मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अलपत्र पारिएको निर्माणाधीन छुमचौर हाई–अल्टिच्युट प्रशिक्षण केन्द्र ।
२०७९ जेठ २४ मंगलबार ०६:५०:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जुम्लामा खेलकुद मैदान : योजना बन्छन्, निर्माण हुँदैनन्

Read Time : > 2 मिनेट
२०७९ जेठ २४ मंगलबार ०६:५०:००

०७४ सालको स्थानीय तह निर्वाचनपछि जुम्लाका तत्कालीन जनप्रतिनिधिहरूले ‘एक पालिका, एक रंगशाला’ निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । तर, ती जनप्रतिनिधिको पाँचवर्षे पदावधि सकिँदासम्म पनि एउटै पालिकामा खेलमैदान तथा रंगशाला बनेनन् । जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । सात गाउँपालिका मात्रै होइन, जिल्ला सदरमुकाम भएको चन्दननाथ नगरपालिकामा समेत एउटै खेलकुद मैदान छैन । कुनै खेलकुद आयोजना सञ्चालन गर्नुपरे नेपाली सेनाको परेड मैदान माग्नुपर्ने अवस्था छ ।

व्यवस्थित खेलमैदानको अभावका बाबजुद पनि जुम्लाका धावक हरिबहादुर रोकाया, विश्वरूपा बुढा, सुनमाया बुढाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका छन् । राष्ट्रिय स्तरमा कीर्तिमान कायम गर्ने यहाँ धेरै खेलाडी छन् । तर, खेलमैदान नहुँदा उनीहरू नियमित अभ्यासबाट वञ्चित छन् । उनीहरू भिरपाखामा खेलअध्यास गर्दै राष्ट्रिय, अन्तर्राष्ट्यि प्रतियोगितामा सहभागी हुँदै आएका छन् । 

वर्षको एकपटक एन्फाले जुम्लामा फुटबल प्रतियोगिता गर्ने गरेको छ । यही प्रतियोगिता गर्नसमेत मैदान अभाव हुने गरेको छ । एन्फाले यस प्रतियोगिता आयोजना गर्न खलंगास्थित नेपाली सेनाको तालिम मैदान प्रयोग गर्छ । हरेक वर्ष नेपाली सेनासँग समन्वय गरी प्रतियोगिता गर्ने गरेको एन्फाका जिल्ला अध्यक्ष भरत बुढ्थापाले बताए । उनी भन्छन्, ‘जुम्लामा खेलमैदानको अत्यन्तै आवश्यकता छ ।’

 रंगविहीन रंगशाला 
चन्दन्नाथ नगरपालिका–५ स्थित राजासिम चौरलाई खेलमैदान बनाउने गरी आर्थिक वर्ष ०७६/७७ मा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको थियो । कांग्रेसका सचिव अर्जुनसिंह कठायतले आफू वडाध्यक्ष हुँदा नगरसभाबाट गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका धावक हरिबहादुर रोकाया रंगशाला बनाउने गरी प्रस्ताव पास गरिएको बताए । उक्त रंगशाला निर्माण गर्न संघ, प्रदेश सरकारलगायत निकायसँग पटक–पटक समन्वय गरेको उनको भनाइ छ । सहरी विकास मन्त्रालयमातहतको सघन सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाले रंगशाला निर्माण गर्ने प्रतिबद्धता पनि जनाएको उनले बताए । तर, अहिलेसम्म थप पहल नहुँदा यही चौरमा प्रतियोगिताहरू हुने गरेका छन् । 

 अलपत्र छुमचौर हाई–अल्टिच्युट प्रशिक्षण केन्द्र
दुई हजार दुई सय ५० मिटर उचाइमा रहेको पातारासी गाउँपालिकाको छुमचौरमा हाई–अल्टिच्युट प्रशिक्षण मैदान निर्माण गर्न आर्थिक वर्ष ०७४/७५ मा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)तयार भएको थियो । हाई–अल्टिच्युट मैदानको डिपिआरका लागि ३२ करोड तीन लाख बजेट विनियोजन भएको थियो । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतका अनुसार उक्त बजेटले मैदान समथर बनाउने काम भएको छ । तर, थप बजेट नभएकाले आयोजना अलपत्र परेको छ । 

छुमचौरको हाई–अल्टिच्युट प्रशिक्षण केन्द्रलाई बजेट नदिएर सरकारले जुम्लामै अर्काे हाई–अल्टिच्युट ट्रेनिङ सेन्टर बनाउने गरी आर्थिक वर्ष ०७९/८० मा बजेट विनियोजन गरेको छ । अब तातोपानी गाउँपालिका–८ टोप्ला पाटनमा अर्को हाई–अल्टिच्युट ट्रेनिङ सेन्टर बनाउने गरी सरकारले बजेट विनियोजन गरेको हो । 
आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको टोप्ला पाटनलगायत स्थानमा हाई–अल्टिच्युट ट्रेनिङ सेन्टर बन्ने बताए । हाई–अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणपछि विश्वभरका खेलाडीले हाई–अल्टिच्युटमा प्रशिक्षण पाउने उनको दाबी छ । तर, छुमचौरको हाई–अल्टिच्युट ट्रेनिङ सेन्टरमा हालसम्म एक करोड १० लाख खर्च भइसकेको सामाजिक विकास कार्यालय जुम्लाको भनाइ छ । 

 बजेट अभावले प्याराफिट अधुरै 
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रयोग गर्ने गरी जुम्लामा बनिरहेको भलिबलको प्याराफिट निर्माण पनि बजेट अभावले अलपत्र छ । खेलकुद विकास समितिमातहत रहेको यो प्याराफिट निर्माण आर्थिक अभावकै कारण रोकिने अवस्थामा छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार प्याराफिट निर्माणको लागत एक करोड १४ लाख छ । प्याराफिट निर्माणमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालयले आर्थिक वर्ष ०७६÷७७ मा २५ लाख र आर्थिक वर्ष ०७७/७८ मा २५ लाख विनियोजन गरेको थियो । त्यसमध्ये ४५ लाख खर्च भएको सामाजिक विकास कार्यालयका प्राविधिक प्रेम शाहीले बताए । मन्त्रालयको बजेटमा प्याराफिटको जग निर्माणदेखि पिलर ठड्याउने काम भइसकेको छ । बजेट अभावमा थप काम रोकिएको छ । 

जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेका अनुसार अधुरा आयोजना सम्पन्न गर्न स्थानीय तह, संघ र प्रदेश सरकारसँग समन्वय गर्दा पनि बजेट विनियोजन हुन सकेन । उनले भने, ‘खेलकुदका आयोजना अधुरा हुँदाहुँदै पनि आर्थिक वर्ष ०७९/८० का लागि जुम्लामा अर्काे हाई–अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि संघीय सरकारले बजेट प्रस्तुत गरेको छ ।’ 

 छुमचौरमा के–के संरचना बन्दै छन् ?
छुमचौरको हाई–अल्टिच्युट ट्रेनिङ सेन्टरमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केटबल, एथ्लेटिक्सलगायत दुई दर्जनभन्दा बढी खेलका पूर्वाधार निर्माण गर्ने डिपिआरमा उल्लेख छ । यसैगरी हिटिङ स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षा गार्ड घर, पाहुना घर, टिकट काउन्टरलगायत संरचना निर्माण हुने डिपिआरमा उल्लेख छ ।

बजेट पाएका छैनौँ
 तुलराज चौलागाईं, प्रमुख, सामाजिक विकास कार्यालय, जुम्ला

सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाईंका अनुसार चालू आर्थिक वर्ष ०७८/७९ मा प्याराफिट निर्माण र हाई–अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि बजेट माग गरे पनि प्राप्त भएको छैन । ‘जेठ दोस्रो साता भइसक्यो । दुवै आयोजनाका लागि बजेट प्राप्त भएको छैन,’ उनले भने, ‘अब बजेट आए पनि काम गर्न सकिने अवस्था छैन ।’