Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ जेठ १३ शुक्रबार २०:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा चोरीका घटना बढे, जनमानसमा त्रास

Read Time : > 1 मिनेट
२०७९ जेठ १३ शुक्रबार २०:१७:००

रसुवामा चोरीका घटना बढेका छन् । जिल्लाको दक्षिणी भेगमा पछिल्लो एक सातादेखि चोरीका घटना बढेको हो । पछिल्लो एक सातामा व्यक्तिका घर, सहकारी तथा सरकारी भवनमा चोरीका घटना घटेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । बिहीबार राति मात्रै उत्तरगया गाउँपालिका ५ मा रहेको दुईवटा सहकारीको कार्यालयमा चोरी भएको छ । जनजागरण बचत तथा ऋण सहकारी संस्था र कालिका  बहुउदेश्यीय सहकारी संस्थामा चोरी भएको हो । 

कालिका बहुउद्देश्यीय सहकारी संस्थाको ढोकाको ताल्चा फोरी नगद ७३ हजार ४ सय ४५ रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ । त्यसैगरी, उत्तरगया गाउँपालिका ४ कर्मिडाँडास्थित लहरेपौवा स्वास्थ्य चौकी भवनमा समेत तोडफोड भएको छ । स्वास्थ्य चौकीमा रहेको १ सय ५० रुपैयाँसमेत चोरी भएको छ । केही स्थानीयको घरमा पनि एकैपटक चोरी भएको छ । बिहीबार चोरी गर्ने व्यक्तिले जनजागरण बचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोडसमेत गरेको पाइएको छ ।  कार्यालय तोडफोड गरे पनि संस्थाबाट चोरले नगद भने नलिएको बताइएको छ । 

यस्तै अघिल्लो साता (गएको ६ गते) पनि कालिका गाउँपालिका र उत्तरगया गाउँपालिकास्थित सरकारी कार्यालय, व्यक्तिका घर, पसलमा चोरीका घटना भएको छ । कालिका गाउँपालिकाको कालिकास्थान धारापानी एवं बेतिनी तथा उत्तरगया गाउँपालिका ५ को माझगाउँ र बनुवा घुम्तीमा चोरीको घटना भएको थियो । कालिका गाउँपालिकामा विभिन्न स्थानमा सातवटा निजी घर तथा बेतिनीमा रहेको सामुदायिक स्वास्थ्य एकाइ साथै सहकारी संस्था र उत्तरगया गाउँपालिका ५ वडा कार्यालय निजी घरसमेत तोडफोड भएको भन्दै प्रहरीमा उजुरी परेको छ । विभिन्न कार्यालय तथा घर गरी १४स्थानमा चोरीका घटना घटेको प्रहरीले जनाएको छ । करिब चार लाख नगद तथा करिब चार तोला सुन चोरी भएको जनाइएको छ । 

त्यस्तै डेढ महिनाअघि पनि उत्तरगया गाउँपालिका २ डाँडागाउँ क्षेत्रमा दर्जनौँ घरमा चोरी भएको थियो । घटनाको विवरणअनुसार मानिस नभएका व्यक्तिका घर, पसल, सरकारी भवन (वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय) सहकारीमा चोरी तथा तोडफोड भएको पाइएको प्रहरी नायब उपरीक्षक चन्दले बताए । चोरीमा संलग्न व्यक्तिको पहिचान गर्न आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाइएको समेत उनले बताए । ‘पछिल्लो समय चोरीको घटना बढ्दै गएकोले गम्भीर रूपमा लिई अनुसन्धानका प्रक्रियाहरू हामीले अघि बढाएका छौँ, घटनाको प्रकृति हेर्दा मानिस नभएको घर तथा भवनमा चोरी तथा तोडफोड भएको पाइएको छ,’ उनले भने। 

जिल्लामा चोरीका घटना बढ्न थालेसँगै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक झलक शर्माको नेतृत्वमा ५ सदस्यीय टोली परिचालन गरिएको छ । चोरीमा संलग्नहरूको पहिचानका लागि अनुसन्धान सुरु गरिरहेको प्रहरी निरीक्षक शर्माले बताए । चोरले मानवीय क्षति गरेको छैन, तर मानिस नभएका घरहरूमा तोडफोड र चोरीका घटना भएको छ, उनले भने, हामीले अनुसन्धानका सबै कामहरू गरिरहेका छौँ ।’ 

दर्जनौँ घर, सहकारी तथा सरकारी भवनबाट चोरी भए पनि हालसम्म चोरीमा संलग्न व्यक्ति वा समूह पक्राउ परेका छैनन् भने तोडफोड तथा चोरीका घटना बढेसँगै जनमानसमा त्रास फैलिएको छ । उत्तरगया गाउँपालिकाका उज्वल आचार्यले चोरीका घटना बढ्न थालेसँगै नागरिकहरूमा त्रास फैलिएको बताए । सुरक्षा सक्रियता बढाउनुपर्नेमा सुरक्षा संवेदनशीलता कस्तो रहेछ भनी नागरिकमा निराशा पैदा भएकोसमेत उनले बताए ।