मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १८ बुधबार ०७:२२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी टी–२० महिला वरीयतामा पाँच नेपाली

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १८ बुधबार ०७:२२:००

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मंगलबार महिलातर्फको टी–२० ब्याटिङ र बलिङतर्फको वरीयता सार्वजनिक गरेको छ । ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय महिला टोलीकी अलराउन्डर सीता रानामगर ५२औँ स्थानमा रहेकी छिन् । उनले तीन सय ९८ वरीयता अंक पाएकी छिन् । सीताले २५ अन्तर्राष्ट्रिय टी–२० खेल खेलेकी छिन् । 

उनले ब्याटिङ गर्ने क्रममा एक अर्धशतकसहित चार सय ८५ रन बनाएकी छिन् । बलिङमा उनले २५ खेलबाट २४ विकेट लिएकी छिन् । गत साता टियू मैदानमा भएको युगान्डा महिला टोलीविरुद्ध सीताले ब्याटिङ र बलिङमा गतिलो प्रदर्शन गरेकी थिइन् । उनले प्रतियोगितामा दुई विकेट र चार खेलबाट ४६ रन बनाइन् । 
यसैगरी, नेपाली टोलीकी ओपनर ज्योति पाण्डे ८०औँ स्थानमा रहेकी छिन् । उनले दुई सय ८१ वरीयता अंक बटुलेकी छिन् ।

नेपाली टोलीकी विकेटकिपर ब्याट्सम्यान ज्योतिले नौ अन्तर्राष्ट्रिय टी–२० खेलमा एक सय ४९ रन बनाएकी छिन् । यसैगरी, आइसिसी टी–२० ब्याटिङ वरीयतामा इन्दु बर्मा ९९औँ स्थानमा छिन् । उनले दुई सय ३३ वरीयता अंक पाइन् । दायाँ हाते ब्याट्सम्यान इन्दुले नेपाली टोलीबाट २५ अन्तर्राष्ट्रिय टी–२० खेलबाट दुई सय ९१ रन बनाएकी छिन् ।

इन्दुले एकपटक अर्धशतकीय इनिङ्स खेलेकी छिन् । बलिङ गर्ने क्रममा उनले २५ खेलमा पाँच विकेट लिएकी छिन् । यसैगरी, आइसिसीको बलिङ वरीयतामा कविता कुँवर ६१औँ स्थानमा छिन् । कविता एकैपटक ६१औँ स्थान वरीयता पाएको हो । उनले चार सय नौ अंक पाएकी छिन् ।बायाँ हाते मध्यगतिकी बलर कविताले २४ अन्तर्राष्ट्रिय टी–२० खेलमा २२ विकेट हात पारेकी छिन् । अन्तर्राष्ट्रिय टी–२० बलिङमा उनको उत्कृष्ट प्रदर्शन नै ६ रन खर्चेर दुई विकेट लिनु हो । कविताले ब्याटिङ क्रममा ७३ रन बनाएकी छिन् । 

नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान रुविना क्षेत्री पहिलोपटक टी–२० बलिङ वरीयतामा समावेश हुँदा ७१औँ स्थानमा छिन् । उनले तीन सय ९१ वरीयता अंक बटुलेकी छिन् । दायाँहाते ब्याट्सम्यान तथा दायाँ हातबाटै मध्यम गति बलिङ गर्न रुचाउने रुविनाले बलिङ क्रममा २७ अन्तर्राष्ट्रिय टी–२० खेलबाट २३ विकेट हात पारेकी छिन् । ब्याटिङमा उनले २३ इनिङ्सबाट दुई सय ७२ रन बनाएकी छिन् ।  युगान्डाविरुद्धको टी–२० सिरिजमा रुविनाले बलिङमा चार विकेट हात पारेकी थिइन् । ब्याटिङको क्रममा उनले पाँच खेलबाट ४९ रन बनाइन् । 

खेल तालिका सार्वजनिक
आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल तालिका सार्वजनिक भएको छ । नेपालले स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । यो सिरिज आगामी जुलाईमा हुनेछ । आइसिसीले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध खेल्नेछ । 

नेपाल र नामिबियाबीचको खेल ११ जुलाईमा हुनेछ । यसैगरी, दोस्रो खेलमा नेपालले १३ जुलाईमा आयोजक स्कटल्यान्डको सामना गर्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध १६ जुलाईमा प्रतिस्पर्धा गर्नेछ । १७ जुलाईमा नेपाल र स्कटल्यान्डबीच खेल हुनेछ । आइसिसी विश्वकप लिग २ को अंक तालिकामा नेपाल छैटौँ स्थानमा छ । नेपालले १२ खेलबाट १२ अंक जोडेको छ । नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ । 

नेपाल १६औँ स्थानमा
आइसिसी महिला टी–२० राष्ट्रको वरीयतामा नेपाल १६औँ स्थानमा रहेको छ । नेपालको स्थान परिवर्तन भएको छैन । नेपालले एक सय २६ वरीयता अंक पाएको छ । नेपालभन्दा एक स्थानमाथि युएई छ । १७औँ स्थानमा सामोआ राष्ट्र रहेको छ । महिलातर्फको वरीयतामा अस्ट्रेलिया दुई सय ८५ अंकका साथ शीर्ष स्थानमा छ । इंग्ल्यान्ड दोस्रो तथा न्युजिल्यान्ड तेस्रो स्थानमा छ । महिला टी–२० राष्ट्रको वरीयताको पुछारमा नर्वे रहेको छ । नेपालविरुद्ध पाँच शृंखला टी–२० खेलेको युगान्डा १९औँ स्थानमा छ । युगान्डाले एक सय चार वरीयता अंक जोडेको छ ।