१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १४ शनिबार ०६:२४:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर हट्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १४ शनिबार ०६:२४:००

मन्त्रिपरिषद्ले अर्थलाई दियो सैद्धान्तिक सहमति 

पेट्रोलियम पदार्थको मूल्य बढाएपछि चौतर्फी आलोचना खेपेको सरकारले पेट्रोल र डिजेलमा लगाउँदै आएको करमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएर मूल्य समायोजनको तयारी गरेको छ । पेट्रोल र डिजेलमा १०–१० रुपैयाँ कर घटाएर उपभोक्तालाई राहत दिन मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको हो ।

अर्थले भन्सार महसुल र पूर्वाधार करमा पाँच–पाँच रुपैयाँ घटाएर मूल्य समायोजनको तयारी गरेको छ । हाल सरकारले पेट्रोलमा प्रतिलिटर भन्सार शुल्क २५.२३ रुपैयाँ र पूर्वाधार शुल्क १० रुपैयाँ तथा डिजेलमा भन्सार शुल्क १२.०२ रुपैयाँ र पूर्वाधार शुल्क १० रुपैयाँ भन्सार बिन्दुमै उठाउँदै आइरहेको छ । अन्य थप शीर्षकमा समेत गरी सरकारले पेट्रोलमा कुल ६३.१३ रुपैयाँ र डिजेलमा ४५.९१ रुपैयाँ कर उठाउँदै आएको छ । पछिल्लोपटक अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर एक सय ८० र डिजेलको एक सय ६३ रुपैयाँ मूल्य कायम गरेको छ । 

‘भन्सार महसुलमा र पूर्वाधार शुल्कमा पाँच–पाँच रुपैयाँका दरले कर घटाएर पेट्रोल र डिजेलको मूल्य समायोजन गर्ने तयारी भइरहेको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएपछि छलफल चलिरहेको छ ।’ 

शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पनि पेट्रोल र डिजेलमा कर घटाएर मूल्य समायोजन गर्न लागेको जानकारी गराएका छन् । कर घटाएपछि इनधनको नयाँ मूल्य कायम हुनेछ । छिमेकी मुलुक भारतमा पनि महँगीको मारमा परेका नागरिकलाई राहत दिन केही दिनअघि मात्रै इन्धन कर घटाइएको थियो ।

आयल निगमले इन्धन कर घटाउँदा खाना पकाउने एलपी ग्यासको मूल्य भने घट्दैन । पछिल्लोपटक एकैचोटि प्रतिसिलिन्डर दुई सयले बढाएर एलपी ग्यासको मूल्य १८ सय पुर्‍याइएको छ ।