मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी काठमाडाैं
२०७९ जेठ १२ बिहीबार ०६:१३:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

५७ महिनामा १० हजार १३१ बलात्कारका घटना

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ जेठ १२ बिहीबार ०६:१३:००

प्रहरीको तथ्यांकअनुसार दैनिक औसत ६ महिला बलात्कृत, आधाभन्दा धेरै अर्थात् ६४ प्रतिशत १८ वर्षमुनिका बालिका

पछिल्ला चार वर्ष नौ महिनामा बलात्कारका १० हजार एक सय ३१ मुद्दा प्रहरीमा दर्ता भएका छन् । ०७४ साउनदेखि ०७८ चैतसम्मको यो तथ्यांकले औसतमा दैनिक ६ जना बलात्कृत हुने गरेको देखाउँछ । त्यसो त बलात्कारका सबै घटना प्रहरीसम्म आइनपुग्ने भएकाले यो संख्या अझै बढी छ । 

बलात्कृत हुनेमा आधाभन्दा बढी १८ वर्षमुनिका छन् । १० हजार एक सय ३१ मध्ये ६ हजार चार सय ४५ बालिका छन् । यो दर ६३.६१ प्रतिशत हो । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसी बलात्कृत हुने बढिरहेको बताउँछन् । ‘देशभर बलात्कारका घटना बढेको देखिन्छ । यस्ता घटनामा सबैभन्दा धेरै बालिका पीडित छन् । अपरिपक्व मनोविज्ञान हुने बालिकाहरूलाई ललाइफकाई प्रभावमा पार्न सजिलो हुने, डर र धाकधम्कीबाट पनि वशमा पार्न सक्ने भएकाले यस्ता घटनामा बालिका धेरै पीडित हुने गरेको देखिन्छ,’ उनले भने । ३६ प्रतिशत पीडित १९ वर्षमाथिका छन् । बाँकी अन्य समूहका रहेको प्रहरीको तथ्यांकले देखाउँछ । 

बलात्कारका घटना हरेक वर्ष बढ्दो
महिला तथा बालबालिकामाथि हुने बलात्कार तथा हिंसाविरुद्ध देशभर विभिन्न अभियान सञ्चालन हुँदै आएका छन् । तर, पीडकको दबाबलगायत डर–त्रासका कारण समयमै पीडितले उजुर गर्न नसक्नु, एक वर्षपछि जाहेरीका लागि हदम्याद नै सकिने कानुनी व्यवस्थाका कारण आपराधिक सोच भएकाको मनोबल बढ्ने गरेको छ । घटना सार्वजनिक भए पनि राजनीतिक पहुँचका आधारमा सजिलै उन्मुक्ति पाउने गरेका छन् । यसकारण बलात्कारका घटना बढिरहेका छन् । 

०७४/७५ मा देशभर बलात्कारका एक हजार चार सय ६८ मुद्दा प्रहरीमा दर्ता भएका थिए । ०७५/७६ मा ५३.८५ प्रतिशतले बढेर दुई हजार दुई सय ५४ पुग्यो । ०७६/७७ मा अघिल्लो वर्षको तुलनामा ३.८५ प्रतिशतले मात्रै घटेर दुई हजार एक सय ६७ मुद्दा दर्ता भएको देखिन्छ । ०७७/७८ मा अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बढेर दुई हजार पाँच सय ५४ घटना दर्ता भएका छन् । चालू आर्थिक वर्षको चैतसम्म मात्रै एक हजार ६ सय ८८ मुद्दा दर्ता भएका छन् । सबै तथ्यांक नआइपुगेकाले यो संख्या थपिने प्रहरी बताउँछ । 

‘देशभर बलात्कारका घटना बढेका छन् । यसमा केही खास कारण छन्,’ प्रहरी प्रवक्ता केसी भन्छन्, ‘जसमध्ये एउटा पीडितमा कानुनी उपचार खोज्ने चेतना बढ्नु र चेतनाकै कारण पीडित घटना लुकाएर नबस्नु हो । त्यस्तै, अस्वस्थ तवरले बढेको साइबर गतिविधिले पनि बलात्कारका घटना बढेका छन् । उमेर पुगेको होस् या नहोस्, सबैलाई साइबर संसारमा घुम्न स्वतन्त्रता छ । यसमा सबै गतिविधि राम्रा हुन्छन् भन्ने छैन । त्यसो हुँदा पनि यस्ता घटना बढ्न पुग्छन् ।’ 

बलात्कार घटनामा बालक पनि संलग्न 
कानुनतः १८ वर्षभन्दा कम उमेरकालाई नेपालको कानुनले बालिग मानेको छ । तर, बलात्कारका घटनामा १२ प्रतिशत पीडक १८ वर्षमुनिका रहेको तथ्यांकले देखाउँछ । चार वर्ष नौ महिनामा बलात्कार कसुरमा मुलुकभर ११ हजार तीन सय ८० अभियुक्त पक्राउ परेकामा १८ वर्षभन्दा कम उमेरका एक हजार तीन सय १२ जना छन् जुन ११.५२ प्रतिशत हुन्छ । बाँकी ८७.८३ प्रतिशत अर्थात् नौ हजार नौ सय ९६ अभियुक्त भने १८ वर्षभन्दा माथिका छन् । 

बलात्कारका ७१ प्रतिशत घटना परिचितबाटै 
बलात्कारका धेरै घटना परिचितबाटै हुने गरेका छन् । पक्राउ परेकाको तथ्यांक हेर्दा ७१ प्रतिशत पीडक परिचित नै भएको देखिन्छ । चार वर्ष नौ महिनामा १० हजार एक सय ३१ बलात्कारका घटनामा ११ हजार तीन सय ८० पक्राउ परेका छन् । अनुसन्धानका क्रममा प्रहरीले पीडित र पीडकको नाता–सम्बन्ध केलाउँदा आठ हजार एक सय ७६ जना अर्थात् ७१.८४ प्रतिशत अभियुक्त परिचित नै रहेको खुलेको छ । यसमध्ये पनि अधिकांश हाडनाताकै भएको प्रहरी बताउँछ । ‘बलात्कारका अधिकांश घटना परिचितबाटै हुने गरेको अनुसन्धानले देखाएको छ । बालिका बलात्कारका घटनामा नाता–सम्बन्धभित्रकै व्यक्ति संलग्न छन् । किनभने त्यस्ता व्यक्तिसँग बालिकाहरू बढी विश्वस्त हुन्छन् । त्यसैको फाइदा उठाएर अपराधीले बलात्कार गर्छन्,’ बलात्कारका घटना विश्लेषण गर्दै प्रहरी प्रवक्ता विष्णुकुमार केसीले भने । 

४५ महिनामा महिला आयोगमा यौन हिंसाका ८३० उजुरी
यौन तथा महिला हिंसाका घटना राष्ट्रिय महिला आयोगमा पनि दर्ता हुन्छन् । आयोगको तथ्यांकअनुसार पछिल्ला ४५ महिनामा मुलुकभरबाट यौन हिंसाका आठ सय ३० घटना दर्ता भएका छन् । यस्ता अधिकांश घटना आयोग आफैँले फस्र्योट गरेको छ । केहीलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाएको छ । त्यस्तै, यही अवधिमा घरेलु हिंसाका भने चार हजार पाँच सय १९ घटना दर्ता भएको महिला आयोगको तथ्यांक छ । कुटपिट, अंशबन्डा, माना–चामल, बहुविवाह, बोक्सीलगायत आरोपमा घरेलु हिंसा हुने गरेका छन् । आयोगका सूचना अधिकृत रोशन अर्यालले पछिल्ला वर्ष यौन तथा घरेलु हिंसाका घटना बढ्दै गएको बताए । ‘महिला आयोगमा विशेषगरी घरेलु हिंसाका घटना आउने हुन् । तर, यौन हिंसाका घटना पनि आयोगमा उत्तिकै आउने गर्छन् । यो दर पछिल्ला वर्ष बढेको छ । आयोगको पहुँचलाई विस्तार गर्ने हो भने उजुरीको दर अझ धेरै बढ्न सक्छ,’ उनले भने ।

बलात्कारका मुद्दामा हदम्यादको बहस

कानुन संशोधन गरेर हदम्याद बढाउन सरकारले पहल गर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारका मुद्दाको हदम्याद बढाउन सरकारले पहल गर्ने बताएका छन् । महिलासँग सम्बन्धित राष्ट्रिय मुद्दामा सरकारको ध्यानाकर्षण गराउन पुगेका कांग्रेस नेतृहरूसँगको छलफलमा उनले बलात्कारका मुद्दामा हदम्याद बढाउन आफू सकारात्मक रहेको जनाएका हुन् । 

‘तपाईंहरूले उठाउनुभएका सबै माग महत्वपूर्ण छन् । यसलाई पूरा गर्न सरकार प्रतिबद्ध छ । विशेषगरी बलात्कारका घटनामा हदम्यादका कारण कानुन कार्र्यान्वयनको पाटो कमजोर बनेको छ,’ महिला नेतृहरूको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले भने, ‘यसैकारण पीडितले न्याय पाउन नसक्ने अवस्थालाई मैले पनि महसुस गरेको छु । कानुन संशोधन गरेर हदम्याद बढाउन सरकारले पहल गर्नेछ ।’ 

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को नेतृत्वमा कांग्रेसका महिला केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई पाँचबुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् । उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए । 

कांग्रेस प्रमुख सचेतक पुष्पा भुसालले आफ्ना मागहरूबारे प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिइन् । उनका अनुसार ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कारका मुद्दामा हदम्याद बढाउन सरकार सकारात्मक रहको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्री देउवालाई भेट्नुअघि उनीहरूले सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनसमेत गरेका थिए । 

सेन्ट लरेन्सका शिक्षकबाट यौन दुर्व्यवहार प्रकरण : व्यवस्थापन र आन्दोलनरत विद्यार्थीबीच सातबुँदे सहमति 

शिक्षकबाट यौन दुर्व्यवहार भएको भन्दै आन्दोलित काठमाडौं चाबहिलस्थित सेन्ट लरेन्सका विद्यार्थी र व्यवस्थापन पक्षबीच सातबुँदे सहमति भएको छ । बुधबार विद्यालय व्यवस्थापन र विद्यार्थी प्रतिनिधिबीच सहमति भएको हो ।

विद्यालयमा अध्ययनरत छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्सका विद्यार्थी मंगलबारदेखि आन्दोलित थिए । उनीहरूले बुधबार पनि प्रहरी वृत्त गौशालाअगाडि प्रदर्शन गरेका थिए । यौन दुर्व्यवहारको अभियोगमा विद्यालयका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

दुई पक्षबीच यौन दुर्व्यवहारको अभियोगमा पक्राउ परेका दुई शिक्षकमाथिको अनुसन्धानमा विद्यालय प्रशासनले प्रहरीलाई सहयोग गर्ने, आन्दोलनमा घाइते विद्यार्थीको उपचार गर्ने, आन्दोलित र अन्य पीडित विद्यार्थीमाथि विद्यालय प्रशासनले विभेद नगर्नेलगायत सहमति भएको छ ।

प्रहरीको मध्यस्थतामा विद्यालय प्रशासन र विद्यार्थीबीच वार्ता भएको थियो । पक्राउपछि मंगलबार नै प्रहरीले दुवैविरुद्ध थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गराएको छ । अधिकारी र पौडेलविरुद्ध तीन छात्राले गौशाला प्रहरी वृत्तमा जाहेरी दिएका छन् ।