिलान्यास गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा बसपार्क अबको तीन वर्षभित्र निर्माण गरिसक्ने प्रतिबद्धता जनाए । उनले पोखरा बसपार्कलाई आधुनिक र सुविधा सम्पन्न सिटी बसपार्कको रूपमा विकास गर्ने दृढता व्यक्त गरे । अब ठूलो बसपार्क भने पोखरा ३३ लामेआहालमा बन्ने उनले बताए । उनले पृथ्वीचोकमा रहेको बसपार्क र बाग्लुङ बसपार्कलाई समेत सिटी बसपार्ककै रूपमा विकास गर्ने जानकारी दिएका छन् ।  

गएको १० वर्षमा पोखराको जनसंख्या बढेर दोब्बर भएको उल्लेख गर्दै उनले अहिले पाँच लाखभन्दा धेरै जनसंख्या पोखरा बस्ने गरेको र पोखरा आउजाउ गर्नेसहित गरेर २० लाखको संख्या रहेको बताए । यही अवस्थालाई मध्यनजर गरेर कम्तीमा पनि २० वर्षलाई हेरेर पूर्वाधार बनाउनुपर्ने उनको भनाइ छ । पोखरामा अब तीनवटा व्यवस्थित बसपार्क आवश्यक रहेकोमा उनले जोड दिए ।

यस्तो छ बसपार्कको क्षेत्रफल घट्ने श्रृंखला 
१) पूर्व सेतीनदी, पश्चिम ढिकैढिक भएर बैरागी वन जाने बाटो दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्गभित्रको २०५ रोपनी क्षेत्रफलको जग्गा २०३२।११।१८ मा नेपाल राजपत्रमा सूचना प्रकाशित  गरेर बसपार्क प्रयोजनका लागि अधिग्रहण गरिएको हो। त्यसलाई  ट्रायल चेक गर्दा १९६ रोपनी र पृथ्वी राजमार्गको सडक मापदण्ड कटाउँदा बाँकी रहन आएको क्षेत्रफल १८७–१०–३–१ छ । 

२) जग्गाधनीलाई मुआब्जा दिने रकम निकासा केन्द्रबाट नआएकाे कारण देखाउँदै जग्गाधनीहरू अदालत प्रवेश गरी २०५२ सालमा सर्वाेच्च अदालतबाट क्षतिपूर्ति दिनुपर्ने फैसला । 

३) मिति २०६०।२।२१ मा बसेको बैठकले जग्गाधनीहरूलाई उनीहरूको योजनामा परेको जग्गाको ११ प्रतिशत जग्गा पृथ्वी राजमार्गतर्फ मोहोडा र बसपार्क मोहोडा पारेर घडेरी दिने निर्णय भएको । जसका कारण जग्गाधनी, होटेल व्यवसायी, पन्चरत्न पेट्रोल पम्प र पृथ्वीचोकमा बाटो निर्माण गर्दा जग्गा परेका कल्याणी भारीलाई २ वटा घडेरी गरी ४० रोपनी जग्गा खर्च भएको । 

४) मिति २०६०।३।२ मा भएको  बैठकले ९५ रोपनी जग्गामा बसपार्क प्रस्ताव गरेकोमा कार्यान्वयन गर्ने तहमा आइपुग्दा पूर्व भागमा (सेती नदी तर्फ) धाँजा फाट्न गएकोले केही पश्चिम सारेर पुनः नक्सांकन गरिएको । बसपार्क ८१ रोपनीमा सीमित । 

५) ८१ रोपनी बसपार्कभित्र अव्यवस्थित बसोबासीहरू २५४ घरधुरी छन् । २०७१।१०।१४ गते भएकोे अध्ययनअनुसार बसपार्कको लागि प्रस्तावित ८१ रोपनीको भित्र र बाहिर गरी अव्यवस्थित बसोबासीहरूको संख्या ४५४ देखिएको हो । अहिले उक्त संख्या बढेर झन्डै ५ सय ५०को हाराहारीमा पुगेको अनुमान छ । 

६) पोखरा महानगरको १० फागुन २०७५मा वडा नम्बर ९का अध्यक्ष रामराज लामिछानेको संयोजकत्वमा चारसदस्यीय वस्तुस्थिति छानबिन समिति गठन । 

७) उक्त समितिले ६ वैशाख २०७६को कार्यपालिका बैठकमा १८१ पृष्ठ लामो प्रतिवेदन पेस गरेको ।