मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १४ शनिबार १७:०१:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

सगरमाथाबारेको पुस्तक ‘पन्ध्रौँ चुली’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १४ शनिबार १७:०१:००

लेखक तथा सर्वेक्षक खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौँ चुली’ लोकार्पण गरिएको छ। १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्याका अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा सरकारका मुख्यसचिव शंकरदास वैरागी, कीर्तिमानी आरोहीहरू कामी रिता शेर्पा र मिङ्मा शेर्पाले पुस्तक लोकार्पण गरेका हुन्।

कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, लेखक अमर न्यौपाने र पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले पुस्तक एवं सगरमाथाका सम्बन्धमा चर्चा गरे । सीमाविद् श्रेष्ठले पुस्तक लेख्नु गाह्रो काम भए पनि गौतमले त्यसलाई सजिलोसँग पार लगाएको बताए ।

पर्यटन विभागका महानिर्देशक अधिकारीले पृथ्वीको स्नायुशास्त्र (न्युरोलोजी अफ अर्थ)का रूपमा गौतमको ‘पन्ध्रौँ चुली’ आएको धारणा राखे । नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (नाथम), पर्वतीय प्रशिक्षण प्रतिष्ठानलगायत पर्यटनसम्बन्धी औपचारिक पढाइ हुने शिक्षण संस्थाका लागि यो बलियो सन्दर्भ–सामग्री रहेको उनको दाबी छ।

लेखक गौतमले दुईपटक सगरमाथाको चुली चुमेका छन्। नेपालमा पर्यटन प्रवर्द्धन गर्न २०६८ सालमा पहिलोपटक शिखर यात्रा गरेका उनी दोस्रोपटक सरकारको कार्यक्रमअन्तर्गत २०७६ सालमा उचाइ मापनका लागि सर्वेक्षण गर्न गएका थिए।नापनक्सा र सर्वेक्षणको क्षेत्रमा योगदानका लागि सन् २०२१ को ‘जियोस्पासियल वर्ल्ड’को संसारका ५० उदाउँदा ताराहरूको सूचीमा परेका गौतमको पहिलो कृति हो, ‘पन्ध्रौँ चुली’।