Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
राजेश विद्रोही
२०७९ जेठ १८ बुधबार ०६:५५:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

किन जित्छन् स्वतन्त्र उम्मेदवार ?

दल र तिनका नेतृत्वबाट निराशासिवाय केही हात नलागेपछि मतदाताले बालेनहरूलाई नजिताएर कसलाई जिताऊन् त ?

Read Time : > 4 मिनेट
राजेश विद्रोही
२०७९ जेठ १८ बुधबार ०६:५५:००

यतिवेला केही स्वतन्त्र उम्मेदवारहरूको जितको चर्चा सबैतिर चुलिएको छ । खासगरी काठमाडौँका बालेन शाह र धरानका हर्क राई चर्चाको शिखरमा छन् । सबैतिर स्वतन्त्र उम्मेदवारकै जित भएजस्तो गरी समाजिक सञ्जालमा तरंग फैलिएको छ, त्यो सत्य होइन । आकर्षणको केन्द्र भने अवश्य हो । तर, यो परिणाम लामो राजनीतिक यात्रामा रहेका दलहरूका लागि भने चुनौती र प्रतिष्ठाको विषय पक्कै हो । स्वतन्त्र उम्मेदवारहरूको जितले राजनीतिक दलको मुटुमा ढ्यांग्रो ठोकेको छ । जुन ठाउँलाई दलहरूले आफ्नो राजधानीका रूपमा लिन्छन्, त्यहाँ बालेनहरूले जितेका छन् । ७५३ स्थानीय तहमा ३१ पालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यमा ३८५ ठाउँमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । 

हरेक निर्वाचनमा दलहरूलाई आफ्नो साख जोगाउन किन धौधौ परिरहेको हुन्छ ? वैकल्पिक नारा बोकेका दलहरूसमेत पुरानै दलमा एउटा अर्को दल थपेजस्तो मात्र किन साबित हुँदै गएका छन् ? आखिर राजनीतिमा किन हुँदै छ यस्तो ? यसरी थोरै समयमा अरूको अखडा भत्काएर किन जित्छन् स्वतन्त्र उमेदवारहरू ? दलहरूप्रतिको राजनीतिक वितृष्णा किन बढ्दै गएको छ ? हरेक निर्वाचनमा यस्तो परिणाम किन आउँछ ? यसप्रति दलहरू किन सचेत छैनन् ? यसको कारक तत्‍व के हो ? थोरै चर्चा गरौँ, यहाँ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको राजनीति हुने राजधानीको मुटु र राजनीतिक दलहरूको हेडक्वाटर रहेको काठमाडौँमा बालेन शाह, जनकपुरमा मनोज साह, धरानमा हर्कराज राई, धनगढीमा गोपाल हमाल, बर्दिवासमा प्रह्लाद क्षेत्री र तारादेवीलगायतले ‘बम’ पड्काइदिए, त्यो पनि ठूलो मतान्तरले । लामो संघर्ष र बलिदानले स्थापित राजनीतिक दलहरूका लागि यो चानचुने चुनौती होइन । पुरानो संस्कार बोकेको गाउँघरमा यस्तो भइदिएको भए सर्वसाधारण नागरिक पासोमा झुन्डिएर मर्थे । हुन त राजनीतिमा यसलाई अपवाद भन्ने गरिन्छ । विचारविहीन जमातको बिल्ला भिराइन्छ । यस्तै–उस्तै टालटुल पार्ने र निरुत्साहित गर्ने तर्कहरू सुनिन्छन् । तर, टाउँकैमा हम्मर बजाउने गरी भएको निर्वाचन परिणामलाई कसरी तर्कले मात्र पन्छाउन सकिन्छ ? यो कस्तो खालको चुनावी लहड हो ? विराटनगरमा उम्मेदवार नै नभएको लौरो चुनाव चिह्नमा २७ हजारभन्दा बढी मत खसेको सुनियो । यो कसको कमजोरी हो ? सरकार, राजनीतिक दल वा मतदाताको ? यसले के संकेत गर्छ भने नयाँ पुस्ता दलहरूबाट निकै असन्तुष्ट छ । आजित छ । दलहरूमाथि विश्वासै छैन । उनीहरू परिवर्तन चाहन्छन् । यो भनेको वैकल्पिक राजनीतिको खोज हो । त्यसैले बालेन शाहलाई र्‍यापर भनेर चिनेका वा नचिनेका युवाले पनि आफ्नो घरपरिवारको राजनीतिक आस्थालाई तोडेर मतदान गर्न दबाब दिए । 

धेरै ठाउँमा अनाहकमा मत बदर भयो । गठबन्धनको प्रभावस्वरूप सहरी क्षेत्रमा भन्दा गाउँ देहातमा बढी मत बदर भयो । आफ्नो मतलाई सही सदुपयोग गर्न दलहरूले मतदातालाई प्रशिक्षित नसकेको देखिएको छ । सरकारले करोडौँ खर्चेर पनि मतदातालाई प्रशिक्षित गर्न सकेन । किन पटक–पटकको चुनावमा बढीभन्दा बढी मत बदर हुने गर्छ । यसको एउटै कारण हो, राजनीतिक दलहरूले चुनावी संस्कार बिगारेका छन् । पैसाको चलखेलमा मतदाताको मनोविज्ञान बिगारिएको छ । 

राजनीतिक दललाई दिनानुदिन यो व्यवस्था पेचिलो बन्दै गएको छ । त्यसैले निर्वाचनमा दलहरूले आफ्नो जित हात पार्न गठबन्धनको नाटक गर्नुपरेको छ । चुनाव जित्न एउटा गलत दल र व्यक्तिविरुद्ध अर्को गलत दल र व्यक्ति खोजेर मैदानमा उत्रिनुपरेको छ । यसले गर्दा असल नेता र कार्यकर्ता किनारीकृत हुँदै गएका छन् । उनीहरूलाई चुनाव जित्ने आस छैन । सबै फेरि बालेन शाह बन्न सक्दैनन् । बालेनहरू गाउँमा जन्मिन निकै समय लाग्ने देखिन्छ । गाउँ र सहरको मतदातामा ठूलो अन्तर छ । तर, राज्यले कर असुल्न हरेक गाउँलाई पालिकामा गाभिदिएको छ । सर्वसाधारणले आफूले तिरेको करअनुसारको सुविधा पाएका छैनन् । राजनीतिमा लामो त्याग, तपस्या, योगदान र बलिदान हुने र देश तथा समाज परिवर्तनमा योगदान दिन सक्ने क्षमतावान् व्यक्तिहरू अवसरबाट वञ्चितीकरणमा परिरहेका छन् । यस्तो चुनावी प्रतिस्पर्धाले मुलुकको समग्र विकास र समृद्धि अर्थात् समाजवादको सपना कसरी पूरा गर्न सकिन्छ ?

अहिलेसम्मको चुनावी इतिहास हेर्ने हो भने हरेक निर्वाचनमा बालेनहरू जन्मेका छन् । फरक यति हो, कतै उनीहरू दलहरूबाट पराजित हुन्छन्, कतै दलहरू उनीहरूबाट पराजित हुन्छन् । यसपटकको निर्वाचनबाट थुप्रै स्थानीय तहमा बालेनहरू जन्मेका छन् । तर, उनीहरू काठमाडौँका बालेनभन्दा फरक छन् । केही अपवाद छन् । हुन त उनीहरू बालेन नै हुन् । यसमा कोही कमजोर बालेन छन् भने कोही मजबुत । कोही दलभित्रकै बालेन छन् भने कोही दलबाहिरका । जनताले यसको मूल्यांकन गरे । कोही बालेनहरू अत्यधिक मत पाएर निर्वाचित भए । कोहीलाई अर्कोपटकका लागि बिदा गरिदिए । तर, गम्भीर विषय यो छ कि अपवाद भए पनि हरेक चुनावमा किन यसरी बालेनहरू जन्मिन्छन् ? कसले जन्माउँछन् बालेनहरूलाई ? राजनीतिक दलले कि जनताले ? दलप्रति जनताको विश्वास किन घट्दै गएको छ ? यसको समीक्षा दलहरूले किन गर्दैनन् ? आफ्ना योजनाहरू समयानुकूल किन फेर्दैनन् ? दलीय उन्मादमा किन हराइरहेका छन् ? पुरानै राजनीतिक प्रवृत्तिलाई दलहरू किन निरन्तरता दिन चाहन्छन् ?

स्वतन्त्र उम्मेदवारहरूको जित दलहरूका लागि ‘वेकअप कल’ हो । यसको संकेत बुझेर वेलैमा दलहरू सच्चिएनन् भने निकट भविष्यमै उनीहरूको औचित्यमाथि थप प्रश्न उठ्नेछ । र, उनीहरूविरुद्ध थप बालेनहरू जन्मिनेछन् ।

स्थानीय तहको मतगणना सम्पन्न हुँदा एकीकृत समाजवादीको ५२, माओवादीको २६, एमालेको १०, कांग्रेसको दुई जिल्लामा शून्यताको अवस्था छ भने ४० वर्षमुनिका ४२ प्रतिशत युवा स्थानीय तहमा निर्वाचित भएका छन् । चुनावमा पुरानो अनुहारले हार्नु र नयाँले जित्नु भनेको वैकल्पिक राजनीतिको खोजी त पक्कै हो । तर, राजनीतिक दलको जेजस्तो संगठन देशभर फैलिएको हुन्छ, त्यो संगठन स्वतन्त्र उमेदवारको हुँदैन । तैपनि, किन जित्छन् उनीहरू ? आखिर मत उनै राजनीतिक दलको संगठनको हुन्छ । जुन मतले स्वतन्त्र उम्मेदवार जित्ने गर्छन् । जसको राजनीतिमा कुनै योगदान हुँदैन, त्यस्ता मान्छेहरू जित्छन् । मतदातालाई कसले चिडाएको हुन्छ । र, एक्कासि यसरी जनमत फेरिन्छ । अहिले पनि निर्वाचित जनप्रतिनिधिको उन्माद फेरिएको छैन । अरूभन्दा फरक हुन सकिरहेका छैनन् । जनतालाई एउटा विकृतिविरुद्ध अर्को विकृतिको बीजारोपण गरेको महसुुस हुन थालेको छ । अहिल्यैदेखि विजयोत्सव मनाउन सार्वजनिक बिदा, सय केजी फूलको माला, मतदातालाई दुःख दिने कामको सुरुवात भइसकेको छ ।

पाँचदलीय गठबन्धनको सरकार त बन्यो । एउटा प्रवृत्तिविरुद्ध लड्न गठबन्धन अगाडि बढ्यो । तर, जनताले तिमी सबै राजनीतिक दल उस्तै हौ भनेर देखाइदिए । गठबन्धनले देश, जनता र आफ्ना नेता कार्यकर्ता र संगठनका लागि जुन इमानदारी देखाउनुपथ्र्यो, त्यो देखाएन । जनताले यसलाई नजिकबाट हेरिरहेका थिए । दलका शीर्ष नेताहरूले दरबारिया शैलीमा गठबन्धनलाई आफ्ना छोराछोरी, श्रीमती र आसेपासेलाई कुर्सीमा पुर्‍याउन तालमेल गरेको देखियो । बाँकी तल्लो संगठनलाई आत्मनिर्भरताका नाममा अभिभावकविहीनजस्तो बनाइयो । जुन आक्रोशका कारण दलभित्रै स्वतन्त्र उम्मेदवारी दिने, हिजोसम्म अरूको पार्टीका नेता–कार्यकर्तालाई हुलका हुल पार्टी प्रवेश गराउने त्यो दिन आफ्नै पार्टीका नेता–कार्यकर्ता र संगठन रातारात अरूको पार्टीमा समाहित हुने, टिकटको दाबेदार हुने, गठबन्धनबाहिरको दलसँग चुनावी तालमेल गरी गठबन्धनको औचित्य नै समाप्त पार्ने जस्ता गतिविधि भए । यसले गठबन्धनको औचित्य समाप्त पार्‍यो ।

एकाधबाहेक ठाउँमा जनताले नेताका सबै आसेपासे उम्मेदवारलाई रुचाएनन् । उनीहरू पराजित भए । कतै शक्तिको बलमा जिते पनि । तर, समग्रमा त्यो हार नै हो । गठबन्धनले एमाले अर्थात् केपी ओली सकाउन खोजे पनि ओली झनै बलिया बने । चुनावमा हारजित स्वाभाविक हो । तर, ओली कति मजबुत रहेछन् भन्ने यथार्थ चुनावी परिणामले प्रमाणित गरिदियो । जनताले एउटा ओलीलाई सकाउन सयौँ ओलीहरू लागेको बुझेका छन् । गठबन्धनले यसलाई आत्मबोध गर्नैपर्छ ।
चुनावी हार–जितमा जात, पैसा र व्यक्तित्व विशेषको ठूलो भूमिका हुन्छ । हरेक तारतम्य मिल्नुपर्छ । तर, कतै विनाखर्च वा कम खर्चमा बालेन शाह र हर्क राईहरूले पनि चुनाव जित्छन् । सबैथोक पैसा र जात नै होइन । जनताले राम्रो गर्नेलाई अवसर दिएकै छन् । जनता रिझे जे पनि हुने रहेछ भन्ने प्रमाण हो, बालेन र हर्कहरूको जनमत ।

मतदातामा पनि फरक–फरक खालको मनोविज्ञान छ । जसले वेलावेलामा राजनीतिक दललाई फरक तरिकाबाट सबक सिकाइरहेका हुन्छन् । तर, राजनीतिक दल भने आफ्नै तरिकाले हिँडिरहेका हुन्छन् । यसले जनता र दलबीचको सम्बन्धलाई अथ्र्याइरहेको हुन्छ । तर, दलका शीर्ष नेताहरू भने आफ्नो नातागोता र आसेपासेलाई संरक्षण गर्न जनतालाई राजनीतिक प्रतिस्पर्धाका नाममा बेबकुफ बनाइरहेको कुरा अब बुझ्न थालेका छन् । यसपटकको निर्वाचन परिणामले जनता निकै सजग भइसकेको देखिन्छ । कसलाई जिताउने र कसलाई हराउने, कसलाई संरक्षण गर्ने र कसलाई सबक सिकाउने भने संकेत जनताले आफ्नो मतमार्फत दिइसकेका छन् । जनताले परिवर्तन खोजिरहेका हुन्छन् । तर, नेताले पुरानै चरित्र लादिरहेका हुन्छन्, त्यो पनि बुझ्न थालेका छन् । यो लोकतन्त्रको ठूलो उपलब्धि हो ।

स्वतन्त्र उम्मेदवारहरूको जित, दलहरूका लागि ‘वेकअप कल’ हो । यसको संकेत बुझेर वेलैमा दलहरू सच्चिएनन् भने निकट भविष्यमै उनीहरूको औचित्यमाथि थप प्रश्न उठ्नेछ । र, उनीहरूविरुद्ध थप बालेनहरू जन्मिनेछन् । यिनले राजनीतिक दलहरूलाई किनारमा धकेलिदिनेछन् । दल र दलका शीर्ष नेताहरूमा मौलाउँदै गएको नश्लीय र वंशीय अहं तोडिदिनेछन् । दल र तिनका नेतृत्वबाट निराशासिवाय केही हात नलागेपछि मतदाताले बालेनहरूलाई नजिताएर कसलाई जिताऊन् त ? त्यसैले लोकतन्त्रमा राजनीतिको सही मानक स्थापित गर्न दल र तिनका नेतृत्वले आफ्ना नेता–कार्यकर्ताको संरक्षण र जनताको मनोविज्ञानलाई वेलैमा सम्बोधन गर्न र एकअर्काको राजनीतिक अस्तित्व स्विकार्न जरुरी छ ।