१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १५ आइतबार १०:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुईतिहाइ उद्योग बागमती प्रदेशमा, सबैभन्दा कम कर्णालीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १५ आइतबार १०:१७:००

चालू आर्थिक वर्ष ०७८/७९ को फागुनसम्म दर्ता भएका उद्योगहरूमध्ये बागमती प्रदेशमा मात्रै करिब दुईतिहाइ उद्योग रहेका छन् । सो अवधिमा  सबैभन्दा कम उद्योग कर्णाली प्रदेशमा दर्ता भएको अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्मा पेस गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यस अवधिमा बागमती प्रदेशमा पाँच हजार ६ सय १४ र कर्णाली प्रदेशमा ७९ उद्योग दर्ता भएका छन् । 

फागुनसम्म उद्योगमा भएको लगानीका आधारमा सबैभन्दा बढी लगानी पनि बागमती प्रदेशमा रहेको र सबैभन्दा कम सुदूरपश्चिमा रहेको छ । बागमती प्रदेशका उद्योगमा नौ खर्ब १२ अर्ब रुपैयाँ लगानी हुँदा सुदूरपश्चिम प्रदेशमा ४७ अर्ब लगानी भएको छ । यस्तै, प्रदेश १ मा पाँच खर्ब ५५ अर्ब, मधेस प्रदेशमा एक खर्ब ४१ अर्ब, गण्डकी प्रदेशमा पाँच खर्ब ४८ अर्ब, लुम्बिनीमा एक खर्ब ७१ अर्ब र कर्णाली प्रदेशमा एक खर्ब ३५ अर्ब रुपैयाँ लगानी भएको छ ।

८२ प्रतिशत विदेशी लगानी बागमतीमा
चालू आवको फागुनसम्म विदेशी लगानी स्वीकृति पाएका उद्योगमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ८२ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ०.९ प्रतिशत रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । लघु, घरेलु तथा साना उद्योग सबैभन्दा बढी बागमती प्रदेशमा ३२ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५ प्रतिशत दर्ता भएका छन् । 

प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा बढी ७१.१ प्रतिशत र सबैभन्दा कम कर्णालीमा १.२ प्रतिशत कम्पनी दर्ता भएका छन् । घोषणा भएका एक पाँच औद्योगिक ग्राममध्ये फागुनसम्म प्रदेश १ मा ११, मधेसमा ९, बागमतीमा १६, गण्डकीमा २८, लुम्बिनीमा २०, कर्णालीमा ६ र सुदूरपश्चिम प्रदेशमा १५ रहेको उल्लेख छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ८० औद्योगिक ग्रामको सम्भाव्यता अध्ययनको पूर्वतयारी सम्पन्न भएको बताइएको छ ।