मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
रासस
२०७९ जेठ १० मंगलबार १२:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्याङ्जाको पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
रासस
२०७९ जेठ १० मंगलबार १२:३१:००

स्याङ्जाको पुतलीबजार नगरपालिकाले सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित मेयर तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका हुन् । रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भई पहिलो निर्णयको रूपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको मेयर रेग्मीले बताए । ‘स्याङ्जा जिल्ला अस्पतालमा डायलाइसिस सेवा विस्तार र ‘ब्लड बैंक’ स्थापनालाई पहिलो प्राथमिकतामा राखेर निर्णय गरिएको छ,’ नगरप्रमुख रेग्मीले भने, ‘सर्वसाधारणमा स्वास्थ्यको सहज पहुँचका लागि थालिएको अभियानलाई पूर्णता दिने गरी थालनी गरेका हौँ ।’

हाल सञ्चालनमा रहेको डायलाइसिस सेवालाई विस्तार र प्रभावकारी ढंगबाट सञ्चालन गर्ने, ‘ब्लड बैंक’ स्थापना गरी सहज रूपमा रगत उपलब्ध गराउने कार्यका लागि आर्थिक वर्ष ०७८–७९ को विपत् व्यवस्थापन कोषबाट रु. १० लाख निकासा गर्ने उनको भनाइ छ । 

डायलाइसिस सेवालाई विस्तार र थप प्रभावकारी बनाउन आवश्यक स्वास्थ्यकर्मी, बायोमेडिकल टेक्निसियन तथा पूर्वाधार निर्माण गरिने मेयर रेग्मीले बताए । 

जिल्ला अस्पतालमा हाल नियमित रूपमा १२ मिर्गौलाका बिरामीलाई  डायलाइसिस गरिँदै आएकामा त्यसलाई विस्तार गरी ४५ जनालाई सेवा उपलब्ध गराउने गरी आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्न लागिएको छ ।

सेवा थप विस्तार भएसँगै मिर्गौलाका बिरामीलाई डायलाइसिस गर्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुनाका साथै जिल्ला अस्पतालमा शल्यक्रियामार्फत हुने सुत्केरी सेवा र अन्य बिरामीलाई अत्यावश्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराएर रगतको अभावमा  अकालमै मृत्यु हुनबाट रोक्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखिएको छ । रासस