मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ २० शुक्रबार १६:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बास्तोला र वलीलाई विप्लवले भने–मान्छेबाट गल्ती हुन्छ, आत्मालोचना गरेर आउनुस् (भिडियाेसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ २० शुक्रबार १६:०१:००

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् । शुक्रबार केन्द्रीय समितिको १३औँ पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुदर्शनलाई पार्टीमा फर्किन आह्वान गरेका हुन् । गल्ती स्वीकार गरेर आत्मालोचना गरी पार्टीमा फर्किन उनले आग्रह गरे । 

महासचिव विप्लवले बास्तोला र वलीले गठन गरेको पार्टीको डकुमेन्टमा कुनै नयाँ कुरा नभएको दाबी गर्दै  उत्तेजना र कुण्ठाबाट क्रान्ति नहुने बताए । उनले नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गर्न सबैले ध्यान दिनुपर्ने धारणा राखे । ‘सबै कुराहरूलाई केन्द्रित गर्दै राष्ट्रिय स्वाधीनताको आन्दोलन चलाउने । हाम्रा ६ दलका मित्रहरूसँग सहकार्य गर्ने । ठीक छ, आउनुस् सुदर्शन र कञ्चनजीलाई पनि हामीले भन्यौँ गल्तीहरू स्विकार्नुस् । मान्छेबाट गल्ती हुन्छ । तपाईंहरू गल्तीबाट आत्मआलोचना गर्नुस् । बाहिर जे–जति बबन्डर मच्चाउनुभएको छ, त्यो फेर्नुस् । सुध्रिनुस् । मैले हेरेँ, चितवनबाट उहाँहरूले डकुमेन्ट निकाल्नुभएछ । मैले दाँजेर पढेँ । उहाँ बडो क्रान्ति गर्न गएको । के छ चितवनको डकुमेन्टमा ? एउटा केही पनि फरक छैन । कार्यक्रम – समाजवादी । हामीले पास गरेकै छौँ । रणनीति – समाजवाद प्राप्त गर्ने । हामीले महाधिवेशनबाट परित गरेरै आएका छौँ । कार्यदिशा – एकीकृत जनयुद्ध । कार्यनीति हेर्‍याे – स्वाधीन संयुक्त सरकार । हामीले त भनेकै छौँ नि प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रह, वैज्ञानिक समाजवाद । खोइ कहाँ जाने हो तपाईंहरू ?’ महासचिव विप्लवले भने, ‘त्यसैले आवेगबाट, एकछिन उत्तेजनाबाट, कुण्ठाबाट, त्यसरी हुँदैन आन्दोलन ।’ नेपालमा सयवटा भन्दा बढी पार्टी भएको अवस्थामा एउटा नयाँ पार्टी थप्नु ठूलो कुरा नभएको उनको भनाइ थियो ।

महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको कुरा गरिराख्ने भन्दै प्रचण्डलाई पनि पुरानो ठाउँबाट फर्किन आग्रह गरे । उनले माओवादी जनतालाई अलमल र भुमरीमा नफसाई परिवर्तनतिर लैजाने गरी आएमा आफूहरू एकताका लागि तयार रहेको बताए । उनले ‘लहैलहै’मा लागेर पार्टी छाडेका कार्यकर्ताहरूलाई पनि पार्टीमा फर्किन अपिल गरे । ‘प्रचण्डजीलाई पनि हामीले भनेका थियौँ, उहाँ एकताको कुरा गरिराख्नुहुन्छ । तपाईं पुरानो ठाउँबाट फर्किनुस् न । माओवादी केन्द्रसँगका साथीहरूसँग साँच्चिकै छलफल हुन्छ । तपाईंहरू पुरानो ठाउँबाट फर्किनुस्,’ उनले भने, ‘नेपाली जनतालाई पछाडितिर धकेल्ने होइन । नेपाली जनतालाई अलमल र भुमरीको चक्करमा फसाउने होइन । निकासतिर, परिवर्तनतिर लैजाने गरी आउनुस् । हामी तयारै छौँ । किरणजी आउनुस् हामी तयार नै छौँ ।’

नेकपाले आगामी १–८ असोजमा काठमाडौंमा नवौँ महाधिवेशन गर्ने भएको छ । महाधिवेशनअगाडि भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेभित्र जिल्ला सम्मेलन सम्पन्न गरिने जनाइएको छ ।