मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २ शनिबार ०८:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

०७६ सालमा  राष्ट्रिय बिदा  १५ दिन मात्रै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २ शनिबार ०८:११:००

राष्ट्रिय बिदा हुने दिन
-नयाँ वर्ष : १ वैशाख (नयाँ वर्ष)
-मजदुर दिवस : १८ वैशाख
-बुद्धजयन्ती : ४ जेठ
-संविधान दिवस : ३ असोज
-दसैँ : १८–२२ असोज (फूलपातीदेखि एकादशीसम्म ५ दिन) 
-तिहार : १०–१२ कात्तिक (३ दिन)
-शिवरात्रि : ९ फागुन (शिवरात्रि)
-होली : २६ फागुन (पहाड/भित्री मधेस), २७ फागुन (तराई)
-महिला दिवस : २८ फागुन

०७६ मा शनिबारबाहेक १५ दिन मात्रै राष्ट्रिय बिदा हुने भएको छ । सार्वजनिक बिदासम्बन्धी निर्णय शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । 

०७४ सम्म दिएको १३ दिन सार्वजनिक बिदा सरकारले ०७५ मा कटौती गरेको थियो । तर, विभिन्न जाति, समुदायले सार्वजनिक बिदा कटौतीको विरोध गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । सरकारले सुझाबका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा सार्वजनिक बिदा पुनरावलोकन कार्यदल नै गठन गरेको थियो । तर, कार्यदलको सिफारिससमेत अस्वीकार गर्दै सरकारले अघिल्लो वर्षको बिदा कटौती कायम गरेको छ । कार्यदलले १२ वटा बिदा थप्न गत पुसमा सिफारिस गरेको थियो । 

कार्यदलले किराँत चाड उँभौली (बुद्ध पूर्णिमा ) र उँधौली, इद उल फित्र, बकर इद, मोहम्मद जयन्ती, क्रिसमस, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, छठ, ऋषिपञ्चमी (महिलालाई मात्रै), माघीपर्व र जनैपूर्णिमामा बिदा दिनुपर्ने सिफारिस गरेको थियो । ‘तर, मन्त्रिपरिषद्को बैठकले सो सिफारिस कार्यान्वयन नगर्ने र बिदा कटौतीलाई कायमै राख्ने निर्णय गरेको छ,’ गृहका एक उच्च अधिकारीले भने । 

धार्मिक चाडहरूमा सम्बन्धितलाई मात्रै बेग्लै बिदा
विभिन्न धार्मिक चाडहरूमा सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा मात्र बिदा दिइने उल्लेख छ । जसअन्तर्गत ४ जेठमा किराँत, राई, याख्या, सुनुवार, लिम्बु जातिको चाड उभौलि पर्व (वैशाख चण्डि पूर्णिमा), ६ भदौमा गौरा पर्व, इस्लाम धर्मावलम्बिहरूको पर्व इद, १६ कात्तिकमा छठ, वकर इद, २६ मंसिरमा किराँतीहरूको उधौली, ९ पुसमा क्रिश्चियनहरूको क्रिसमस, १५ पुसमा तमु ल्होसार, १ माघमा माघी तथा माघे संक्रान्ति, ११ माघमा सोनाम ल्होसार, १३ फागुनमा ग्याल्बो ल्होसारमा सम्बन्धित धर्मविशेष र क्षेत्रका लागि विदा हुन्छ । त्यस्तै, सिरुवा पर्व, धवथान्बु पर्व मनाउने जिल्लाहरूमा पनि बिदा दिने सरकारको निर्णय छ । १६ भदौमा तिजमा महिलाहरूलाई मात्र बिदा हुने छ भने जितिया पर्व मनाउने महिलाहरूले पनि बिदा पाउँछन् । शिक्षण संस्थाका लागि १६ माघ बसन्त पञ्चमीमा बिदा हुने छ । 

चारवटा जात्रामा उपत्यकामा मात्र बिदा हुने छ । ३१ साउनमा गाइजात्रा, २७ भदौमा इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटे देखाउने जात्रा र ११ चैतको घोडेजात्रामा उपत्यकामा बिदा हुने भएको छ । अपांगता भएका कर्मचारीले अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा १७ मंसिरमा बिदा पाउनेछन् । 

जन्मजयन्तीमध्ये बुद्धजयन्तीमा मात्र सरकारले राष्ट्रिय विदा दिने निर्णय गरेको छ । आगामी वर्षको बुद्धजयन्ती ४ जेठ शनिबार परेको छ । १६ कात्तिकको गुरु नानक जयन्ती, २५ कात्तिकको फाल्गुनन्द जयन्तीमा सम्बन्धित सर्वसाधारण धर्मावलम्बीले मात्रै विदा पाउनेछन् । 

१५ जेठको गणतन्त्र दिवस, २२ भदौको निजामती सेवा दिवस, २७ पुसको राष्ट्रिय एकता दिवस, १६ माघको सहिद दिवस, ७ फागुनको प्रजातन्त्र दिवस, २१ जेठमा पर्ने जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका रूपमा मनाउने तर बिदा भने नदिने निर्णय सरकारले गरेको छ । 

अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, चौकी, फायरबिग्रेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण, हुलाकजस्ता कार्यालयका कर्मचारीले यस्ता विदाका दिन पनि काम गर्नुपर्ने भएकाले उनीहरूलाई सट्टा विदाको सुविधा पाउनेछन् ।