१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०७९ जेठ १४ शनिबार ०५:५९:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज

‘सबै मतदातालाई आफ्ना ठान्नू, पहिला सडकका समस्या सुधार्नू’

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ जेठ १४ शनिबार ०५:५९:००

नवनिर्वाचित मेयर बालेनले भने–काठमाडौंमा विकासको नयाँ मोडेल ल्याउँछु हिजोसम्म म स्वतन्त्र थिएँ । आजदेखि तपाईंहरूको सार्वजनिक सम्पत्ति भइसकेको छु । महानगरवासीको यति धेरै माया पाएँ कि मरिदिऊँ जस्तो लाग्छ । यति माया धान्न गाह्रो भएको छ । विश्वास गर्नुस्, यो माया, साथ र समर्थनलाई ऊर्जा बनाएर अब आउने पाँच वर्ष मेयर चलाउनेछु । विकासको नयाँ मोडेल ल्याउनेछु । 

देशका पुराना र ठूला दल कांग्रेस (गठबन्धन) तथा एमाले उम्मेदवारलाई भारी मतान्तरले पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका छन् । देशकै संघीय राजधानी रहेको सबैभन्दा ठूलो महानगर स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित मेयरले कसरी हाँक्लान्– सर्वत्र चासोको विषय छ । 

राजनीतिक विश्लेषक र पूर्वाधारविद्ले बालेनका लागि केही सुझाव दिएका छन् । ‘काठमाडौं महानगर तीन लाख मतदाता भएको ठाउँ हो । पाँच दलको गठबन्धन भयो । एमाले आफैँमा ठूलो पार्टी हो । तर, यी ठूला दलको जस्तो प्रचारप्रसार पनि नगरी स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन वैकल्पिक पात्रका रूपमा उदाए । यो परिणामले ६०–७० वर्षको इतिहास बोकेका ठूला दलहरूको घमन्डमा थप्पड हानेको छ, उनीहरूको घमन्ड तोडेको छ,’ राजनीतिक विश्लेषक कृष्ण खनाल भन्छन् । 

आफूलाई मत दिएका र नदिएका सबै मतदातालाई आफ्ना ठानेर अघि बढ्न बालेनलाई खनालको सुझाव पनि छ । ‘सबै मतदाता पार्टीका कार्यकर्ता हुँदैनन् भन्ने काठमाडौंले पुष्टि गरेको छ । यो नतिजाले ठूला दलहरूलाई लज्जाबोध हुनुपर्ने हो,’ उनले भने, ‘बालेनले सबै मतदातालाई सम्मान गरेर अघि बढ्नुपर्छ ।’ चुनौती स्वीकार गरेर आइसकेपछि अब ती चुनौतीसँग नभाग्न पनि सुझाव दिएका छन् । 

०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरबाटै मेयरको उम्मेदवार बनेका पूर्वाधारविद् किशोर थापा महानगरवासीको परिवर्तनको चाहना बालेनको जितमा प्रकट भएको विश्लेषण गर्छन् । उनले सुरुमा सडकका बग्रेल्ती समस्या समाधान गरेर अगाडि बढ्न सुझाव दिएका छन् । ‘बालेन आउनु परिवर्तनको चाहनाको सफलता हो । नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने अधिकांशको चाहना बालेनको जितमा प्रकट भयो,’ उनले भने, ‘यातायात प्रणालीमा व्यापक सुधारलाई बालेनले पहिलो काममा राख्नुपर्छ । फुटपाथ सुधार गर्नुपर्‍यो । वृद्धवृद्धा, बालबालिका, अपांगता भएकाहरू सुरक्षित रूपमा हिँड्न सक्ने गरी सबै फुटपाथ सुधार गर्नुपर्छ । पार्किङको समस्या समाधान गर्नुपर्‍यो, यसमा खर्च लाग्दैन, व्यवस्थापन गरे मात्र पुग्छ । सार्वजनिक यातायातका लागि बसपार्क व्यवस्थित गर्नुपर्छ । महानगरभित्र चौबिसै घन्टा सार्वजनिक बस सञ्चालनको वातावरण बनाउनुपर्छ ।’

घर–घरमै फोहोर छुट्याउन अनिवार्य गर्न र नगल्नेलाई मात्र बन्चरेडाँडामा लैजाने व्यवस्था गर्न पनि थापाको सुझाव छ । यसबाट महानगरको ठूलो खर्च जोगिने र उक्त रकम सौन्दर्यकरणमा खर्च गर्न सकिने उनले बताए । 

थापाले महानगरभित्रका झुपडी बस्ती सार्न, नभए व्यवस्थित गर्न पनि बालेनलाई सुझाव दिएका छन् । नदीनालामा भइरहेको फोहोरमैला रोक्न बागमती सफाइ अभियानलाई प्रत्यक्ष रूपमा सघाउन भनेका छन् । ‘सबै जनप्रतिनिधि जनताबाट चुनिएर आउने भएकाले उहाँहरूको इज्जत गर्ने, विश्वास गर्ने, वडाका काम वडालाई नै जिम्मा दिन सकेमा उहाँले काम देखाउन सक्नुहुन्छ । साथै महानगरसँग जोडिएका स्थानीय तहसँग समन्वय गरेर काम गर्नुपर्छ,’ थापाले भने । ०७४ मा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थापालाई रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीले समर्थन गरेको थियो । साझा पार्टीमै आबद्ध भए पनि त्यतिवेला उक्त पार्टी निर्वाचन आयोगमा दर्ता नभएकाले उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।