मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकराज थामी काठमाडाैं
२०७९ जेठ १३ शुक्रबार ०७:३७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अब सुधारगृहका बालबालिका घर पनि जान पाउने

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ जेठ १३ शुक्रबार ०७:३७:००

परिवार बसेको घर जान बालबालिकाले सुधारगृह प्रशासन र अदालतको अनुमति अनिवार्य रूपमा लिनुपर्ने

बाल सुधारगृहमा कम्तीमा एकतिहाइ कैद सजाय भुक्तान गरेका बालबालिका अब साताको केही दिन परिवार बसेको घर जान/आउन पाउने भएका छन् । गत ५ जेठबाट कार्यान्वयनमा आएको बालबालिकासम्बन्धी नियमावली ०७८ अनुसार परिवार बसेको घर जान बालबालिकाले सुधारगृह प्रशासन र अदालतको अनुमति भने अनिवार्य रूपमा लिनुपर्नेछ । सुधारगृहमा कैद सजाय भुक्तानी गर्न ६ महिना बाँकी रहेका बालबालिकाले पनि यो सुविधा उपभोग गर्न सक्नेछन् । यसअघि सुधारगृहमा रहेका बालबालिकाका निम्ति यस्तो सुविधा थिएन । 

नियमावली ०७८ को नियम ३७ को उपनियम ४ मा भनिएको छ, ‘बाल सुधारगृहले कम्तीमा ६ महिनासम्मको अवधिका लागि बाल सुधारगृहमा रहेका वा त्यस्तो गृहमा रहनुपर्ने भनी तोकेको अवधिको एकतिहाइ समय बाल सुधारगृहमा बिताइसकेको बालबालिकालाई प्रोवेसन अधिकारीको सिफारिसमा अदालतको अनुमतिले हप्ताको केही दिन वा केही समयका लागि बाबुआमा वा घरपरिवारमा जाने आउने व्यवस्था गर्न सकिनेछ ।’

कमल गुरागाईं, अधिवक्ता

बालबालिकासम्बन्धी ऐनको दफा २०, २४, २६, २९, ३०, ३६, ३८, ३९ र ४९ ले कानुनी विवादमा परेका बालबालिकाको हकअधिकारका सम्बन्धमा के गर्ने भनी केही नयाँ व्यवस्था गरेको छ । सुधारगृहका बालबालिका परिवार बसेको घर जान पाउने, परिवारसँग पुनर्मिलन हुन पाउने, शिक्षा, स्वास्थ्यको ग्यारेन्टी प्रशासनले गर्नुपर्नेलगायतका छन् । सोहीअनुसार नियमावली बनेको हो । यो नयाँ व्यवस्था हो ।

सुधारगृहमा रहेका बालबालिका शिक्षा हासिल गर्न नजिक रहेको सामुदायिक विद्यालयमा पनि जान सक्नेछन् । यसको व्यवस्था सुधारगृह प्रशासनले गर्नुपर्नेछ । सुधारगृहमा पठनपाठनका लागि व्यवस्था नभएको हकमा मात्रै यो सुविधा लागू हुन सक्नेछ । नियमावलीको नियम २४ को उपनियम २ मा भनिएको छ, ‘बाल सुधारगृहभित्र तत्काल विद्यालय सञ्चालन गर्न सम्भव नभएमा बाल सुधारगृहले नजिकको सामुदायिक विद्यालयसँग समन्वय गरी त्यस्तो विद्यालयमा पढ्न पाउने व्यवस्था गर्नुपर्नेछ ।’

सुधारगृहमा भर्ना हुनुअघि बालबालिकाले पढिरहेको गृह वा कक्षालाई सकेसम्म निरन्तरता नदिने व्यवस्था सुधारगृह प्रशासनले गर्नुपर्नेछ । बालबालिकलाई उमेर र शैक्षिकस्तरअनुसार अनिवार्य रूपमा विद्यालयमा पढ्ने व्यवस्था मिलाउनुपर्नेछ । उमेरअनुसार पढ्न नसक्नेहरूको हकमा भने क्षमता पहिचान गरी सोहीअनुसारको सिकाइ प्रणालीको व्यवस्था गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।

सुधारगृहले अध्ययन गरिरहेका बालबालिकाको शैक्षिक प्रगतिसमेत नियमित समीक्षा र त्यसको विवरण व्यवस्थित गर्नुपर्नेछ । यदि शैक्षिक प्रगति सुधारोन्मुख नदेखिए तुरुन्तै मनोपरामर्शदातासँग सल्लाह लिएर समस्या देखिएका बालबालिकालाई विशेष सहयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । नियमावली २५ को उपनियम ३ मा भनिएको छ, ‘बालबालिकाको शैक्षिक प्रगतिमा समस्या देखिएमा सम्बन्धित शिक्षक तथा आवश्यकताअनुसार मनोविमर्शकर्ताको सल्लाह लिई सोहीअनुसार समस्या देखिएका बालबालिकाको पढाइमा विशेष सहयोग पुग्ने गरी बाल सुधारगृहले आवश्यक व्यवस्था गर्नुपर्नेछ ।’

ध्यान, योग, खेलकुद तथा मनोरञ्जन खुलेर गर्न सक्ने 
नियमावलीअनुसार सुधारगृहमा रहेका बालबालिकाले अब ध्यान, योग, खेलकुद तथा मनोरञ्जन पनि खुलेर गर्न सक्ने भएका छन् । सुधारगृह प्रशासनले नै त्यस्ता बालबालिकाका लागि यो व्यवस्था गर्नुपर्नेछ । उनीहरूलाई प्रशासनले शारीरिक व्यायाम र सिर्जनात्मक अभ्यासजस्ता क्रियाकलाप पनि गराउनुपर्नेछ । बालबालिकाले सुधारगृहभित्रै टेलिभिजन वा इन्टरनेटको प्रयोग पनि गर्न सक्नेछन् । यसका लागि समय र हेर्ने स्थान भने सुधारगृह प्रशासनले तोक्नेछ । नियमावलीको नियम २७ र २८(१) मा उल्लेख छ, ‘बाल सुधारगृहले बालबालिकालाई नियमित रूपमा ध्यान, योग, खेलकुद, मनोरञ्जनलगायतका शारीरिक व्यायाम र सिर्जनात्मक अभ्यास हुने क्रियाकलापमा सहभागी गराउनुपर्नेछ । मनोरञ्जनका लागि टेलिभिजन वा इन्टरनेट प्रयोग गर्दा बाल सुधारगृहले तोकेको समय र स्थानमा मात्र प्रयोग गर्न दिने व्यवस्था गर्नुपर्नेछ ।’

नियमावलीअनुसार सुधारगृहमा लिंग, उमेर, अदालती प्रक्रियाको अवस्था र मनोसामाजिक परामर्शका आधारमा आवासको छुट्टाछुट्टै व्यवस्था गर्नुपर्नेछ । सुधारगृहमा रहेका बालक र बालिकालाई अलग–अलग भवनको व्यवस्था गरिनुपर्नेछ । त्यो सम्भव नभए अलग–अलग तला र त्यो पनि सम्भव नभए बीचमा प्रशस्त खाली रहने गरी अलग–अलग कक्षको व्यवस्था हुनुपर्नेछ । 

नियमावलीअनुसार पुर्पक्षमा रहेका र मुद्दा फैसला भई कार्यान्वयनको चरणमा रहेका बालबालिकालाई उमेरसमूहअनुसार अलग–अलग कक्षमा राखिनुपर्नेछ । नियमावली २१ को उपनियम (ख) अनुसार चौध वर्षभन्दा मुनिका लागि अलग कक्षा, चौधदेखि सत्र वर्ष उमेर समूहका लागि अलग कक्षा र १८ वर्ष पुगेको हकमा अन्य बालबालिकासँग अलग हुने गरी अलग भवन वा तलामा बस्ने व्यवस्था गरिनुपर्नेछ ।

अधिवक्ता कमल गुरागाईंले बालबालिकासम्बन्धी ऐन ०७५ ले गरेको व्यवस्थाअनुसार नियमावली बनेको र उक्त नियमका केही व्यवस्था नयाँ रहेको बताए । ‘बालबालिकासम्बन्धी ऐनको दफा २०, २४, २६, २९, ३०, ३६, ३८, ३९ र ४९ ले कानुनी विवादमा परेका बालबालिकाको हकअधिकारको सम्बन्धमा के गर्ने भनी केही नयाँ व्यवस्था गरेको छ । सुधारगृहका बालबालिका परिवार बसेको घर जान पाउने, परिवारसँग पुनर्मिलन हुन पाउने, शिक्षा, स्वास्थ्यको ग्यारेन्टी प्रशासनले गर्नुपर्नेलगायतका छन् । सोहीअनुसार नियमावली बनेको हो । यो नयाँ व्यवस्था हो ।,’ उनले भने ।