१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७५ चैत २ शनिबार ०६:२०:००
Read Time : > 1 मिनेट
विश्व

फेसबुक लाइभ गर्दै  मस्जिदमा आतंककारी हमला हुँदा ४९ जनाको मृत्यु

Read Time : > 1 मिनेट
२०७५ चैत २ शनिबार ०६:२०:००


क्राइस्टचर्च सहरका दुई मस्जिदमा प्रार्थनाका लागि भेला भएकाहरूमाथि श्वेत अतिवादीद्वारा अन्धाधुन्ध गोली प्रहार 

न्युजिल्यान्डको क्राइस्टचर्च सहरका दुई मस्जिदमा शुक्रबार दिउँसो आतंककारी हमला हुँदा ४९ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार झन्डै १ बजेर ४० मिनेटमा डिन्स एभिन्युस्थित अल–नूर मस्जिदमा प्रार्थना गर्न गएकामाथि गोली प्रहार भएको थियो । त्यसको आधा घन्टापछि अलविन्स आर्डीको लिनवुड मस्जिदमा पनि आक्रमण भयो । घाइते ५० मध्ये २७ को अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रधानमन्त्री ज्यासिन्दा आर्डेनले यसलाई इतिहासकै कालो दिनको संज्ञा दिएकी छिन् । गोली प्रहार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले अन्यत्र पनि लुकाइराखिएको बम तथा विस्फोटक पदार्थ डिफ्युज गरेको छ । 

फेसबुक लाइभ गर्दै अन्धाधुन्ध गोली प्रहार
अल–नूर मस्जिदमा प्रार्थनाका लागि करिब ३ सय मानिस भेला भएका वेला आक्रमण भएको थियो । त्यसमध्ये ४१ जनाले ज्यान गुमाएका छन् । गोली चलाउने व्यक्तिले फेसबुकमा हमलाको प्रत्यक्ष प्रसारण गरेका थिए । सो भिडियोमा उनले मस्जिदभित्रका महिला, पुरुष र बालबालिकामाथि गोली बर्साएको देखिएको थियो । प्रहरीले उक्त भिडियो नहेर्न आमनागरिकलाई आग्रह गरेको छ । फेसबुकले उक्त भिडियो हटाइने जनाएको छ । आक्रमणकारीले आफूलाई अस्ट्रेलियन नागरिक ब्रेन्टन टारान्ट भएको जनाएका छन् । आक्रमणअघि नै टारान्टले मुस्लिम तथा आप्रवासीविरुद्ध लक्षित ७४ पृष्ठको दस्तावेज उग्रदक्षिणपन्थी च्याट रुममा पोस्ट गरेका थिए । 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले टारान्ट आफ्नो देशका नागरिक भएको र अतिवादी दक्षिणपन्थी समूहसँग सम्बन्धित व्यक्ति भएको पुष्टि गरे । यद्यपि न्युजिल्यान्ड प्रहरीले पक्राउ व्यक्तिबारे विवरण सार्वजनिक गरेको छैन । उनलाई शनिबार अदालतमा पेस गरिने जनाइएको छ । आक्रमणको बेला बंगलादेशी क्रिकेट टोली पनि त्यही मस्जिद पुगेको थियो । टोलीका सबै सकुशल रहेको जनाइएको छ । 

आधा घण्टापछि  अल नुरभन्दा ६ किलोमिटर टाढाको लिनवुड मस्जिदमा भएको आक्रमणमा ७ जनाले ज्यान गुमाए । सानो मस्जिदमा त्यसबेला करिब ७० जना भेला भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

यो दोस्रो विश्वयुद्धपछि न्युजिल्यान्डमा भएको सबैभन्दा ठूलो हत्याकाण्ड हो । सन् १९४३ मा जापानी सैनिकहरूलाई बन्दी बनाएर राखिएको फेदरस्टोन क्याम्पमा न्युजिल्यान्डका सैनिकले गोली बर्साउँदा ४८ बन्दी र एक सुरक्षागार्डको मृत्यु भएको थियो । 

आक्रमणपछि क्राइस्टचर्च र सिंगै न्युजिल्यान्ड स्तब्ध बनेको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । सबै विद्यालयहरू बन्द गरिएका छन् । घाइतेहरूको उपचार भइरहेको क्राइस्टचर्च अस्पतालले तत्कालका लागि नियमित सेवा बन्द गरेको छ । प्रहरीले मस्जिदहरू तत्कालका लागि बन्द गर्न आग्रह गरेको छ । 

हमलाको विश्वका नेताहरूले निन्दा गरेका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, जर्मन चान्सलर एन्जेला मर्केललगायतले समवेदना दिएका छन् । 

मुस्लिमबहुल राष्ट्रका नेताहरूले पश्चिमा विश्वमा बढ्दै गएको ‘इस्लामोफोबिया’ प्रति चिन्ता व्यक्त गरेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलगायतले आक्रमणको भत्र्सना गरेका छन् ।