मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १० मंगलबार ०६:३२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्यास उद्योग विस्फोटमा छानबिन समितिको निष्कर्ष : प्राविधिक र मानवीय त्रुटिका कारण दुर्घटना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १० मंगलबार ०६:३२:००

८ वैशाखमा ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन ग्यास उद्योगको प्लान्टमा विस्फोट हुनुमा प्राविधिक र मानवीय त्रुटि रहेको छानबिन समितिको निष्कर्ष छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय छानबिन समितिले प्राविधिक र मानवीय त्रुटिका कारण दुर्घटना भएको निष्कर्ष निकालेको हो । समितिले कम चाप वहन क्षमताको पुरानो र कमजोर सिलिन्डरमा बढी प्रेसर ग्यास भर्दा विस्फोट भएको प्रतिवेदन सोमबार उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूलाई बुझाएको छ । पाटन औद्योगिक क्षेत्र, ब्लक नम्बर बी–१५ मा सञ्चालित उद्योगमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा दुई श्रमिकको ज्यान जानुका साथै पाँचजना घाइते भएका थिए । 

‘आवश्यक परीक्षण नगरी कम चाप वहन क्षमताको पुरानो र कमजोर सिलिन्डरमा बढी प्रेसरको ग्यास भर्दा विस्फोट भएको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ । समितिले अक्सिजन ग्यास उद्योग सञ्चालक र सरकारी नियमनकारी निकायमाथि पनि प्रश्न उठाएको छ । विस्फोट भएको सिलिन्डर कम्तीमा १० वर्ष पुरानो रहेको तथा उद्योग व्यवस्थापकको असावधानी देखिएको छानबिन समितिका एक सदस्यले बताए । 

उनले भने, ‘खाना पकाउने एलपी ग्यासको मापदण्ड छ । तर, यस्ता (अक्सिजन) उद्योगको मापदण्डसमेत रहनेछ । मापदण्ड नबनेकाले गुणस्तरको अनुगमन नभएको मान्न सकिन्छ । तर, प्लान्टको अवस्था के छ भनेर पनि अनुगमन भएको पाइएन, यसमा नियामक निकाय पनि दोषी देखिए ।’ नियामक निकाय उद्योग विभाग र नापतौल तथा गुणस्तर विभाग हुन् । समितिले अक्सिजन ग्यास उद्योगको मापदण्ड बनाउन पनि सरकारलाई सिफारिस गरेको छ । प्रतिवेदन बुझ्दै मन्त्री बडूले अध्ययन समितिले गरेको सिफारिस र सुझावलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

चेकजाँच र मर्मतपछि मात्रै सगरमाथालाई पुनः सञ्चालनको अनुमति दिन सुझाव 
समितिले विस्फोटपछि हाल क्षतिग्रस्त अवस्थामा बन्द रहेको सगरमाथा अक्सिजनको आवश्यक चेकजाँच र मर्मतपछि मात्र पुनः सञ्चालनको अनुमति दिन सुझाएको छ । ‘सिलिन्डर विस्फोटबाट  उद्योगको फिलिङ प्लान्ट र अन्य भौतिक संरचनासमेतमा क्षति भएकाले सुरक्षित भौतिक संरचना निर्माण गरी अक्सिजन प्लान्टको पूरै चेकजाँच तथा आवश्यक मर्मत गराएर मात्र उद्योग सञ्चालन गर्ने,’ प्रतिवेदनमा भनिएको छ । त्यसका लागि श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ बमोजिम अनुमति लिनुपर्ने भनिएको छ । उद्योगमा कार्यरत कामदारमा न्यूनतम प्राविधिक योग्यता र तालिम नभएको पाइएको छ । समितिले अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर र अक्सिजन उत्पादनसँग सम्बन्धित सैद्धान्तिक तथा व्यावहारिक ज्ञानसीपयुक्त जनशक्तिबाट मात्र उद्योग सञ्चालन गर्न भनेको छ ।

फिलिङका लागि प्रयोग हुने अक्सिजन सिलिन्डरको नियमित गुणस्तर परीक्षण गर्न पनि सुझाव दिइएको छ । नारायणदत्त तिमल्सिना सञ्चालक रहेको सगरमाथाले अक्सिजनसँगै नाइट्रोजन लिक्विड र ग्यास उत्पादन गर्दै आएको छ । यो उद्योग २७ असार ०७२ मा उद्योग दर्ता भए पनि कामदारको बिमा नगरिएको छानबिन प्रतिवेदनमा उल्लेख छ, जबकि ३५ जना कामदार छन् ।