मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १७ मंगलबार ०६:४८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजेटले सेयर बजारमा ल्याउन सकेन सुधार, एक वर्षअघिको बिन्दुनजिक

सबै समूहको सूचक घट्यो, कारोबार रकम एक अर्बमाथि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १७ मंगलबार ०६:४८:००

सोमबार नेप्से परिसूचक ५० दशमलव ३३ अंकले घटेर दुई हजार एक सय ७३ दशमलव ४४ बिन्दुमा आइपुगेको छ । आगामी आव ०७९/८० को बजेटले बजार सकारात्मक हुने अपेक्षाविपरीत घटेपछि लगानीकर्ता निराश बनेका छन् । बजेटले सेयर लगानीकर्ताको मागलाई खासै समेट्न नसकेका कारण बजार घट्न पुगेको लगानीकर्ताको भनाइ छ । बजेटपछि बजार बढ्ने मुख्य अपेक्षा थियो, तर सोचेजस्तो बजेट नआउँदा बजार थप घट्न पुगेको लगानीकर्ता नयन बाँस्तोलाले बताए । ‘बजेटमार्फत हामीले उठाउँदै आएको माग सम्बोधन हुन्छ भन्ने थियो, तर भएन । त्यसैले बजेट लगानीकर्ताका लागि उत्साहजनक  भएन,’ बाँस्तोलाले भने ।

लगानीकर्ताका केही नीतिगत निर्णय बजेटमार्फत सम्बोधन हुने अपेक्षा गरिएको थियो, तर त्यस्तो नभएपछि पुँजी बजारलाई निराश बनाएको एक ब्रोकरले बताए ।
बजेटसम्म ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ताले अहिले बिक्री बढाएका छन् । बजार एक वर्षकै नजिक बिन्दुमा पुगेपछि लगानीकर्ता मनोवैज्ञानिक रूपमा शिथिल बन्न पुगेका हुन् । 

पहिलो दिन कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । ट्रेडिङ समूहको सूचक तीन दशमलव २२ प्रतिशतले घटेको छ । जीवन बिमा समूह, जलविद्युत् समूह, निर्जीवन बिमा समूह, अन्य समूह, फाइनान्स समूह र वाणिज्य बैंक समूहको सूचक २ प्रतिशतभन्दा बढीले घटेको छ । होटेल तथा पर्यटन समूह र होटेल तथा पर्यटन समूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २७ कम्पनीको ३४ लाख ५६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ३३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल दूरसञ्चार कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी लिमिटेड, एनआइसी एसिया बैंक र नबिल बैंक लिमिटेडको सेयर तीन करोडदेखि चार करोड ९६ लाख रुपैयाँसम्मको सेयर कारोबार भएको छ । यस दिन एक सय ८७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने पाँचवटा कम्पनीको सेयर मूल्य बढेको छ ।

घटेको बजारमा बलेफी हाइड्रोपावर कम्पनीको सेयरमा १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, एसबिआई बैंक ऋणपत्र–२०८६ र सानिमा लार्ज क्याप फन्डको सेयर २ प्रतिशतदेखि आठ दशमलव २३ प्रतिशतले बढेको छ । त्यस्तै, इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, मल्टिप्रपोज माइक्रो फाइनान्स कम्पनी र युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनीको ६ प्रतिशतदेखि सात दशमलव ३६ प्रतिशतले घटेको छ ।