१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १० मंगलबार ०७:१६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्थानीय निर्वाचन परिणामबारे  गठबन्धनका दलहरूको समीक्षा 

Read Time : > 3 मिनेट
२०७९ जेठ १० मंगलबार ०७:१६:००
  • प्रदेश र संघीय निर्वाचनमा तालमेलको आधार तयार : कांग्रेस
  • सम्पूर्ण परिणामको समीक्षा नगरी अहिले नै भन्न सकिन्न : अन्य दल

पाँचदलीय सत्तागठबन्धनको नेतृत्व गरेको कांग्रेसले स्थानीय तहको निर्वाचनले प्रदेश र संघीय निर्वाचनमा पनि तालमेलको आधार तयार पारेको विश्लेषण गरेको छ । स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक रहेको भन्दै कांग्रेसले यसका बलमा आगामी निर्वाचनमा तालमेल सहज हुने प्रतिक्रिया दिएको छ । तर, गठबन्धनमा रहेका अन्य दलहरूले भने निर्वाचनको सम्पूर्ण परिणामको समीक्षा नभई यसबारे प्रतिक्रिया दिन नसकिने बताएका छन् । 

निर्वाचनपछि सोमबार पहिलोपटक पत्रकार सम्मेलन गरेको कांग्रेसले गठबन्धन गर्दा आएको परिणाम सन्तोषजनक रहेको जनाएको हो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अन्तिम समयमा तालमेलबारे निर्णय हुँदा यसको सन्देश मतदातासमक्ष पुर्‍याउन भएको कठिनाइले केही समस्या आए पनि समग्रमा तालमेल सफल भएको आफूहरूको निष्कर्ष रहेको सुनाए । 

‘समग्रमा निर्वाचन परिणामलाई सन्तोषजनक रूपमा लिएका छौँ । कांग्रेस मात्रले पनि धेरै ठूलो सफलता प्राप्त गरेको छ र सहयोगी दलहरूले पनि उल्लेख्य सफलता हासिल गरेका छन्,’ कांग्रेस प्रवक्ता महतले भने, ‘छोटो समयमा धेरै स्थानमा गठबन्धन भयो । समग्रमा हाम्रो लय मिलेको छ र एक–अर्कालाई सहयोग पुगेको छ । समग्रमा गठबन्धनको नेतृत्व खुसी छ । स्थानीय निर्वाचनको परिणामले आउने संघीय र प्रदेश निर्वाचनमा गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार तयार गरेको छ ।’

उनले निर्वाचन नतिजाले राजनीतिक स्थायित्व कायम गर्न, संघीयता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि हाल गठबन्धनमा रहेका दलहरूबीचको सहकार्य अझै आवश्यक रहेको पुष्टि भएको बताए । 

तर, गठबन्धनमा रहेका अन्य दलका नेताहरूले भने सम्पूर्ण परिणाम नआएसम्म औपचारिक धारणा बनाउन नसकिने प्रतिक्रिया दिएका छन् । माओवादी केन्द्रका नेता देव गुरुङले भने तालमेल सफल–असफल के भयो भन्न अझै समीक्षा भइनसकेको र समग्र परिणामपछि धारणा बनाउने बताए । ‘स्थानीय निर्वाचनबारे हामीले समीक्षा गरिसकेका छैनौँ । निर्वाचनको समग्र परिणाम आएपछि आधिकारिक धारणा ल्याउनेछौँ,’ उनले भने, ‘त्यसपछि मात्र अगाडिको विषय स्पष्ट हुन्छ ।’

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने अपेक्षाकृत नतिजा नआएको बताए । ‘गठबन्धन राम्ररी गर्न सकेको भए परिणाम अझै राम्रो आउन सक्थ्यो, सोचेजस्तो परिणाम आउन सकेन । तालमेल त भयो, तर सबै मत इमानदारीका साथ आएनन्,’ उनले भने, ‘गठबन्धन भएका दुई दलबीच पनि धेरै मतान्तर छ । मत बदर पनि धेरै भएको छ । अहिलेको अनुभवका आधारमा सबै पक्षको समीक्षा हुनु आवश्यक छ ।’ जसपा नेता नवराज सुवेदीले पनि सबै परिणामपछि मात्रै आधिकारिक धारणा बनाउने बताए । ‘निर्वाचनको परिणाम आउने क्रममा नै छ । हामी सबै परिणाम आएपछि मात्रै यसबारे समीक्षा गरेर धारणा बाहिर ल्याउनेछौँ,’ उनले भने । केन्द्रबाट तालमेल भए पनि जसपाले जनकपुरको मेयर र विराटनगर महानगरपालिकाको उपमेयरमा जित निकाल्न सकेन । 

सत्तागठबन्धनमा रहेका दलहरूबीच केन्द्रबाट ६ महानगर र ११ उपमहानगरमा तालमेलको निर्णय भएको थियो । अन्य तालमेल जिल्लाअनुसार भएको थियो । महानगर र उपमहानगरमा गठबन्धनले अपेक्षित नतिजा हासिल गरेको छैन । कैयौँ ठाउँमा मत क्रस भएका छन् । 

पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताहरूले स्थानीय निर्वाचनका लागि गरिएको तालमेल समग्रमा सफल भएको प्रारम्भिक निष्कर्ष निकालेका छन् । निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि तालमेलबारे ठोस समीक्षा गर्ने शीर्ष नेताहरूको योजना छ ।

शनिबार र आइतबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा चुनावबारे प्रारम्भिक समीक्षा भएको र सबै नतिजा आएपछि विश्लेषणसहित समग्र मूल्यांकन हुने एक नेताले बताए । ‘प्रारम्भिक रूपमा तालमेल सफल भएको निष्कर्ष छ । पूर्ण समीक्षा भने सबै मतपरिणाम आएपछि मात्रै आउनेछ,’ बैठकमा सहभागी एक 
नेताले भने । 

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तालमेल मूल रूपमा सफल भएको बताएका छन् । मध्यपुर थिमि नगरपालिकामा पाँचदलीय गठबन्धनका तर्फबाट विजयी उम्मेदवारलाई शनिबार बिहान आफ्नै निवास खुमलटारमा बधाई दिँदै प्रचण्डले गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका थिए । 
‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो । मूलभूत रूपमा गठबन्धन सफल भएको हो । हामी यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने संकल्प हो । यसमा हामी गठबन्धनका दलहरू दृढ छौँ,’ प्रचण्डको भनाइ थियो । 

त्यसैबीच कांग्रेसले स्थानीय निर्वाचनमा अन्तर्घात हुँदा पार्टीलाई क्षति भएको र सम्पूर्ण निर्वाचनपछि यसको समीक्षा हुने बताएको छ । तालमेल गरिएका उम्मेदवारलाई मतदान नगर्ने र कांग्रेस मात्रैको उम्मेदवार रहेको स्थानमा पार्टीभित्रैबाट अन्तर्घात भएको कांग्रेसको भनाइ छ । ‘यो निर्वाचनमा पनि कांग्रेसमा अन्तर्घातको समस्या रह्यो । अन्यथा हामीले चार सयनजिक जित हात पार्न सक्थ्यौँ,’ प्रवक्ता महतले भने, ‘विभिन्न ठाउँमा अन्तर्घात भएको सूचना आइरहेका छन् । सबै परिणाम आइसकेपछि व्यापक समीक्षा गरिनेछ ।’

काठमाडौं महानगरको परिणाम अपवाद : कांग्रेस
प्रकाशशरण महत प्रवक्ता, कांग्रेस

कांग्रेसले काठमाडौं महानगरमा दलहरू कमजोर हुनुमा एमाले अध्यक्ष केपी ओलीका काम र अभिव्यक्तिलाई जिम्मेवार ठहर्‍याएको छ । कांग्रेस प्रवक्ता डा. महतले ओलीको घानमा कांग्रेस पनि परेको आरोप लगाए । ‘केपी ओलीका गतिविधिका कारण जनतामा नैराश्यता बढेको छ । त्यो विकृतिको घानमा कांग्रेससमेत परेको छ,’ डा. महतले भने ।

उनले काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले पाएको मत अपवादको विषय रहेको र यसैलाई हेरेर दल असफल भएको मान्न नहुने बताए । तर, कांग्रेसलाई ‘नोटिस’मा लिएर समीक्षा गर्ने प्रवक्ता डा. महतले बताए । ‘निर्वाचनमा अपवाद जहिले नै हुन्छ । केही अपवादलाई लिएर पार्टीहरू र कांग्रेस असफल भयो भन्न सकिँदैन । काठमाडौं महानगरमा जे देखियो । त्यसलाई हामी हेर्नेछौँ । युवाहरू किन असन्तोष छन्, त्यसमा कांग्रेसले सोच्नेछ,’ उनले भने, ‘केही ठाउँमा अपवादका रूपमा आउँदैमा कांग्रेस र पार्टीहरू नै सकिए भन्न मिल्दैन । हामी यसबाट सिक्नेछौँ । हामीले यसलाई नोटिस गरेका छौँ ।’