Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १० मंगलबार ०८:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

किसानका लागि ट्रयाक्टर खरिदमा  साढे १६ लाख अनियमितता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १० मंगलबार ०८:४८:००

किसानका लागि ट्रयाक्टर किन्दा १६ लाख ३५ हजार अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कर्मचारीसहित चारजनाविरुद्ध मुद्दा दायर गरेको छ । कस्टम हायरिङ सेन्टर र पोस्ट हार्भेस्ट सेन्टर स्थापनाका लागि तीनवटा ट्रयाक्टर खरिदमा अनियमितता भएको आयोगले जनाएको छ ।

आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ धानजोन कञ्चनपुरका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत टंकप्रसाद रिजाल, धानजोन सञ्चालक समितिका संयोजक दशरथ भण्डारी, परियोजना कार्यान्वयन एकाइ कार्यालय, महाकाली सिँचाइ आयोजनामा कार्यरत इन्जिनियर मोहनराम टेलर र दिनेश मोटर्स प्रालिका सञ्चालक राजीव हमालविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । 

ट्रयाक्टरको अस्वाभाविक बढी मूल्यांकन गरी बढी स्टिमेट बनाएर ६० एचपीको दुईवटा र ५० एचपीको एकसहित तीन ट्रयाक्टरको अस्वाभाविक बढी मूल्य कोटेसन गरेर १६ लाख ३५ हजार बढी मूल्यमा खरिद गरिएको आयोगले जनाएको छ । ट्र्याक्टर खरिद गर्ने परियोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत रिजालविरुद्ध अनियमितता भएबराबरकै बिगो कायम गरिएको छ । 

गुणस्तरहीन, म्याद नाघेको र अस्वाभाविक बढी मूल्य तिरी खरिद गरे/गराएको आरोपमा धानजोन सञ्चालक समितिका संयोजक तथा शुक्लाफाँटा कृषि सहकारी अध्यक्ष भण्डारीविरुद्ध पनि त्यति नै बिगो कायम गरिएको छ । आयोजनाको सम्भाव्यता अध्ययन वा नर्म्स तयार गर्दा पुस्ट्याइँको आधारविना अस्वाभाविक किसिमबाट बढी काम वा लागत देखाउने कसुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय कञ्चनपुर, महाकाली सिँचाइ आयोजनामा कार्यरत इन्जिनियर टेलरविरुद्ध पनि आयोगले सोही अंकको बिगो कायम गरी मुद्दा दायर गरेको छ ।