१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
देवराज अर्याल
२०७९ जेठ ११ बुधबार ०६:५५:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

स्थानीय निर्वाचनले दिएको पृथक् सन्देश

अहिलेको स्थानीय निर्वाचनले दिएको परिणाम बितेका पाँच वर्षमा बदलिएको नेपाली समाजको यथार्थ प्रतिबिम्ब हो

Read Time : > 4 मिनेट
देवराज अर्याल
२०७९ जेठ ११ बुधबार ०६:५५:००

कांग्रेसको विस्तार, एमालेको संकुचन : स्थानीय निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणतिर पुगेको छ । सात सय ५३ वटै पालिकाहरूको अन्तिम नतिजा आउन अब थप केही दिन पर्खिनुपर्छ । तथापि, अहिलेसम्म प्राप्त नतिजाले विभिन्न राजनीतिक दलहरूको हैसियत र आयतनको दृश्यलाई भने संकेत गरिसकेको छ । प्राप्त नतिजाका आधारमा सत्तारुढ कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा रहने पक्का भएको छ । त्यसपछि क्रमशः जसपा, एकीकृत समाजवादी र लोसपा रहने निश्चित भएको छ । 

प्रतिनिधिसभा निर्वाचनबाट पहिलो दल बनेको एमाले स्थानीय निर्वाचनपछि लगभग २८ देखि ३० प्रतिशतमा संकुचित भएको छ । यसैगरी, दोस्रो स्थानमा रहेको कांग्रेस ४२ देखि ४५ प्रतिशतको हाराहारीमा विस्तारित भएको छ भने माओवादी केन्द्रले १५ देखि १७ प्रतिशतको आकारमा आफूलाई स्थापित गरेको छ । उल्लेखनीय पक्ष के छ भने यो निर्वाचनको नतिजापश्चात् कांग्रेस पहिलो दलको हैसियतमा एक कदम माथि उक्लेको छ । बाँकी स्थानमा जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा र नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र स्वतन्त्र जनप्रतिनिधिको हैसियत प्रतिबिम्बित भएको छ । 

निर्वाचनमा जित र हार स्वाभाविक हो । राजनीतिक दलहरूले निर्वाचनको नजितालाई सहज रूपमा लिन सक्नुपर्छ । यसलाई सहज रूपमा लिन सकियो भने हार पनि जितका लागि अर्को यात्रा हुन सक्छ । जित पनि सधैँ स्थिर रहन सक्दैन । यद्यपि, जित र हारका पछाडि खास कारण र अर्थ भने रहेको हुन्छ । यस्तो कारण र अर्थ सम्बन्धित राजनीतिक दलहरूका लागि मात्र सरोकारको विषय हुँदैन । त्यसको असर र प्रभाव समग्र राष्ट्रिय जीवन, राजनीतिक व्यवस्था, जनता र स्थानीय परिघटनामा पनि गहिरो, दीर्घकालीन र अर्थपूर्ण रूपमा पर्छ । त्यसकारण संयमित रूपमा निर्वाचनको परिणामलाई वस्तुपरक ढंगले विश्लेषण गरी त्यसका आधारमा आगामी कार्यभारलाई कार्यान्वयनमा लैजान सक्नुपर्छ । वास्तवमा निर्वाचनले दिएका परिणामलाई परिहास र संयोगका रूपमा मात्र लिनु हुँदैन । यसलाई आफ्नो धरातलीय हैसियत थाहा पाउने अवसरका रूपमा लिनुपर्छ । उल्लेखनीय सवाल के हो भने हार र जितको नतिजापछि पनि सुधारका लागि ठीक ढंगले आत्मसमीक्षा एवं पुनर्विचार नगर्ने हो भने त्यसले भावी दिनमा पनि देश र जनताका लागि सकारात्मक उपलब्धि दिन सक्दैन ।

गठबन्धनको नतिजामा साझा हिस्सेदारी ः स्थानीय निर्वाचनको नतिजालाई विश्लेषण गर्दा प्रमुख प्रतिपक्षी दल एमालेको आकार खुम्चिएकोमा खुसी हुने मौका कतिपयले पाएका छन् । प्रतिस्पर्धाको राजनीतिक प्रणालीमा यो अस्वाभाविक पनि होइन । राजनीतिमा विरोधीलाई कमजोर बनाउन सक्नु पनि आफ्ना लागि बलियो शक्ति प्राप्त हुनु हो । यस आधारमा हेर्दा सत्ता गठबन्धनमा रहेका राजनीतिक दल– कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई वर्तमान निर्वाचनको नतिजाले निश्चित रूपमा राहत दिएको छ । त्यसमा पनि गठबन्धनको सबैभन्दा ठूला दल कांग्रेस र माओवादी केन्द्र अपेक्षाकृत बढी लाभान्वित भएका छन् ।

एक प्रकारले भन्दा गठबन्धनको औचित्यलाई पुष्टि गर्ने र सत्ता गठबन्धनलाई जनअनुमोदन गर्ने काम अहिलेको निर्वाचनले गरेको छ । यस अर्थमा गठबन्धनलाई फाइदा भएको छ । तर, लाभ गठबन्धनका दृष्टिकोणबाट विश्लेषण गर्दा मात्रको राहत हो । अगल–अलग दलको परिवेश र आधारबाट विश्लेषण गर्दा यो सापेक्ष हुन सक्दैन । किनभने, अन्तिम नतिजा फरक–फरक पार्टीको ढडियामा जम्मा हुँदा सो पार्टी ठूलो देखिए पनि यो गठजोडको साझा प्रयत्न र प्रयासमा आएको नतिजा हो । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीलाई प्राप्त भएको उपलब्धिमा सत्ता गठबन्धनमा रहेका सबै दलको साझा हिस्सेदारी रहेको छ । बरु, यसको तुलनामा एमालेले प्राप्त गरेको नतिजा उसको आफ्नै बलबुतामा आएको नतिजा हो । 

पुराना राजनीतिक शक्तिलाई चुनौती ः अहिलेको निर्वाचन परिणामलाई विश्लेषण गर्दा विशेषतः तीन–चारवटा पक्ष उल्लेखनीय रूपमा प्रकट भएका छन् । एमालेले तुलनात्मक रूपमा बढी क्षति व्यहोर्नुपरेको छ भने कांग्रेसलाई आशातीत रूपमा लाभ प्राप्त भएको छ । यसैगरी राजधानी रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारप्रतिको लोकप्रियता र ठूला दलप्रतिको वितृष्णा प्रकट भएको छ । उता मधेस प्रदेशमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीहरूको पकड खल्बलिएको छ । वास्तवमा स्थानीय निर्वाचनले दिएको यो परिणाम बितेका पाँच वर्षमा बदलिएको नेपाली समाजको यथार्थ प्रतिबिम्ब हो । यसबीच नेपाली जनताले भोगेको दुःख, कष्ट, सुख र चुनौती एवं अनुभवसँगै उनीहरूमा पलाएको चेतना, जागरुकता एवं भविष्यप्रतिको आशावादीतासँग जोडिएर आएको अभिमत हो अहिलेको निर्वाचन परिणाम । तसर्थ, निर्वाचनको नतिजालाई एकपक्षीय रूपमा विश्लेषण गरेर हल्का रूपमा लिनु हुँदैन । 

जनतामा राजनीतिक दल र तिनका नेतृत्वमाथि उत्पन्न वितृष्णा र अरुचिको प्रतिबिम्बन हो, काठमाडौं महानगरको नतिजा । दलहरूले समयमै जनताको निराशालाई व्यवस्थापन गर्न सकेनन् भने यसले समग्र राजनीतिक व्यवस्थाप्रति नै गम्भीर प्रश्न खडा गर्न सक्छ ।

लोकतन्त्रमा हरेक निर्वाचनमा आउने परिणामलाई राजनीतिक दलहरूले निष्पक्ष, सन्तुलित र वस्तुपरक भएर समीक्षा गर्न सक्नुपर्छ । निर्वाचन परिणामको सवाललाई समस्या, प्रश्न र विधिको तराजुमा राखेर निष्कर्षको खोजीमा प्रयत्न अगाडि बढाइयो भने त्यसले वास्तविक अर्थमा आगामी दिनका लागि समाधानको सूत्र भेट्टाउँछ । अन्यथा, सतही हिसाबले विश्लेषण गरियो भने अवस्था सामान्य देखिन पनि सक्छ । यतिवेला पनि भन्न थालिसकिएको छ, एमाले विभाजनका कारण घटुवामा परेको छ । त्यसैगरी कांग्रेसलाई गठबन्धनको राहत प्राप्त भएको छ । अनि युवालाई आकर्षित गर्न सकेकै कारण काठमाडौँमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अगाडि आएका हुन् । त्यसैगरी एउटै पार्टीका रूपमा रहेको तराईको पार्टी विभाजन भएको हुनाले उनीहरूले मधेसमा आशातीत रूपमा पकड कायम गर्न सकेनन् । तर, वास्तविकता यति मात्रमा सीमित छैन । उल्लिखित कारण र समस्यासँग जोडिएका अन्य धेरै परिघटना र सन्दर्भ जेलिएका छन् ।

राजनीतिक दलहरूप्रतिको वितृष्णा : यसपटक स्वतन्त्र रूपमा उम्मेदवारी दिएकाले विभिन्न पालिकामा विजय हासिल गरेका छन् । देशको राजधानी रहेको महानगरपालिका काठमाडौँ, जहाँ तुलनात्मक रूपमा शिक्षित र सचेत नागरिकको बसोवास छ, यहाँ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन्द्र साहले दलका आधिकारिक उम्मेदवारसँगै निकै फराकिलो अन्तरमा अग्रता कायम गरेका छन् । काठमाडौँका लागि हेवीवेट मानिएका एमालेका उम्मेदवार केशव स्थापित र प्रजातन्त्रका लागि निकै महत्वपूर्ण योगदान दिएका नेता गणेशमान सिंहको लिगेसी बोकेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पछाडि पार्दै बालेन्द्र साह निरन्तर अगाडि बढिरहेका छन् । वास्तवमा यो नतिजा राजधानीका युवाको रोजाइका कारण मात्र आएको होइन, यो नतिजाका पछाडि सबै उमेर समूहका मतदाताको अभिमत पनि अभिव्यक्त भएको छ । विगतमा जनप्रतिनिधिहरू आआफ्ना मतदाताप्रति जवाफदेही नहुनुको प्रतिफल त हुँदै हो, अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक व्यवस्थालाई यसको मर्मअनुसार सञ्चालन गर्न नसक्नुको योगफलका रूपमा अहिलेको परिस्थिति उत्पन्न भएको छ । यसलाई सबैले स्वाभाविक रूपमा लिन सक्नुपर्छ । राम्रो कामका लागि रचनात्मक सहयोग र साथ दिँदै अगाडि बढ्ने संस्कृति विकास गर्नुपर्ने हुन्छ । 

दलहरूका लागि आत्मसमीक्षा गर्ने अवसर : नेपाली जनताले देशमा सुशासन, विकास, नयाँ प्रविधिको उच्चतम प्रयोग, न्याय, सामाजिक सुरक्षा, रोजगारी र गुणस्तरीय जीवनको सुनिश्चितता चाहिरहेका छन् । खासगरी जनताको यस्तो चाहना २०६३ मा लोकतन्त्र स्थापना गर्दादेखि नै अभिव्यक्त भएको हो । तर, बितेको १६ वर्षमा व्यवस्थाको नामबाहेक, आर्थिक, सामाजिक र न्यायिक क्षेत्रमा आशातीत उपलब्धि हासिल हुन सकेको छैन । तर, राजनीतिक दलका नेताहरूको आर्थिक हैसियतमा भने जनताले कल्पना नगरेका प्रगति भएको छ । जसले गर्दा आमजनतामा नेताहरूको कार्यशैलीप्रति वितृष्णा उत्पन्न भएको छ । जनतामा राजनीतिक दल र तिनका नेतृत्वमाथि उत्पन्न वितृष्णा र अरुचिको प्रतिबिम्बन हो काठमाडौं महानगरको नतिजा । दलहरूले समयमै जनताको निराशालाई व्यवस्थापन गर्न सकेनन् भने यसले समग्र राजनीतिक व्यवस्थाप्रति नै गम्भीर प्रश्न खडा गर्न सक्छ ।

अहिले क्रियाशील ठूला मानिने सबै राजनीतिक दललाई जनताले शासन सञ्चालन गर्ने अवसर दिँदै आएका छन् । अझै पनि आमरूपमा राजनीतिक दलहरूप्रतिको विश्वास पूर्ण रूपमा खण्डीकृत भइसकेको छैन । लोकतन्त्रको भावना, मर्म र जनताको चाहनाअनुसार काम गर्ने हो भने राजनीतिक दलहरूप्रतिको जनविश्वास बलियो भएर आउँछ । अवसर भनेको सबैलाई सधैँ आइरहँदैन, जतिवेला अवसर आउँछ, सो समयमा इमानदार एवं जवाफदेही भएर देश, जनताका हितमा काम गर्नुपर्ने हुन्छ । विगतमा केही अपवादलाई छाडेर भन्दा कहीँ कतै कमजोरी भएकै छ । राजनीतिक दल, जनप्रतिनिधि र नेताहरूले त्यो कमजोरीलाई नदेखेजस्तो गरे पनि जनताको मनमा बसिरहेकै हुन्छ । यस्तो तीतो यथार्थलाई स्वीकार गरी सुधारका लागि खुला मनले अघि आउन अहिलेको निर्वाचन परिणामले दलहरूलाई घचघच्याएको छ ।