मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर काठमाडाैं
२०७९ जेठ १२ बिहीबार ०८:१७:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

१२ देशमा फैलियो ‘मंकीपक्स’

सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ जेठ १२ बिहीबार ०८:१७:००

दुर्लभ मानिए पनि मंकीपक्स संक्रमण पछिल्लो समय विश्वका विभिन्न देशमा देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हालसम्म १२ देशका ८० भन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण पुष्टि भइसकेको छ । थप ५० भन्दा बढी संक्रमणका केसमाथि आंशका गरिएको छ । 

तीव्र गतिमा फैलिरहेको मंकीपक्स जर्मनी, अमेरिका, अस्ट्रेलिया, बेलायत, स्पेन, पोर्चुगल, फ्रान्स, इटाली र स्विडेनसहित युरोपेली देशमा समेत देखिएको थियो । खासगरी, अफ्रिकी मुलुकमा देखिएको यो दुर्लभ संक्रमण नौवटा युरोपियन देशसहित अमेरिका, क्यानडा र अस्ट्रेलियामा पुष्टि भएको छ । 

हालसम्म संक्रमण देखिएका देशमा अफ्रिकाबाट फर्किएकाबाट समुदायमा फैलिएको प्रारम्भिक अध्ययनले देखाएको छ । युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड इन्फेक्सन र युकेको स्वास्थ्य सुरक्षा एजेन्सीले विशेष गरी समलिंगी र उभयलिंगी पुरुषमाथि अनुसन्धान गरिरहेको जनाएको छ । र, यस्ता व्यक्तिका शरीरमा कुनै पनि असामान्य दाग वा घाउ देखिए सचेत रहन आग्रह गरेको छ । संक्रमितको तथ्यांक सार्वजनिक गरेको अमेरिकामा पहिलोपटक ७ मेमा संक्रमण देखिए पनि हालसम्म मंकीपक्सका २० वटा केस पुष्टि भएको छ । यद्यपि, समुदायभित्र अझै धेरै केस पत्ता नलागेको हुन सक्ने अनुमान छ । 

मंकीपक्स संक्रमण फैलिने तरिका फरक भएकोले नेपालमा जोखिम छैन भन्न मिल्दैन । मानिसबाट मानिसमा सर्ने संक्रमण भएकाले विश्वभर नै जोखिम छ । तसर्थ, समयमै सतर्कता अपनाउन जरुरी हुन्छ ।
डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ 
 

मंकीपक्सका संक्रमितको शरीरमा दाग र घाउसँगै ज्वरो आउँछ । संक्रमण दर बढेसँगै विदेश भ्रमणमा निस्किनुअघि अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । युकेएचएसएका प्रमुख चिकित्सा सल्लाहकार सुसान हप्किन्सले युरोपका केही ठाउँमा मात्रै संक्रमण देखिए पनि समुदायमा फैलिसकेका कारण विदेश भ्रमणमा निस्किने व्यक्तिले विशेष ध्यान दिन आग्रह गरेका छन् ।

 नेपालमा पनि संक्रमण  फैलिन सक्ने जोखिम
नेपालमा पनि मंकीपक्स संक्रमण फैलिन सक्ने जोखिम रहेकाले संक्रमणप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मृत्युदर १० प्रतिशत रहेको मंकीपक्स संक्रमण अन्य संक्रमणजस्तै छिटो फैलिन सक्ने भएकाले सवाधानी अपनाउन अपिल गरिएको हो । ‘संक्रमण फैलिने तरिका फरक भएको हुन सक्ने भएकाले नेपालमा जोखिम छैन भन्न मिल्दैन । मानिसबाट मानिसमा सर्ने संक्रमण भएकाले विश्वभर नै जोखिम रहेको कोभिड संक्रमणले समेत पुष्टि गरेको छ । तसर्थ, समयमै सतर्कता अपनाउन जरुरी हुन्छ,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने ।

के हो मंकीपक्स ?
मंकीपक्स भाइरस संक्रमणबाट हुने दुर्लभ रोग हो । जसलाई स्मलपक्स भाइरस परिवारकै सदस्य मानिन्छ । यद्यपि, मंकीपक्स स्मलपक्सको तुलनामा कम गम्भीर हुन्छ । मध्य र पश्चिम अफ्रिकाका दुर्गम भेगमा यो भाइरस पहिलोपटक सन् १९५८ मा बन्दी बाँदरमा भेटिएको थियो । मानिसमा भने पहिलोपटक सन् १९७० मा देखिएको थियो । सन् २०१७ मा नाइजेरियासहित अफ्रिकाका १० देशमा मंकीपक्स संक्रमण देखिएको थियो । नाइजेरियामा संक्रमणको आशंका गरिएका एक सय ७२ मध्ये ६१ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये एकचौथाइ २१ देखि ४० वर्ष उमेरका पुरुष थिए । अफ्रिकाबाहिर संक्रमण न्यून रूपमा पाइए पनि संक्रमण फैलिनुमा अन्तर्राष्ट्रिय यात्रा वा आयातित जनावरसँग जोडिएको थियो । यसवेला इजरायल, बेलायत, सिंगापुर र अमेरिकामा पनि संक्रमण देखिएको थियो । 

कसरी फैलिन्छ ?
मंकीपक्स भाइरस संक्रमित व्यक्ति, जनावर वा वस्तुसँग नजिकको सम्पर्कबाट फैलिन्छ । भाइरस सामान्यतया छाला, श्वासनली वा आँखा, नाक र मुखबाट शरीरमा प्रवेश गर्छ । विशेषगरी, मानिसमा श्वासप्रश्वासबाट शरीरमा प्रवेश गर्छ । यद्यपि, एक व्यक्तिबाट अर्कोमा सर्न लामो समयसम्म आमनेसामने हुनुपर्छ । मंकीपक्सलाई यौन सञ्चारित रोग मानिन्छ ।  

लक्षण
मंकीपक्सका प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, शरीर सुन्निने र ढाड दुख्ने हुन्छ । संक्रमितमा ज्वरो देखा परेको एकदेखि तीन दिनपछि शरीरमा घाउ देखिन थाल्छ । जुन प्रायः अनुहारबाट सुरु हुन्छ र शरीरका अन्य भागमा फैलिन्छ । छालामा देखिने फोका र घाउ चिलाउने भएकाले निकै पीडादायी हुने चिकित्सकहरू बताउँछन् ।