Skip This
Skip This

व्यावसायिक घरानाका कान्छो पुस्ता

२०७५ चैत २ शनिबार ०७:०३:००

वैद्य, गोल्छा, गोल्यान, काबरा, जैन नेपालमा वर्षौँदेखि स्थापित व्यावसायिक घराना हुन् । यी घरानाका पछिल्ला पुस्ता पनि व्यवसायमै रमाउँदै छन् । उच्च शिक्षा लिन विदेश पुगेकासमेत अध्ययन सकाएर स्वदेशमै केही गर्ने जोस र आत्मविश्वासका साथ फर्किएका छन् । अनि विदेशमा सिकेको सैद्धान्तिक र व्यावहारिक ज्ञान स्वदेशमा सदुपयोग गर्दै छन् । सभाना वैद्यदेखि अक्षय गोल्यान र आरजु बस्नेतसम्म व्यावसायिक घरानामा जन्मिएर व्यवसायमै समर्पित भएका केही उदाहरण हुन् । ठूला व्यावसायिक घरानाका पढेलेखेका २० तन्नेरीबारे नवीन अर्यालको रिपोर्ट :


सभाना वैद्य
-वैद्य अर्गनाइजेसन

वैद्य अर्गनाइजेसन टोयोटा गाडी, चिया, कृषिलगायत व्यापारमा छ । सुरज वैद्य सिमेन्ट उद्योग खोल्न कस्सिएर लागेका छन् । तर, छोरी सभानालाई परिवारले गरिरहेकोभन्दा फरक व्यवसायमा जोखिम मोल्ने रहर छ । झन्डै एक दशक अमेरिकामा बस्दा पाँच वर्षजति होटेल र रियल स्टेट कम्पनीमा काम गरिन् । त्यसैले हस्पिटालिटीमै छुट्टै पहिचान बनाउने उनको योजना छ । पहिलो होटेल पोखराको वेगनासमा निर्माण गर्ने योजना छ । अहिले विभिन्न देश पुगेर होटेल र रिसोर्टबारे अध्ययन गरिरहेकी छिन् । ‘मैले बनाउने होटेल स्पेसल हुनुपर्छ, पुरानै ढर्राका होटेल खोल्दिनँ,’ सभाना भन्छिन्, ‘युनिक होटेल खोलेर नेपालको हस्पिटालिटी बिजनेसमै नयाँपन दिने सोच छ ।’ हाल उनी आमा रितुले खोलेको स्पा प्राणाको व्यवस्थापन हेर्छिन् ।

आरजु र आस्था बस्नेत
-बुद्ध एयर प्रालि

वीरेन्द्रबहादुर बस्नेतको अवकाशपछि बुद्ध एयरको व्यवस्थापन आरजु र आस्थाको काँधमा आउने निश्चित छ । अहिले यी दिदीबहिनी व्यवसायमा एक हदसम्म सिकाइकै क्रममा छन् । सानैदेखिको सोखका कारण आरजु बुटिकतिर केन्द्रित छिन् । त्यसो त आस्था पनि सुरुमा बुटिकमै थिइन् । तर, दिदीलाई बुटिक सुम्पिएर उनी बुबालाई साथ दिँदै २०१७ जनवरीदेखि विमान कम्पनीमै लागिन् । बुद्ध एयरको बनारस उडानमा आस्थाको भूमिका अग्रणी छ । उनले बनारस पुगेर बजार अध्ययन गरिन्, मार्केटिङ गरिन् । ‘अहिले बुद्धको बनारस उडान राम्रो भइरहेको छ,’ उनी सुनाउँछिन्, ‘बुद्धले छिट्टै कोलकाता उडान भर्दै छ ।’ उनी यसकै तयारीमा छिन् । पोखरा विमानस्थल बनेपछि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी पनि छ । अन्तर्राष्ट्रिय उडानको जिम्मेवारी सम्हाल्न सक्ने गरी आस्थाले आफूलाई दक्ष बनाउँदै छिन् । आस्थाकै अगुवाइमा बुद्धको अनलाइन प्रणालीमा व्यापक सुधार भइरहेको छ । बुद्ध एयरको अफिस वल्र्डक्लास बनाउने अठोट छ । उनको टिमले अनलाइन प्रणालीमा काम गरिरहेको छ । 

अभिमन्यु गोल्छा
-गोल्छा अर्गनाइजेसन

अभिमन्यु गोल्छालाई अमेरिकामा मेकानिकल इन्जिनियर बनेर नेपाल फर्किने सोच थिएन । सानैदेखि गाडीका सौखन उनलाई अमेरिकामै चल्तीको अटोमोटिभ कम्पनीमा जागिर खाने रहर थियो । तर, नेपालमा परिवारले झन्डै तीन दर्जन कम्पनी चलाएर २० हजारलाई रोजगारी दिइरहेको थियो । यो अवस्थामा बुबा शेखर गोल्छाको चाहना छोरो नेपाल फर्कियोस् र व्यवसाय सम्हालोस् भन्ने थियो । शेखरले छोरालाई स्वदेश फर्किन सम्झाई–बुझाई गरे । अन्ततः अभिमन्यु सहमत भए । देश फर्किएर पारिवारिक व्यवसाय सम्हालेको एक वर्ष भइसकेको छ । बजाज थ्री ह्विलर्सको व्यवसाय उनै हेर्छन् । आफ्नै अगुवाइमा युरोग्रिप टायर आयात गरी बिक्री सुरु गरेका छन् । ‘जुन क्षेत्रमा रुचि थियो, त्यसैको व्यापारमा संलग्न छु,’ उनी भन्छन् । दुई वर्षजति भारतमा सामसुङ र बजाज कम्पनीमा काम गरेर व्यावसायिक अनुभव बटुले । गोल्छा परिवारमा अन्तर्राष्ट्रियस्तरको कर्पोरेट कल्चर संस्थागत गर्ने उनको अठोट छ । शेखरको बजाजको बाइक र रिक्सा, केटिएम बाइक, सामसुङ, हिम इलेक्ट्रोनिक्स, भ्याक्सिन उद्योग छ । अभिमन्युले इ–कमर्स र पर्यटनमा पनि अवसर देखिरहेका छन् ।

अनुज्ञा गोल्छा
गोल्छा अर्गनाइजेसन 

सुरेन्द्र गोल्छाकी छोरी अनुज्ञाले एक वर्षदेखि परिवारको हुलास वेलनेस कम्पनीको व्यवस्थापन हेर्दै छिन् । यो कम्पनीले स्टिलजन्य वस्तु, घरायसी विद्युतीय उपकरण र खाद्यान्न उत्पादन गर्छ । तर, अनुज्ञाको रुचि भने एनिमेसनमा छ । भारतको पुनेबाट साइकोलोजीमा ब्याचलर सकेर मुम्बईबाट थ्रिडी मोडलिङ कोर्स गरेकी उनी भविष्यमा राम्रो एनिमेसन कम्पनी सञ्चालन गर्ने सोचमा छिन् । ‘आफ्नै कार्टुन मुभी, कार्टुन विज्ञापन र कार्टुनका चेतनामूलक कार्यक्रम बनाउनेछु, यो मेरो भविष्यको योजना हो,’ उनले सुनाइन् । एक वर्ष मुम्बईमा यही काम गरेका कारण उनी आफ्नो क्षमतामा ढुक्क छिन् । 

एकता र कोमल गोल्छा
गोल्छा अर्गनाइजेसन

रामलाल गोल्छाका नाति राजकुमारका दुई छोरी एकता र कोमल व्यवसायमा छिरिसकेका छन् । एकताले आइटी कम्पनी चलाइरहेकी छिन् । उनले साढे दुई वर्षअघि खोलेको डेल्टा टेक कम्पनीले सफ्टवेयर उत्पादन गर्छ । बहिनी कोमलले भने बुबाको बिजनेस सम्हालिरहेकी छिन् । ‘जुटको बिजनेस बुबा आफैँ हेर्नुहुन्छ,’ एकताले भनिन्, ‘म डेल्टा टेक कम्पनीमै बिजी छु, कोमलले बुबाको बिजनेसमा सघाउँछिन् ।’ राजकुमार जुट मिल, कृषि, प्लास्टिक झोला उत्पादन, टेक्नोलोजी र ट्रेडिङमा संलग्न छन् । एकता बुबाको व्यवसायमा मिटिङमा मात्र सहभागी हुन्छिन् । आफ्नो कम्पनीले उत्पादन गर्ने सफ्टवेयर छिट्टै विदेश पठाउने उनले बताइन् । एकताले अक्सफोर्ड युनिभर्सिटी युकेबाट म्याथमेटिक्समा मास्टर्स र कोमलले भारतमा बिजनेस मार्केटिङ पढेकी हुन् । 

यशु श्रेष्ठ
-मनकामना केबलकार 

गोरखाको मनकामना मन्दिरमा केबलकार सञ्चालन गरेर नेपाली पर्यटनमा नयाँ आयाम थपेका दिवंगत लक्ष्मणबाबु श्रेष्ठको विरासत नातिनी यशु श्रेष्ठले सम्हाल्न थालेकी छिन् । उनले मनकामना दर्शन प्रालिको सेल्स एन्ड मार्केटिङ विभाग सम्हालेको दुई वर्षभन्दा बढी भयो । बुबा राजेशबाबु श्रेष्ठले केबलकारको सेल्स र मार्केटिङको सम्पूर्ण जिम्मेवारी छोरी यशुलाई सुम्पिसकेका छन् । चितवन कोईले सञ्चालन गरेको मनकामना केबलकार मुलुकको पहिलो केबलकार हो । यो कम्पनीले पाथीभरामा पनि केबलकार सञ्चालन गर्दै छ । चितवन कोई ‘क’ वर्गको कन्स्ट्रक्सन कम्पनी हो । कम्पनीले बिल्डिङ, जलविद्युत्का ड्याम, सिँचाइ, खानेपानी प्रोजेक्ट, सडकलगायत पूर्वाधारका काम गर्दै आएको छ ।

अक्षय गोल्यान
-गोल्यान ग्रुप 

अक्षय गोल्यान धागो उत्पादन गर्ने रिलायन्स स्पिनिङ मिलको व्यवस्थापनमा सक्रिय भएर लागेको एक वर्षजति भयो । स्पेनबाट एमबिए गरेर फर्किएपछि व्यवसायमा छिरेका अक्षय धागो उद्योगमा नयाँ प्रविधि भिœयाउने योजनामा छन् । यसका लागि इन्डोनेसियाको धागो उद्योग हेर्न गएका छन् । इन्डोनेसिया धागो उत्पादनमा निकै अगाडि छ । यसअघि उनले बंगलादेशमा धागो र टेक्सटाइल उद्योग भिजिट गरेका थिए । एमएस र गोल्यान ग्रुपको संयुक्त लगानी रहेको विराटनगरको धागो उद्योगको क्षमता अक्षयकै सक्रियतामा ५५ प्रतिशत बढाउन लागिएको छ । बुबा पवन गोल्यानका अनुसार अक्षयकै अगुवाइमा गोल्यान ग्रुपले २०–२० मेगावाटका दुईवटा सोलार प्रोजेक्ट सञ्चालनमा ल्याउँदै छ । उनी वेस्टार प्रोपर्टीको बिक्री विभागमा छन् । गोल्यान समूहको धागो, प्लास्टिक, स्वेटर, स्टिल उद्योग, वित्तीय क्षेत्र, हस्पिटालिटी, जलविद्युत् र कृषिमा लगानी छ ।

श्रुती मुरारका
-मुरारका अर्गनाइजेसन 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाकी छोरी श्रुतीले आफ्नै बुबाको व्यवसाय पछ्याउने रुचि गरिनन् । लन्डनबाट ग्राफिक डिजाइनमा मास्टर्स गरेर फर्किएकी श्रुतीले आर्टमै करिअर बनाउने सोचेकी छिन् । ‘श्रुती मुरारका डिजाइनिङ’ स्टुडियोलाई उचाइमा लगेर मुरारका अर्गनाइजेसनको भगिनी कम्पनी बनाउने उनको सोच छ । श्रुतीले आफ्नो क्षेत्रमा राम्रो गरिरहेको बुबा पशुपति बताउँछन् । ‘केही क्लाइन्ट विदेशका छन्, केही नेपालकै छन्,’ उनले भने, ‘प्यासनले लागेकी हुनाले ग्राफिक्स डिजाइनमा पक्कै राम्रो गर्छिन् ।’ उनले केही समय प्रिज्मा एडभरटाइजिङ कम्पनीमा काम गरेर ग्राफिक्स डिजाइनमा अनुभव बटुलेकी छिन् । आफ्नै व्यवसाय जमाएपछि बुबाको व्यवसाय सम्हाल्दै जाने उनको योजना छ । पशुपति मुरारकाको सिमेन्ट, पेन्ट्स, स्टिल, जलविद्युत्, बैंक तथा बिमा कम्पनीमा लगानी छ । 

पुल्कित जैन
-हिलटेक ग्रुप

कमल जैनले सुरु गरेको हिलटेक कम्पनीको व्यवस्थापनमा छोरा पुल्कित जैनले सघाउन थालेका छन् । अमेरिका र लन्डनबाट बिजनेस म्यानेजमेन्ट पढेर फर्किएका पुल्कित व्यवसायमा छिरेको १५ महिना भयो । उनले हिलटेक कम्पनीको ट्यांक डिभिजन, प्लास्टिक पाइप डिभिजन, साँगाको रिसोर्टको व्यवस्थापन हेर्छन् । ‘बाहिर पढेर सिकेको कुरा बिजनेसमा लगाउँछु,’ पुल्कितले भने, ‘नयाँ–नयाँ प्रविधि विकास गरी उत्पादन गर्नुका साथै हाम्रो ग्रुपमा अन्तर्राष्ट्रियस्तरको कर्पोरेट कल्चरको विकासमा लाग्नेछु ।’ बुबाले खोलेको रिसोर्टमा विदेशी बहुर्राष्ट्रिय ब्रान्ड भित्र्याउन पनि होमवर्क गरिरहेका छन् । साँगाको महादेवको मूर्तिमा लाइट एन्ड साउन्ड पनि उनैले राखे । परम्परागत रूपमा चलिरहेका बिजनेसलाई आधुनिक ढर्रामा चलाउन उनी प्रयासरत छन् । उनले होटेल म्यानेजमेन्ट कलेज सञ्चालनको तयारी गरेका छन् । 

वेदा श्रेष्ठ
-अग्नि ग्रुप

अस्ट्रेलियाबाट ह्युमन रिसोर्स म्यानेजमेन्टमा ग्र्याजुयट सर्टिफिकेट बोकेर फर्किएकी वेदा श्रेष्ठ व्यवसायमा बुबाकै व्यवसायमा छिरेकी छिन् । अग्नि ग्रुपको ह्यमुन रिसोर्स विभागमा काम गर्छिन् । विदेशमा पढ्दा र काम गर्दा सिकेको अनुभव कम्पनीमा लगाउने उनको अठोट छ । अग्निको ह्युमन रिसोर्स विभागलाई पनि वर्ल्ड क्लास बनाउने लक्ष्य छ । पढाइ सकेर वेदाले तीन महिना अस्ट्रेलियामा ह्युमन रिसोर्स विभागमा काम गरिन् । अर्को तीन महिना भारत पुगेर महिन्द्रा एन्ड महिन्द्रा कम्पनीमा काम गरिन् । जापान गएर तीन हप्ताको ह्युमन रिसोर्स म्यानेजमेन्टको तालिम लिइन् । बुबा क्याबिनेट श्रेष्ठका अनुसार छोरीले बाहिर सिकेको अनुभव कम्पनीमा कार्यान्वयन गर्दै छिन् । 

सिद्धार्थ काबरा
-काबरा ग्रुप 

श्याम काबराका छोरा सिद्धार्थ बिजनेसमा लागेको झन्डै तीन वर्ष पुग्न थाल्यो । लन्डनमा पढेर फर्किएलगत्तै परिवारको व्यवसायमा छिरेका सिद्धार्थले बिजनेस विविधीकरणमा जोड दिइरहेका छन् । उनकै अगुवाइमा ६ महिनाअघि ज्याकपट र रोमियो चाउचाउ बजारमा आयो । बिस्कुट, चाउचाउ, चकलेट र अन्य स्न्याक्सको समग्र व्यवस्थापनको पाटो पनि उनैले हेर्छन् । ‘मैले बाहिर पढेको तथा देखेको बिजनेस र नेपालमा अंगालिएको बिजनेसको शैली नितान्त फरक छ,’ उनी भन्छन्, ‘विदेशमा सिकेको अनुभव अलिअलि लगाउन सकेँ भने पनि धेरै फरक पर्छ ।’ 

उमंग अग्रवाल
-एमएस समूह 

एमंग अग्रवाल लन्डनबाट म्यानेजमेन्टको डिग्री लिएर स्वदेश फर्किए, तर पारिवारिक व्यवसायमा लागेनन् । एक वर्षदेखि आफैँ ट्रेडिङ व्यवसाय सुरु गरेका छन् । उनको मिलेनिया ग्लोबल कम्पनी नेपालका लागि १६ वटा विदेशी वस्तुको एक मात्र आधिकारिक वितरक हो । यो एमएस समूहकै लागि नयाँ बिजनेस हो । धागो, चिनी, बैंक तथा वित्तीय संस्था, हस्पिटालिटीमा लगानी गरेको एमएस समूहको पोर्टफोलियोमा उमंगले ट्रेडिङ बिजनेस थपेका हुन् । अमेरिका, जर्मनी, भारत, जापानलगायत मुलुकबाट सामान आयात गर्छन् । ‘हाम्रो ग्रुपले उत्पादनमूलक र सेवा क्षेत्रमा लगानी गरिरहेको छ, मैले ट्रेडिङ बिजनेस सुरु गरेँ,’ उनले भने, ‘नेपालमा राम्रो बिक्री हुन थालेपछि उनीहरूसँग साझेदारी गरेर नेपालमै उद्योग चलाउने योजना छ ।’

प्रतीक र प्रत्यूष राउत
-शिवम् अर्गनाइजेसन 

उद्यमी राजेन्द्र राउतका दुई छोरा प्रतीक र प्रत्यूष परिवारको व्यवसायमा जमिसकेका छन् । प्रतीकले शिवम् फुटवेयर र राउत कन्स्ट्रक्सन सर्भिसेजको व्यवस्थापन हेर्छन् । भाइ प्रत्यूषले अन्नपूर्ण सिमेन्टको व्यवस्थापन सम्हालिरहेका छन् । शिवम् अर्गनाइजेसनको स्वस्तिक रोलिङ मिलले ७–८ महिनाभित्र टिएमटी छड बजारमा ल्याउँदै छ । यो जिम्मेवारी पनि प्रत्यूषले लिएका छन् । साझेदारीमा सञ्चालित शिवम् फुटवेयरको उत्पादन सन् २०१८ को अन्तिमतिर बजारमा आएको हो । यो उद्योग सञ्चालनका लागि अगुवाइ प्रतीकले गरेका हुन् । शिवम् अर्गनाइजेसनले अन्नपूर्ण सिमेन्ट, हेभी इक्वेपमेन्टका डिलरसिप, शिवम् मल्टिप्रपोजलगायत कम्पनी सञ्चालन गरिरहेको छ । शिवम् मल्टिप्रपोजले मारुती सिमेन्टको चुनढुंगा उत्खनन गरी सप्लाई गर्छ । दुई भाइ नै बेंग्लोरबाट एमबिए सिध्याएर नेपाल फर्किनेबित्तिकै व्यवसायमा लागेका हुन् । 

अमृताञ्जली शाक्य
-केजिएच ग्रुप

वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यकी नातिनी अमृताञ्जलीले परिवारले चलाइरहेको होटेलमा काम सुरु गरेकी छिन् । स्विट्जरल्यान्डमा होटेल म्यानेजमेन्ट पढेकी उनले स्विट्जरल्यान्ड, पेरिस र मुम्बईमा ६–६ महिना होटेलमै काम गरिन् । तीन वर्षदेखि बूढानीलकण्ठको पार्क भिलेज रिसोर्ट र लुम्बिनीको बुद्धमाया गार्डेनको कार्यकारी निर्देशकका रूपमा व्यवस्थापन हेरिरहेकी छिन् । अरूको होटेलमा काम गर्दा तल्लो तहदेखि काम सिक्न पाएको अमृताञ्जलीको अनुभव छ । एकैपटक माथिल्लो तहमा रहेर काम गर्न कठिन हुने उनको बुझाइ छ । ‘छोरीले होटेलको समग्र व्यवस्थापन हेर्छिन्, मलाई धेरै हल्का महसुस भएको छ,’ बुबा सुनील शाक्य भन्छन्, ‘उनले व्यवस्थापन सम्हालेपछि सिस्टममा धेरै चेञ्ज ल्याइसकिन् ।’ 

प्रेम र ईश्वरी खड्का
-टेन्सबर्ग 

तेजेन्द्र खड्काले एक्लै चलाइरहेको मदिरा व्यवसायमा सघाउन छोराछोरी आइपुगेका छन् । अमेरिकामा बिबिए पढेर फर्किनेबित्तिकै छोरा प्रेम टाइगर ब्रुअरी छिरे । ८–९ महिनादेखि प्रेमले ब्रुअरीको मार्केटिङ पाटो हेरिरहेका छन् । छोरी ईश्वरीले झन्डै तीन वर्षदेखि बुबाकै व्यवसायमा सघाइरहेकी छिन् । ईश्वरीले उद्योग, ह्युमन रिसोर्स, फाइनान्स, ब्रान्डिङ, प्रशासनलगायत क्षेत्र हेरिरहेकी छिन् । ‘ब्याचलर सिध्याउनेबित्तिकै म व्यवसायमा लागिहालेँ,’ ईश्वरी भन्छिन्, ‘मैले कम्पनी सम्हालेपछि उद्योगको सिस्टम सुधारमा जोड दिइरहेकी छु ।’ परम्परागत शैलीमा चलिरहेको उद्योगलाई कर्पोरेट सिस्टममा चलाउन प्रेम र ईश्वरी खटिइरहेका छन् ।
 
सौगात थापा, पोखरा 

सौगात थापा बिजनेसमा लागेको १६ वर्षको उमेरदेखि हो, अहिले २१ वर्षका भए । बुबा बिन्दुकुमार थापाको व्यवसायमा उनले पोखरामै बिबिए अध्ययन गर्दा नै सघाएका थिए । बिन्दुकुमार पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन् । ‘सुरुमा कमर्सियल र सस्ता गाडीको व्यापार गथ्र्यौँ,’ उनी सुनाउँछन्, ‘अहिले प्रिमियम पजो गाडीको डिलर लिएका छौँ ।’ थापा परिवार पर्यटन व्यवसायमा आक्रामक ढंगले लाग्दै छ । हालसालै पोखरामै चलिरहेको बगैंचा वेलनेस रिसोर्ट किनेको छ । १२ कोठाको होटेललाई ४० कोठाको बनाउने र चारतारे लिने योजना रहेको सौगात बताउँछन् । कास्कीको ढिकुरपोखरीमा पाँचतारे होटेल चलाउन जग्गा खरिद गरिसकेका छन् । सौगातले अपार्टमेन्टमा पनि लगानी गर्ने तयारी गरिरहेका छन् । पोखरा ट्रेड मलमा पनि उनीहरूको एकतिहाइ लगानी छ । ‘पोखरा आन्तरिक पर्यटकको हब बनेको छ, अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि विदेशी पर्यटक पनि पक्का बढ्नेछन्,’ सौगात सुनाउँछन्, ‘मैले पर्यटनमा ठूलो सम्भावना देखेको छु ।’