Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुवास भट्ट काठमाडाैं
२०७९ जेठ १९ बिहीबार ०९:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कैदीबन्दीको मानसिक स्वास्थ्यका लागि जेलमै विपश्यना 

Read Time : > 1 मिनेट
सुवास भट्ट, काठमाडाैं
२०७९ जेठ १९ बिहीबार ०९:००:००

नख्खु कारागारपछि भीमफेदीका कैदीबन्दीलाई पहिलोपटक गराइयो विपश्यना

कैदीहरूको मानसिक स्वास्थ्यलाई केन्द्रित गरेर कारागार व्यवस्थापन विभागले जेलमै विपश्यना ध्यान शिविर सञ्चालन गरेको छ । विभागका अनुसार मकवानपुरको भीमफेदी कारागारमा कैदीबन्दीलाई विपश्यना ध्यान गराइएको हो । 

भीमफेदी कारागारका जेलर मातृका दाहालले जेलका ४२ कैदीबन्दीले अहिले विपश्यना ध्यान गरिरहेको बताए । उनका अनुसार त्यहाँका कैदीबन्दीलाई पहिलोपटक विपश्यना गराइएको हो । १३ जेठदेखि सुरु भएको विपश्यना २४ जेठसम्म चल्नेछ । ‘नेपाल विपश्यना सेन्टर’को टोलीले विपश्यना गराएको जेलर दाहालले बताए । विपश्यना केन्द्रले शिविर नै सञ्चालन गरेर कैदीबन्दीलाई ध्यान गराएको छ । 

कैदीबन्दीको मागअनुसार सुरक्षा व्यवस्था र स्थानको उपलब्धता हेरेर सम्बन्धित कारागारको सिफारिसमा विभागको स्वीकृतिमा विपश्यना शिविर चलाउन दिने निर्णय गत पुसमा गृह मन्त्रालयले गरेको थियो । सुरक्षाका लागि सम्बन्धित जिल्लाको जिल्ला प्रशासनसँग समन्वय गरेर विभागको स्वीकृतिमा कारागारले विपश्यना चलाउन सक्ने गरी गृहले निर्णय गरेको थियो । 

यसअघि गत १६–२७ फागुनमा नख्खु कारागारमा पनि विपश्यना शिविर सञ्चालन गरिएको थियो । कारागारका ३५ कैदीबन्दीले विपश्यना ध्यान गरेका थिए । २४ वर्षअघि नख्खुमा विपश्यना शिविर सञ्चालन गरिएको थियो । बोधीबज्र बज्राचार्यले सन् १९९८ मा जेलका २० जना कैदीबन्दीलाई विपश्यना गराएका थिए । त्यसको दुई वर्षपछि सन् २००० मा नख्खुकै २३ कैदीबन्दीलाई विपश्यना गराइएको थियो । त्यसपछि गत पुसमा गृह मन्त्रालयले कैदीबन्दीलाई विपश्यना गराउन अनुमति दिएपछि विपश्यना केन्द्रले शिविर सञ्चालन गरेको हो । 

विभागका निर्देशक झंकनाथ ढकाल जेलभित्र विभिन्न शारीरिक र मानसिक समस्याबाट गुज्रिरहेका कैदीबन्दीलाई विपश्यना ध्यान प्रभावकारी हुने बताउँछन् । ‘जेलमा कैदीबन्दीहरू जटिल खालको शारीरिक, मानसिक स्थितिबाट गुज्रिएका हुन्छन्, त्यसलाई विपश्यनाले कम गर्छ,’ उनले भने, ‘ध्यानले कैदीबन्दीलाई मानसिक रूपमा शान्त र जेलबाट छुटेपछि सही बाटोमा लाग्ने प्रेरणा मिल्छ ।’ 

गत फागुनमा नख्खु कारागारमा गराइएको विपश्यनाको नतिजा राम्रो देखिएपछि भीमफेदीमा पनि शिविर सञ्चालनको अनुमति दिइएको विभागका निर्देशक ढकालले बताए । ‘नख्खुको विपश्यना शिविरमा सहभागी कैदीबन्दीले ध्यानपछि धेरै शान्तिको महसुस गरेको प्रतिक्रिया दिए, हामीले हेर्दा पनि उनीहरूमा रूपान्तरणको अनुभूति गरेको भेट्यौँ,’ उनले भने, ‘यसपछि कैदीबन्दीको माग, स्थानको उपलब्धता इत्यादि हेरेर भीमफेदीमा पनि अनुमति दिएका हौँ ।’ 

यसलाई अभियानकै रूपमा अगाडि बढाउनु उपयुक्त हुने निर्देशक ढकाल बताउँछन् । ‘कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने नीति सरकारको पनि हो,’ उनले भने, ‘सकारात्मक सुरुवात भएको छ, उपयुक्त देखिए अन्य कारागारमा विपश्यना ध्यान शिविर सञ्चालनको अनुमति दिन सकिन्छ ।’

के हो विपश्यना ? 
२५ सय वर्षअघि गौतम बुद्धले विपश्यना ध्यान विधिको पुनर्खोज गरेको बताइन्छ । त्यसयता गुरु–शिष्य परम्पराअनुसार नटुटीकन यथारूपमा हस्तान्तरण हुँदै आएको छ । विपश्यनाको अर्थ कुनै चिजवस्तुलाई जस्ताको तस्तै हेर्नु भन्ने हुन्छ । यसमा तोकिएका विधिहरू पालना गरेर शारीरिक र मानसिक आवेग, आरोह–अवरोह र तिनको अन्तर्सम्बन्धलाई जस्ताको तस्तै हेरिन्छ । 

यो ध्यानको वैज्ञानिक र उत्कृष्ट विधिका रूपमा परिचित छ । तोकिएका मापदण्ड र अनुशासनका विधि पालना गरेर १० दिने आवासीय शिविरमा विपश्यना ध्यान सञ्चालन गरिन्छ । नेपालमा विपश्यना केन्द्रले नियमित रूपमा इच्छुकहरूका लागि ध्यान गराउँदै आएको छ । देशभर विभिन्न १५ वटा विपश्यना ध्यान केन्द्र छन् । 

नेपालमा अन्यका लागि सहज भए पनि जेलका कैदीबन्दीका लागि विपश्यना त्यति अभ्यासरत छैन । भारतमा भने सन् १९९५ मै कैदीबन्दीका लागि विपश्यना शिविर सञ्चालनको अनुमति दिइएको थियो । अहिले इजरायल, मंगोलिया, न्युजिल्यान्ड, थाइल्यान्ड, बेलायत, अमेरिका, क्यानडा, बर्मालगायतका देशले कैदीबन्दीका लागि विपश्यना शिविर सञ्चालन गर्दै आएका छन् ।