Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १२ बिहीबार १८:२६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभा सदस्यहरूले के भने ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १२ बिहीबार १८:२६:००

राष्ट्रिय सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भएको छ । बिहीबारको बैठकमा सांसदहरूले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आ–आफ्ना धारणा राखेका हुन् । सांसदहरूले मिश्रित धारणा राखेका छन् । 

छलफलमा संयुक्त संशोधनकर्ता भैरवसुन्दर श्रेष्ठले गठबन्धन सरकारले पूर्ववर्ती सरकारले ल्याएको भन्दा कमजोर नीति तथा कार्यक्रम ल्याएको बताए । उनले नीति तथा कार्यक्रमको बुँदा १३५ मा राखिएको वस्तुगत आधार भनेको ‘सबै जनताले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी हुँ’ भन्नुपर्ने हो भन्दै प्रश्न गरे ।

उनले भने, ‘हामीलाई धेरै राम्रो कार्यक्रम ल्याउँछ भन्ने लागेको थियो । तर, पूर्ववर्ती सरकारले ल्याएको राम्रो काम पनि ल्याउन सकेन । १३५ वटा बुँदामध्ये केही बुँदामा वस्तुगत आधार भनेको के हो ? म प्रश्न गर्न चाहन्छु, के त्यो भनेको सबै कांग्रेस, माओवादी र एकीकृत समाजवादी बन्नुपर्ने भन्ने हो ?’

संयुक्त संशोधनकर्ता शेखरकुमार सिंहले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा आउँदा सप्तरीमा आउन नसकेको गुनासो गरे । उनले बुँदा ६० मा इनरुवादेखि बेली भन्सारसम्मको अन्दाजी १४ किलोमिटर सडकलाई विस्तार तथा पुनः निर्माण गर्नुपर्नेमा नीति कार्यक्रममा नै नहुनु दुःखद् भएको बताए । उनले भने, ‘६० बुँदामा इनरुवादेखि बेली भन्सारसम्म त्यो सडक अन्दाजी १४ किलोमिटर बाँकी छ । त्यो यही वर्षको नीति तथा कार्यक्रममा राख्नुपर्ने हो, त्यो देखिएन । त्यसलाई विस्तार तथा पुनर्निर्माण गर्नुपर्नेमा त्यो पनि नीति कार्यक्रममा छैन ।’

संयुक्त संशोधनकर्ता भगवती न्यौपानेले सरकारले ल्याएको नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको बताइन् । 

राष्ट्रिय सभा सदस्य विमला घिमिरेले नीति तथा कार्यक्रमको बुँदा ७२ मा एक घर एक धारा पुर्याउने बुँदा रहेको तर ४ लाख ६६ हजार मात्रै भनिएकोले त्यतिमा मात्रै सीमित हुने हो कि भन्ने प्रश्न गरिन् । 

राष्ट्रिय सभा सदस्य कमला पन्तले सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताइन् । 

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले नीति तथा कार्यक्रम झुटको सहारामा बनाइएको आरोप लगाए । 

राष्ट्रिय सभा सदस्य सुरेशकुमार आले मगरले नीति तथा कार्यक्रम सकारात्मक रहेको बताए । 

राष्ट्रिय सभा सदस्य डा.बेदुराम भुसालले अघिल्लो सरकारले बाँडेका सपना जस्तो नभई सपना चिर्ने गरेर नीति तथा कार्यक्रम आएको बताए । 

राष्ट्रिय सभा सदस्य हरिराम चौधरीले अहिलेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, रोजगारीलाई समेटेर आएको बताए । 

राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले मिथिला भूमिलाई मिथिला कृषि नमुना क्षेत्र घोषणा गरेर सिँचाइको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । 

राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले सरकारको नीति तथा कार्यक्रममा बाली बिमाको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । 

राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले नीति तथा कार्यक्रममा धेरै पक्षहरू समेटिएको बताए । 

राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले सरकारको नीति तथा कार्यक्रमले कृषि, उद्योग, स्वास्थ्य, शिक्षा, उत्पादन, रोजगारीलगायत समग्र क्षेत्रलाई समेटेको भन्दै समर्थन गरे । 

राष्ट्रिय सभा सदस्य युवराज शर्माले निजी विद्यालयले शिक्षाको नाममा गरिरहेको व्यापारीकरणलाई निरीक्षण गर्नुपर्ने बताए । 

राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले नीति तथा कार्यक्रम विगतको भन्दा प्रगतिशील भएको दाबी गरिन् । 

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले केही मन्त्रालयहरूले वडा तहका कामलाई पनि आफ्नो अधिनमा राख्नु दुःखद् भएको बताए ।