शिक्षकबाट यौन दुर्व्यवहार भएको भन्दै आन्दोलित काठमाडौं चाबहिलस्थित सेन्ट लरेन्सका विद्यार्थी र व्यवस्थापन पक्षबीच सातबुँदे सहमति भएको छ । बुधबार विद्यालय व्यवस्थापन र विद्यार्थी प्रतिनिधिबीच सहमति भएको हो ।
विद्यालयमा अध्ययनरत छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्सका विद्यार्थी मंगलबारदेखि आन्दोलित थिए । उनीहरूले बुधबार पनि प्रहरी वृत्त गौशालाअगाडि प्रदर्शन गरेका थिए । यौन दुर्व्यवहारको अभियोगमा विद्यालयका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
दुई पक्षबीच यौन दुर्व्यवहारको अभियोगमा पक्राउ परेका दुई शिक्षकमाथिको अनुसन्धानमा विद्यालय प्रशासनले प्रहरीलाई सहयोग गर्ने, आन्दोलनमा घाइते विद्यार्थीको उपचार गर्ने, आन्दोलित र अन्य पीडित विद्यार्थीमाथि विद्यालय प्रशासनले विभेद नगर्नेलगायत सहमति भएको छ ।
प्रहरीको मध्यस्थतामा विद्यालय प्रशासन र विद्यार्थीबीच वार्ता भएको थियो । पक्राउपछि मंगलबार नै प्रहरीले दुवैविरुद्ध थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गराएको छ । अधिकारी र पौडेलविरुद्ध तीन छात्राले गौशाला प्रहरी वृत्तमा जाहेरी दिएका छन् ।