मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १८ बुधबार ०७:१०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रोकिएन सेयर बजारको घट्दोक्रम १७ महिनाकै न्यून बिन्दुमा नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १८ बुधबार ०७:१०:००

सेयर बजारको घट्दोक्रमले निरन्तरता पाएको छ । मंगलबार नेप्से परिसूचक ३५ दशमलव ५३ अंकले घटेर दुई हजार एक सय ३७ दशमलव ९२ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबारमापक सेन्सेटिभ इन्डेक्स सात दशमलव ११ अंकले घटेर चार सय १४ दशमलव ६३ बिन्दुमा आइपुगेको छ ।०७७ पुस १६ गते नेप्से परिसूचक सोही बिन्दुनजिक रहेको थियो । १७ महिनाकै न्यून बिन्दुमा आइपुगेपछि लगानीकर्ता आत्तिन पुगेका छन् । बजेटपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता निराश बन्दा मनोवैज्ञानिक दबाब देखिएको छ भने प्यानिक बनेका लगानीकर्ता सस्तो मूल्यमा सेयर बेचेर बाहिरिन थालेका छन् ।

बजेटले लगानीकर्ताले उठाइरहेको मागलाई सम्बोधन गर्न नसकेको लगानीकर्ता तथा पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । उनले भनिन्, ‘पुँजी बजारलाई समेट्ने गरी कुनै नीतिगत निर्णय हुन नसक्दा लगानीकर्ता निराश बन्न पुगेका छन्, त्यसको असर पनि बजारमा देखिएको हो ।’ गत शुक्रबार आएको मौद्रिक नीतिले पनि लगानीकर्ताको मागलाई सम्बोधन गर्न नसकेको लगानीकर्ताको भनाइ छ । बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ता प्यानिक सेल गर्न बाध्य भएपछि कारोबार रकम भने एक अर्ब रुपैयाँ नाघेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ कम्पनीको ३७ लाख ६९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ । एनआइसी एसिया बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र नागरिक लगानी कोषको सेयर तीन करोडदेखि पाँच करोड ३७ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।  

कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फन्ड समूहको सूचक सामान्यले बढेको छ भने अन्य समूहको सूचक घटेको छ । निर्जीवन बिमा समूहको सूचक दुई दशमलव ५६ प्रतिशतले घटेको छ भने वाणिज्य बैंक समूहको सूचक एक दशमलव ९१ प्रतिशतले घटेको छ । अन्य धेरै समूहको सूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ । 

यस दिन १५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ७५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । एनएलजी इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स कम्पनी, प्रभु इन्स्योरेन्स, मैलुङ खोला जलविद्युत् कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीको ५ प्रतिशतदेखि ६ दशमलव ५० प्रतिशतले घटेको छ । घटेको बजारमा पनि उपकार लघुवित्त वित्तीय संस्था, एनएमबि–५०, सामलिङ पावर कम्पनी, एनआइसी एसिया ग्रोथ फन्ड ३ प्रतिशतदेखि आठ दशमलव २३ प्रतिशतले बढेको छ ।