१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १६ सोमबार ०७:१९:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

कैलालीको गेटामा मेडिकल कलेज सञ्चालन गरिने, प्रधानमन्त्रीको गृहजिल्लामा नयाँ बनाइने

Read Time : > 2 मिनेट
२०७९ जेठ १६ सोमबार ०७:१९:००

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापना हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने उल्लेख छ । 

बजेटमा प्रदेश सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन मेडिकल कलेज सञ्चालन तथा नयाँ मेडिकल कलेज स्थापना गर्ने उल्लेख छ । डडेल्धुरामा मेडिकल कलेज सञ्चालन भए सुदूरपश्चिमका सात पहाडी जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचार सुविधामा ठूलो राहत हुनेछ । डडेल्धुरामा विमानस्थल निर्माणको योजना पनि बजेटमा समावेश गरिएको छ । 

सरकारले सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गेटामा रहेको प्रस्तावित मेडिकल कलेज पनि सञ्चालन गर्ने भएको छ । गेटामा भौतिक संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रस्तावित गेटा मेडिकल कलेजलाई पनि सुदूरपश्चिम विश्वविद्यालयमातहत रहने गरी सेती र महाकाली प्रादेशिक अस्पतालसँगको समन्वयमा सञ्चालनमा ल्याइने विषयलाई बजेटले सम्बोधन गरेको छ । गेटामा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढी र अत्तरियामा स्थानीय केही दिनदेखि आन्दोलनरत छन् ।

बजेटमा सुदूरपश्चिम प्रदेशमा ट्रमा सेन्टर स्थापना, जडीबुटी प्रशोधन केन्द्र तथा अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला स्थापना गर्ने योजना पनि परेको छ । बजेटले सुदूरपश्चिममा यसअघिका योजनाहरूलाई पनि प्राथमिकता दिएको छ भने नयाँ योजना पनि सार्वजनिक गरेको छ । कैलालीको अत्तरियामा जडीबुटी प्रशोधन केन्द्र स्थापना, धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम स्थापना र लम्कीमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारले घोषणा गरेको छ । धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नति गर्न तथा दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्नका लागि आगामी वर्ष सम्भाव्यता अध्ययनलाई पनि बजेटले सम्बोधन गरेको छ । यहाँका नागरिकले विमानस्थल स्तरोन्नतिको माग गर्दै आएका थिए ।

आगामी आर्थिक वर्षमा कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको निर्माण र कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र निर्माणको काम अगाडि बढाउने सरकारले घोषणा गरेको छ । बैतडी र बझाङमा फस्फोरस खानीबाट रासायनिक मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने, डडेल्धुरा र टीकापुर विमानस्थलको स्तरोन्नति गरिने विषयलाई पनि बजेटले सम्बोधन गरेको छ । 

वर्षौंदेखि चर्चामै सीमित रहेको बहुचर्चित पश्चिम सेती जलविद्युत् आयोजनालाई पनि बजेटले सम्बोधन गरेको छ । ‘सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माणलाई अगाडि बढाइनेछ,’ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भने । केही वर्षदेखि हरेक वर्षको बजेटमा समावेश भए पनि पश्चिम सेतीको निर्माण कार्य भने अगाडि बढ्न सकेको छैन । त्यस्तै, चैनपुर सेती जलविद्युत् आयोजनालाई कार्यान्वयनमा लैजाने सरकारले घोषणा गरेको छ । पश्चिम सेती, सुक्खा बन्दरगाह, विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र स्थापनाका योजना हरेक वर्षको बजेटमा समावेश गर्ने गरिए पनि तिनको कार्यान्वयन हुन सकेको छैन ।

रानीजमरा–कुलरिया सिँचाइलाई दुई अर्ब ९० करोड
कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्ष दुई अर्ब ९० करोड विनियोजन गरेको छ । १५ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्न नयाँ बनेको नहरबाट पानी छोड्ने र विद्युत् गृह सञ्चालनमा ल्याउने कार्य आगामी आर्थिक वर्षमा गर्ने लक्ष्य लिइएको छ । त्यस्तै, कञ्चनपुरमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि एक अर्ब ५२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्रिदेशीय नाका जोड्ने टीकापुर–चैनपुर–ताक्लाकोट सडकका लागि पनि बजेट विनियोजन गरिएको छ । कञ्चनपुरमा महाकाली नदीमा निर्माणाधीन चार लेनको पुलका लागि ४१ करोड रुपैयाँ छुट्याइएको छ । यो पुल निर्माणले भारतसँगको पारवहनलाई सहज गर्नेछ । सुदूरपश्चिममा रहेका सात देवीका मन्दिर डिलासैनी, लिङ्लासैनी, मेलौली, शैलेश्वरी, उग्रतारा र त्रिपुरा सुन्दरीलाई पर्यटकीय स्थलका रूपमा प्रवद्र्धन गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।

कैलालीमा सशस्त्र प्रहरीको विपद् उद्धार तालिम प्रशिक्षण केन्द्र स्थापना गर्ने सरकारको घोषणा छ । धनगढी मोहना पुल–अत्तरिया ६ लेन सडकलाई आगामी आर्थिक वर्षभित्रै पूरा गरिने जनाइएको छ । ६ लेन कालोपत्रे भइसके पनि फुटपाथ निर्माणलगायतका काम तेस्रोपटक म्याद थपिएको अवधिमा पनि पूरा भएका छैनन् । सहरी विकास कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका बेलौरी, दोधाराचाँदनी र पञ्चेश्वरमा पूर्वाधार विकासको योजनालाई बजेटले सम्बोधन गरेको छ ।