मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नारायण शिवाकोटी नयाँ पत्रिका
२०७९ जेठ १३ शुक्रबार ०९:०४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

महामारीका  हरेक दिन थपिए  एक नयाँ अर्बपति 

Read Time : > 2 मिनेट
नारायण शिवाकोटी, नयाँ पत्रिका
२०७९ जेठ १३ शुक्रबार ०९:०४:००

कोभिड– १९ महामारी सिर्जित संकटले विश्व अर्थतन्त्रलाई तहसनहस बनाएर करोडौँ मानिसलाई गरिबीमा धकेल्यो, उत्ति नै मानिसले सधैँका लागि रोजगारी गुमाए । यद्यपि, धनीहरूका लागि भने यो महामारी अभूतपूर्व रूपले फलदायी साबित भएको छ । बेलायतस्थित परोपकारी संस्था अक्सफामले आइतबार सार्वजनिक गरेको एउटा विश्लेषणअनुसार महामारी सुरु भएयता विश्वमा थप पाँच सय ७३ जना नयाँ अर्बपति थपिएका छन् । अर्थात् विश्वले अथाह सम्पत्ति गुमाइरहेको महामारीको प्रत्येक ३० घन्टामा औसतमा एकजना नयाँ अर्बपति बने । यससँगै एक अर्ब डलरभन्दा बढी नेटवर्थ भएका धनाढ्यको संख्या दुई हजार ६ सय ६८ पुगेको छ । 

अक्सफामको अध्ययनले कोभिड– १९ पछिको दुई वर्षमा अर्बपतिहरूको सम्पत्ति अथाह बढेको जनाएको छ । महामारी अवधिमा धनाढ्यहरूले महामारीअघिको २३ वर्षमा बढेको भन्दा धेरै नेटवर्थ थपेका छन् । विश्वका अर्बपतिहरूको सम्पत्ति विश्वको जिडिपीको १३.९ प्रतिशतबराबर पुगेको छ । यसअघि सन् २०२० मा विश्वका सम्पूर्ण अर्बपतिको नेटवर्थ विश्व अर्थतन्त्र (जिडिपी)को ४.४ प्रतिशतजति थियो । यसरी हेर्दा महामारीको यी दुई वर्षमा अर्बपतिहरूले आफ्नो सम्पत्ति तीन गुणाले बढाए । यो अवधिमा विश्वका अर्बपतिहरूको नेटवर्थमा ४२ प्रतिशत अर्थात् ३० खर्ब ८० अर्ब डलर बढेर एक सय २० खर्ब ७० अर्ब डलर पुगेकोे छ ।

धनाढ्यहरूको सम्पत्तिमा भएको यो बढोत्तरीको ठूलो हिस्सा सेयर बजारमा भएको वृद्धिको योगदान छ । महामारीको आर्थिक असर कम गर्न विश्वभरका सरकारले आ–आफ्नो अर्थतन्त्रमा ठूलो धनराशि सिञ्चन गरे । सरकारहरूले अर्थतन्त्रमा सिञ्चन गरेको पैसाले सेयर बजारमा उछाल ल्याउँदा घनाढ्यहरूको सम्पत्तिमा अथाह वृद्धि भयो । विश्व गरिब भइरहँदा धनीहरू ऐतिहासिक रूपले धनी भए । अक्सफामका इनइक्वालिटी पोलिस प्रमुख म्याक्स लसनका अनुसार धनाढ्यहरूको सम्पत्ति महामारीको पहिलो वर्ष सबैभन्दा धेरै बढेको थियो ।

अक्सफामको प्रतिवेदनले महामारीका यी दुई वर्षमा अभूतपूर्व रूपले असमानता पनि बढेको देखाउँछ । उसले अघिल्लो महिना सार्वजनिक गरेको प्रतिवेदनमा महामारीमा भएको चरम मूल्यवृद्धिले दशकौँ लगाएर विश्वले हासिल गरेको प्रगतिलाई उल्ट्याउँदै यो वर्ष प्रत्येक ३३ घन्टामा १० लाख मानिस चरम गरिबीमा धकेलिने आँकडा प्रस्तुत गरेको थियो । उसले यस वर्ष २६ करोड ३० लाख मानिस चरम गरिबीमा धकेलिन सक्ने चिन्ता व्यक्त गरेको छ । ‘मैले इतिहासमा गरिबी र सम्पत्तिमा एकसाथ र एकै समय यस्तो नाटकीय बढोत्तरी कहिल्यै देखेको छैन,’ लसनले भनेका छन्, ‘यसले धेरै मानिसलाई प्रताडित गर्दै छ ।’

खाद्य वस्तुको मूल्यमा भएको विश्वव्यापी वृद्धिले श्रीलंकादेखि सुडानसम्मका मुलुकमा सामाजिक तथा राजनीतिक अस्थिरता सिर्जना गर्दै लगेको छ । असमानता सिर्जित अशान्ति र अस्थिरताले विश्वका थुप्रै मुलुकलाई आक्रान्त पार्ने आकलन गर्न सकिन्छ । अहिले नै न्यून आय भएका ६० प्रतिशत मुलुक ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् । यसले न्यून वेतनयुक्त कामदारको दैनिक गुजारा कष्टकर बनाइरहेको छ । आय असमानताबाट महिला र सीमान्तकृत सबैभन्दा बढी प्रभावित भएका छन् । विश्वका तीन अर्ब १० करोड मानिससँग जति सम्पत्ति छ विश्वका शीर्ष १० धनाढ्यको नेटवर्थ त्यसभन्दा धेरै भएको छ ।

खाद्य, ऊर्जा तथा फर्मास्युटिकलमा कीर्तिमानी मुनाफा
महामारीमा सबैभन्दा अग्रमोर्चामा रहेको खाद्य, ऊर्जा तथा फर्मास्युटिकल क्षेत्रले कीर्तिमानी मुनाफा दर्ज गरेको देखिएको छ । अक्सफामले विश्वरभका उपभोक्ता ऊर्जा तथा खाद्य वस्तुको आकासिँदो मूल्यसँग जुधिरहँदा यिनै क्षेत्रका उद्योग तथा कम्पनीहरूले भने अथाह मुनाफा कुम्ल्याएको भनेर आलोचना गरेको छ । खाद्य तथा कृषि क्षेत्रका अर्बपतिहरूले महामारीका यी दुई वर्षमा सम्पत्तिमा तीन खर्ब ८२ अर्ब डलर अर्थात् ४५ प्रतिशतको वृद्धि साक्षात्कार गरेको देखिएको छ । उनीहरूको सम्पत्तिमा भएको यो बढोत्तरीको गणना मुद्रास्फीतिमा समायोजनपछिको हिसाब हो । 

सन् २०२० पछि खाद्य क्षेत्रले मात्रै ६२ नयाँ अर्बपति सिर्जना गरेको छ । यसबीच, तेल, ग्यास तथा कोइला क्षेत्रका धनाढ्यले पनि आफ्नो नेटवर्थ २४ प्रतिशतले बढ्दा ५३ अर्ब डलर थपेका छन् । फर्मास्युटिकल (औषधि) उद्योगले विश्वमा ४० नयाँ अर्बपति थपेको छ । यस अवधिमा सबैभन्दा बढी सम्पत्ति प्रविधि क्षेत्रमा थपिएको छ । विश्वका सर्वाधिक धनाढ्य १० मध्ये टेस्लाका एलन मस्क, अमेजनका जेफ बेजोस माइक्रोसफ्टका बिल गेट्सजस्ता सात व्यक्ति प्रविधि क्षेत्रबाटै छन् । यी शीर्ष १० धनाढ्यले गत दुई वर्षमा आफ्नो सम्पत्तिलाई चार खर्ब ३६ अर्ब डलरले बढाएर नौ खर्ब ३४ अर्ब पुर्‍याएका छन् । 

असमानता रोक्न आग्रह
अक्सफामले महामारी सिर्जित सम्पत्तिको यो चरम असमानताप्रति चिन्ता व्यक्त गर्दै विश्व आर्थिक मञ्चका सहभागीहरूलाई यो असमानता घटाउन केही सुझाव दिएको छ । बढ्दो असमानतालाई रोक्न र मूल्य वृद्धिबाट प्रताडित परिवारलाई सहयोग गर्न ठूला कम्पनी तथा धनीहरूलाई थप कर लगाउन अक्सफामले सरकारहरूलाई घचघच्याएको छ । उसले अतिशय कर्पाेरेट मुनाफामा अस्थायी रूपले ९० प्रतिशतसम्म कर लगाउन र धनाढ्यहरूको सम्पत्तिमा एकपटकका लागि सम्पत्ति कर लगाउन पनि सुझाएको छ । सम्पत्तिको यो असमानता कम गर्न ५० लाख डलरभन्दा बढीको सम्पतिमा २ प्रतिशत कर लगाउन र एक अर्बमाथिको नेटवर्थमा लाग्ने सम्पत्ति करलाई ५ प्रतिशत बढाउन भनेको छ । अक्सफामका अनुसार यसरी कर लगाउँदा विश्वभर २० खर्ब ५० अर्ब डलर उठ्ने र त्यसले सम्पत्तिको यो खाडल पुर्न सघाउने दाबी पनि गरेको छ ।  – एजेन्सी