मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रकाश लामिछाने
२०७९ जेठ १० मंगलबार ०७:००:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विकल्पमा बारम्बार बालेन

काठमाडौंवासीको वैकल्पिक जनमतले हालसम्म नेता जन्माएको छैन । बालेनको उदयले काठमाडौंलाई दुर्घटनामा जानबाट रोकोस् ।

Read Time : > 2 मिनेट
प्रकाश लामिछाने
२०७९ जेठ १० मंगलबार ०७:००:००

जनमतको सम्मान गर्नुपर्छ तर सामाजिक मनोविज्ञानलाई पूजा गर्नुपर्छ भन्ने जरुरी छैन । काठमाडौँका जनता एकदमै मिहिनेत गरेर सोच्छन्, परिवर्तन चाहन्छन् तर उनीहरूको कल्पनाले उपाय निर्माण गर्न सक्दैन । त्यसपछि विकल्प छान्छन्, अनि ध्वाँस फेर्छन् ।उनीहरू उपाय जन्माउन सक्थे र भन्न सक्थे, मिस्टर महोदय ! हाम्रा घरगल्ली साँघुरा भए, मुख्य सडक र त्यहाँ बनेका भवनमा पार्किङ छैन, नयाँ बानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तल भोलि जमिनमुनि बन्ने सहरी रेल निर्माणको सम्भावनालाई नमारीकन तीन तला अन्डरग्राउन्ड पार्किङको सम्भावना अध्ययन गर्दा के होला ?

हाम्रा ठमेल, पुतलीसडक र न्युरोडजस्ता ठाउँले अव्यवस्थित भिड धाम्न सकेनन् । भृकुटीमण्डप, लैनचौरआसपासका ठूला र खुला स्थानमा केही सहरी संरचना सोचौँ । बरु त्यहाँ आसपासका ठूला शैक्षिक संस्थालाई अलि पर लैजाऊँ, जहाँ फराकिलो जग्गा होस् । उनीहरूले भन्न सक्थे– फोहोरी राजनीति नगर । फोहोर त हाम्रो सहरको परिचय हो । फोहोर व्यवस्थापन नारा र एजेन्डा मात्र फ्याँकेर हुन्न, सक्छौ भने हाम्रो भान्सामा फोहोर वर्गीकरण गर्न मिल्ने डस्टबिन खोजेर उपलब्ध गराऊ । 

धेरैजसो यिनीहरू खासमा माटोका व्यापारी हुन् । यिनको समृद्धि, सुख र सन्तानको भविष्यको आधार नै जमिन हो । बसाइँसराइ तथा जीवनशैलीको फरक अनुभूति गर्ने तीव्र मानवीय इच्छाले हाम्रो देशका विभिन्न कुनाबाट मान्छेहरू यहीँ थुप्रिन्छन् । अवसर तथा अध्ययनको सिलसिलामा सबैले यहाँ डेरा जमाइरहेका छन् । यिनीहरूको सहर यति ध्वस्त भइसकेको छ कि सबैलाई यहाँ भित्रभित्र हतार भइरहेको छ । हतार भएको यिनीहरूका नेताले पनि बुझ्छन् । यिनीहरूको दिमागको बत्ती बाल्न ‘अटेन्सन सिकिङ पोटेन्सियल’ भरपूर उपयोग गर्दै उनीहरू बोल्दिन्छन्, पानीजहाज चल्छ, रेल कुद्छ, भान्सा–भान्सामा ग्यास पाइप पुग्छ अब । यिनीहरू झसंग हुन्छन् । त्यसपछि यिनीहरू कुरा–कोरल्न थाल्छन् ।

यिनका नेताको उद्देश्य नै यिनलाई झसंग पार्नु र कुरा सुनाएर कुरा–कोरल्न लगाउनु मात्र हुन्छ । भन्दिन्नन् उनीहरू यो दीर्घकालीन रणनीतिक उद्देश्य हो, दशकबढी समय लाग्छ बनाउन । समय लाग्छ भन्यो भने यिनीहरूले फेरि बाल दिन्नन् । अनि बालेन आउँछन्, यिनीहरूलाई फुटेज फ्याँक्छन, एक किमि रेलमार्ग निर्माण गर्न १० अर्बभन्दा बढी लाग्छ । र, टनेल खन्ने मेसिनले एक दिनमा दुई–पाँच मिटरबाहेक सुरुङ खन्नै सक्दैन । १५ वर्ष लाग्छ समय त । अनि बल्ल यिनलाई कुरा ठीकै हो भन्ने लाग्छ ।

नेपालका मुख्य राजनीतिक दलमा क्षमतावान् युवा नभएका होइनन्, छन् । तर, हाम्रो राजनीतिले उनीहरूलाई सीधै समाजको चाबी दिनु दुर्घटनाको कारण मान्छ ।
 

नेपालका मुख्य राजनीतिक दलमा क्षमतावान् युवा नभएका होइनन्, छन् । तर, परिपक्व भइसकेका छैनन् । हाम्रो राजनीतिले उनीहरूलाई यसरी सीधा समाजको चाबी दिनु दुर्घटनाको कारण मान्छ । उनीहरूलाई भन्छ– यो जिम्मेवारी त समाजको जहाज हो, बाबु ! सीधा परीक्षण सम्भव हुन्न, पहिले सिक्नुपर्छ, बुझ्नुपर्छ, प्रशिक्षित हुनुपर्छ, प्रमाणित हुनुपर्छ अनि को–पाइलट सिटमा बसेर केही समयको व्यावहारिक अनुभव हासिल गरेपछि मात्र पाइलट हुन्छौ तिमी । त्यसपछि चाबी पाउँछौ । ती युवा मान्दैनन् तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इतिहास र अभ्यास, देखाइन्छ, पढाइन्छ, व्यावहारिकता बुझाइन्छ । 

हाम्रोमा पो यो तेस्रो, चौथो मेयर–इलेक्सन भइरहेको छ । संसारले दुई शताब्दीदेखि आफू सबै हिसाबले पूर्ण बनेर मेयर चुनिरहँदा पनि आफ्नो बुद्धि र विवेकबाट मात्र चयन प्रक्रिया वैज्ञानिक नभएर, एउटा स्थापित विधि र प्राणालीको आधार लिइरहेको छ । अधिकजसो देशले अहिले अफ्रिकाको सफल अभ्यास र शासनप्रणालीका आधारमा आफ्नो स्थानीय निकायका प्रमुख छानिरहेका छन् । त्यहाँ प्रतिस्पर्धा उम्मेदवारबीच हुँदैन । उनीहरू र उनीहरूका दलले आफ्नो स्थानीय सरकार सञ्चालनका लागि निर्माण गरेको योजना हेरेर भोट दिइन्छ । हाम्रा देशका विदेश बस्नेहरू खुब बाठा हुन्छन्, सबैलाई विदेशबाटै भोट हाल्न सिकाउँछन् । तर, यस्ता कुरा किन सिकाउँदैनन् होला ? 

बालेनलाई नेपाली समाजमा आफूलाई कसरी सेलिब्रेटीको रूपमा उभ्याउने भन्ने पूर्वाभ्यास र अनुभव छ । मिडियाले, प्रश्न गर्छ, उनी धेरै बोल्न खोज्दैनन्, तर्कन्छन् । पत्रकार साथीहरू चुप बन्नुहुन्छ । दर्शकलाई क्या ‘क्युट’ लाग्छ । राजनीतिक दलका नेता भइदिएका भए उनीहरूले भन्ने थिए– अस्तिसम्म चप्पल लगाएर हिँड्नेको बढी दम्भ ! प्रश्नबाट भाग्न पाइँदैन । निर्वाचनअघि अरू बोले सक्किए, बालेन बोलेनन्, अगाडि बढे ।

भनिन्छ, स्रोत र साधनको अभावमा नेतृत्व हुर्किंदैन, बहुत मुस्किल हुन्छ । काठमाडौँका जनता कसैलाई पनि स्रोत र साधनको अभाव छैन । यिनीहरू नेता जन्माउन सक्थे, नेता हुर्काउन सक्थे, तर विकल्पमा बारम्बार बालेन जन्माउँछन् । काठमाडौँवासीको वैकल्पिक जनमतले हालसम्म नेता जन्माएको छैन । बालेनको उदयले काठमाडौँलाई दुर्घटनामा जानबाट रोकोस् ।