१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७९ जेठ १० मंगलबार ०६:२१:००
Read Time : > 8 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भत्किए कांग्रेस–एमालेका ‘किल्ला’

Read Time : > 8 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७९ जेठ १० मंगलबार ०६:२१:००

यस निर्वाचनबाट बालेन साह, गोपी हमाल, हर्क साम्पाङजस्ता स्वतन्त्र उम्मेदवार मात्रै उदाएनन्, प्रमुख दलका गढ पनि ढलेका छन्

  • ०५४ को स्थानीय निर्वाचनदेखिको गढ बुटवल पनि एमालेले जोगाउन सकेन
  • महाकालीपारिको दोधारा–चाँदनीमा ३० वर्षपछि एमालेले झन्डा गाड्यो
  • ओलीको गृहनगरमै जोगिएन एमालेको तीन दशक पुरानो बिरासत
  • स्याङ्जाको वालिङ नगरपालिमा एमालेले भत्कायो कांग्रेसको गढ
  • बाँकेको कोहलपुरमा ०५१ देखिको एमाले शक्ति कांग्रेस एक्लैसँग हार्‍यो
  • नुवाकोटको विदुरमा पनि ढल्यो एमालेको तीन दशकदेखिको किल्ला

ठूला महानगरसहित केही तहबाहेक सबैजसो स्थानीय तहको अन्तिम नतिजा आएको छ । यस निर्वाचनबाट काठमाडौंमा बालेन साह, धनगढीमा गोपी हमाल, धरानमा हर्क साम्पाङ राईजस्ता स्वतन्त्र उम्मेदवार मात्रै उदाएनन्, प्रमुख दलका गढ पनि ढलेका छन् । ०७४ को निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको एमाले फराकिलो अन्तरसहित दोस्रोमा खुम्चिएको छ, सँगै ०४९–०५४ देखि एकछत्र जित्दै आएका ‘गढ’ समेत गुमाएको छ ।

यद्यपि, पाँचदलीय सत्तागठबन्धनसँग लगभग एक्लै भिडेको एमालेले कांग्रेसका केही ‘किल्ला’ पनि भत्काएको छ । सबै महानगरपालिका र उपमहानगरपालिका तथा केही नगरपालिका र गाउँपालिकामा सत्तारूढ पाँच दलले गठबन्धन बनाएर एमालेविरुद्ध उम्मेदवारी दिएका थिए । तर, दलहरूभित्रको आन्तरिक असन्तुष्टि र बागी उम्मेदवारका कारण गठबन्धनका शीर्ष नेताले सोचेजस्तो कार्यान्वयन भएन । तालमेल आंशिक कार्यान्वयन हुँदा पनि एमालेले भने ठूलो क्षति व्यहोर्नुपरेको छ । 

एमालेले गुमायो ३० वर्षदेखिको ‘किल्ला’ हेटौँडा    

एमाले गढ भत्काएपछि हेटौँडामा निस्किएको पाँचदलीय गठबन्धनको विजयी र्‍याली 

०४९ देखि ०७४ सम्म कांग्रेस एक्लै वा गठबन्धन बनाएर चुनाव लड्दा पनि हेटौँडामा एमालेलाई हल्लाउन सकेको थिएन । तर, ३० वर्षपछि यसपालि एमालेले हेटौँडा उपमहानगरको नेतृत्व गुमाएको छ । एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादी पार्टी जसलाई एमाले अध्यक्ष केपी ओलीले चानचुने आँटेका थिए, उही दलको उम्मेदवारले एमाले ‘गढ’मा झन्डा गाडेकी छिन् । कांग्रेस र माओवादीको साथ पाएकी एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले एमालेका अनन्तप्रसाद पौडेललाई दुई हजार एक सय ६७ मतान्तरले पराजित गरेकी हुन् । त्यस्तै, उपमेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार राजेश बानियाँले एमालेकै सुमित्रा काफ्लेलाई आठ हजार ६ सय ८४ मतान्तरले हराए । ३० वर्षदेखि यहाँ एमालेले नै मेयर र उपमेयर जित्दै आएको थियो ।

०४९ को स्थानीय निर्वाचनमा तत्कालीन हेटौँडा नगरपालिका छँदा एमाले र कांग्रेस एक्लाएक्लै चुनावी मैदानमा थिए । एमालेबाट मेयरका उम्मेदवार डोरमणि पौडेल र उपमेयरका उम्मेदवार हरिबहादुर महतसँग भिडाउन कांग्रेसले क्रमशः ईश्वर अधिकारी र इन्द्रबहादुर श्रेष्ठलाई मैदानमा उतारेको थियो । तर, एमालेकै उम्मेदवार विजयी भए । 

एमालेलाई ठेगान लगाउन कांग्रेसले ०५४ मा राप्रपासँग गठबन्धन गर्‍यो । राप्रपाका दीपकबहादुर सिंहलाई मेयरमा उठाएर आफ्ना नेता शम्भु भट्टराईलाई उपमेयरको उम्मेदवार बनाएको कांग्रेस फेरि असफल भयो । एमालेबाट ०४९ मै निर्वाचित पौडेल र महत दोस्रो कार्यकालका लागि हेटौँडाको नेतृत्वमा आए ।

०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस माओवादीसँग मिलेर एमालेसँग भिड्न उत्रियो । त्यतिवेला हेटौँडा उपमहानगरपालिका बनिसकेको थियो । कांग्रेस आफ्ना नेता आनन्दराम पराजुलीलाई मेयर र माओवादीका बलराम बललाई उपमेयरको उम्मेदवार बनाएर निर्वाचनमा होमियो । तर, उनीहरू एमालेका उम्मेदवार क्रमशः हरिबहादुर महत र मीनाकुमारी लामासँग पराजित भए । महत त्यसअघि दुई कार्यकाल उपमेयर बनिसकेका थिए । लामा व्यक्तिगत रूपमा हेटौँडामा राम्रो छवि बनाएकी नेतृ थिइन् । 

एमाले फुट्दा एकीकृत समाजवादीतिर लागेकी उनै लामालाई गठबन्धनबाट उम्मेदवार बनाएर कांग्रेस यसपालि एमालेको ‘गढ’ भत्काउन सफल भएको छ । लामाले हेटौँडाको पहिलो महिला मेयरको इतिहास पनि बनाएकी छिन् । उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित भएकाले कांग्रेस पनि हेटौँडाको नेतृत्वमा पुगेको छ । 

बुटवल ‘गढ’ जोगाउन पनि एमाले असफल 
बुटवल उपमहानगरपालिका पनि एमालेकै ‘गढ’ थियो । ०५४ र ०७४ को निर्वाचनमा एमालेले बुटवलमा निकालेको सानदार जितले अन्य दल झस्किने अवस्था थियो । तर, यसपालि यहाँ पनि एमालेको दबदबा खलबलियो । राष्ट्रिय जनमुक्ति पार्टीसँग गठबन्धन गरेर मैदानमा उत्रिएको एमाले सत्तागठबन्धनसँग मेयरमा भारी मतान्तरले पराजित भयो । सत्तागठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका खेलराज पाण्डेयले एमालेका बाबुराम भट्टराईलाई सात हजार पाँच सय ३१ मतान्तरले हराएका हुन् । उपमेयरमा भने एमालेकी सावित्रीदेवी अर्यालले एकीकृत समाजवादीका चीनबहादुर गुरुङलाई आठ हजार ३८ मतान्तरले पराजित गरेकी छिन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रसमेत रहेको बुटवल उपमहानगरको मेयरमा मात्रै होइन, ११ वडा पनि कांग्रेसले जितेको छ । ०७४ मा १६ वडा जितेको एमाले यसपालि पाँच वडामा खुम्चिन पुगेको छ । जब कि वडा तहमा पूर्ण गठबन्धन थिएन । केही वडामा कांग्रेस र माओवादीले मात्रै तालमेल गरेका थिए । एमालेले भने राष्ट्रिय जनमुक्ति पार्टीसँग वडातहसम्म नै तालमेल गरेको थियो । सत्तागठबन्धनबाट माओवादी र एकीकृत समाजवादीले एक–एक वडा जितेका छन् । एउटा वडामा कांग्रेसका बागी उम्मेदवारले जितेका छन् । सत्तागठबन्धन दलले सबै वडामा तालमेल गरेका हुन्थे भने एमालेले १० र १४ नम्बर वडा मात्रै जित्ने मतपरिणामले देखाएको छ । 

स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरको मेयरमा निर्वाचित गोपाल हमाल विजयी र्‍यालीमा

एमाले विभाजनपछि राजु गुरुङसहितका नेताहरू एकीकृत समाजवादीमा लाग्दाको असर निर्वाचनमा देखिएको चर्चा बुटवल एमालेमा चल्न थालेको छ । त्यस्तै, प्रदेश राजधानी बुटवलमा कायम गर्न नसक्नु तथा सडक, फोहोर, खानेपानी, सुकुमबासीलगायत व्यवस्थापनमा पार्टी चुकेको एमालेकै नेताहरू बताउने गरेका छन् । 

ओलीको गृहनगरमै जोगिएन एमालेको तीन दशक पुरानो बिरासत
एमाले अध्यक्ष केपी ओलीले भक्तपुरमा व्यवसायी दुर्गा प्रसाईंले खोलेको तरकारी बजार उद्घाटन गर्दै १६ चैतमा भनेका थिए, ‘एउटा तराजुमा एक–एक केजीका पाँचवटा ढक एकातिर राख्नुभयो, अर्कोतिर क्विन्टलको ढक राख्नुभयो भने के हुन्छ ? एमाले क्विन्टल हो, गठबन्धन एक–एक किलोका ढक हुन् । त्यो पाँच दलको गठबन्धनले के गर्छ ?’ 

त्यसको ठीक १५ दिनपछि भएको मतदानको नतिजाले ओलीकै गृहनगर झापाको दमक नगरपालिकामा एमालेको तीन दशक पुरानो बिरासत ढल्यो । प्रजातन्त्र पुनस्र्थापनापछि एमालेले बनाएको ‘लालकिल्ला’ यसपालि कांग्रेस, माओवादी र राप्रपाबीच भएको गठबन्धनले भत्काइदियो । गठबन्धनबाट मेयरका साझा उम्मेदवार राप्रपाका रामकुमार थापाले एमाले उम्मेदवार गीताकुमारी पौडेल अधिकारीलाई पाँच सय ५९ मतान्तरले पराजित गरेका हुन् । 

दमकमा हारको इतिहास बनाएका थापाले जितको इतिहास बनाएको एमालेलाई यसपटक हार चखाए । ०४९ को स्थानीय निर्वाचनमा एमालेका इन्द्र बुढाथाेकी मेयरमा विजयी भएका थिए । ०५४ र ०७४ को निर्वाचन भने लगातार रोमनाथ ओलीले जितेका थिए । थापा ०५४ मा ६ सय ३७ र ०७४ मा तीन हजार एक सय ५१ मतको अन्तरले मेयरमा ओलीसँग पराजित भएका थिए । उपमेयरमा गठबन्धनकै उम्मेदवार कांग्रेसकी रेगिना भट्टराईले एमालेका अम्बिकाप्रसाद खनाललाई चार सय ९८ मतान्तरले जितिन् । मेयरमा पराजित अधिकारी यसअघि दमकमा उपमेयर थिइन् । 

दोधारा–चाँदनीमा एमालेले तोड्यो तीन दशकदेखिको कांग्रेसको राज
एमालेले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा तीन दशकदेखिको कांग्रेसको राज तोडेको छ । ०४९ र ०५४ मा साबिकका दोधारा र चाँदनी गाविसमा कांग्रेस विजयी भएको थियो । ०७४ मा दुई गाविस जोडेर बनेको दोधारा–चाँदनी नगरपालिकाको मेयरमा पनि कांग्रेसकै वीरबहादुर सुनार निर्वाचित भएका थिए । तर, यसपालि एमालेका उम्मेदवार किशोर लिम्बूले कांग्रेसका गोपाल भट्टराईलाई नौ सय ३३ मतले हराएका छन् । उपप्रमुखमा भने कांग्रेसकै गंगा जोशी निर्वाचित भएकी छिन् । उनले एमालेकी खिमा चन्दलाई पाँच सय ४३ मतको अन्तरले हराएकी हुन् । 

कोहलपुरमा कांग्रेस एक्लैसँग हार्‍यो ०५१ देखिको एमाले शक्ति
बाँकेको कोहलपुर गाविस हुँदादेखि नै एमालेले जितेको थियो । ०५१ र ०५४ मा गाविस अध्यक्ष जितेका एमालेका लुटबहादुर रावतले ०७४ मा कोहलपुर नगरपालिका बनेपछि पनि मेयर जिते । ०७४ मा कांग्रेसका भानुभक्त भट्टराईलाई मात्र ८३ मतले पराजित गरेका थिए । 

तर, यसपालि एमालेको शक्तिमा धावा बोलेका कांग्रेस युवा नेता पूर्णप्रसाद आचार्यले जितसमेत निकाले । थारू बाहुल्य कोहलपुरमा यही समुदायको मत निर्णायक मानिन्छ । विजय गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) समाहित भएपछि कोहलपुरमा कांग्रेसले शक्ति फर्काएको थियो । ०७४ मा फोरम (लोकतान्त्रिक)का फुलाराम थारूले दुई हजार तीन सय तीन मत ल्याएका थिए । उता, माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेपछि एमाले भने कमजोर बनेको थियो । 

यसपालि कांग्रेस र एमाले एक्लाएक्लै भिडेकामा कांग्रेसका आचार्यले मेयरमा एमालेका खिलप्रसाद भुसाललाई एक हजार नौ सय २९ मतान्तरले हराए । उपमेयरमा पनि कांग्रेसकै संगीता सुवेदी एमालेकी अस्मिताकुमारी थारूसँग पाँच सय ५६ मतान्तरले विजयी भइन् । वडामा पनि एमाले खुम्चिएको छ । ०७४ मा सात वडा जितेकोमा यसपटक चारवटामा सीमित भएको छ । नगरमा रहेका १५ वडामध्ये नौवटा कांग्रेस र दुईवटा माओवादीले जितेका छन् । 

निवर्तमान मेयर रावतले मुक्त कमैया र सुकुमबासीको माग सम्बोधन नगरेका कारण पनि मतदाता कांग्रेसतर्फ आकर्षित भएको स्थानीय विश्लेषण छ । उनले बसाइँसराइ दर्ता नगरिदिएको भन्दै कोहलपुर– ११ स्थित सुकुमबासी बस्तीका करिब पाँच सय परिवारले नगरपालिकाको मूलगेटमा एक हप्तासम्म धर्ना दिएका थिए । त्यसो त मेयर र उपमेयरको टिकट वितरणलाई लिएर पनि असन्तुष्टि बाहिरिएको थियो । 

कांग्रेसको किल्लामा २५ वर्षपछि एमाले

सुर्खेतको भेरीगंगा नगरपालिकामा कांग्रेसको गढ भत्काएपछि एमालेले निकालेको विजयी र्‍याली 

सुर्खेतको भेरीगंगा नगरपालिका र चिङगाड गाउँपालिका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्रमा पर्छन् । ०५४ यता एकछत्र जित निकालेको कांग्रेस यी पालिकामा यसपालि गठबन्धन गर्दा पनि एमालेसँग पराजित भएको छ । ०७४ मा कांग्रेसले जितेको भेरीगंगामा अहिले माओवादीसँग गठबन्धन गर्दा पनि एमालेका यज्ञप्रसाद ढकाल मेयरमा विजयी भए । उनले कांग्रेसका रामबहादुर सिंहलाई दुई सय २५ मतको अन्तरले पराजित गरे । उपमेयरमा पनि एमालेकी धनसरा बोहराले माओवादीका नन्दबहादुर कार्कीलाई सात सय एक मतको अन्तरले हराइन् । चिङगाडमा पनि अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका बोधविक्रम जिसीले कांग्रेसका डोरप्रसाद शर्मालाई ६१ मत र उपाध्यक्षमा एमालेकी मीनाकुमारी रोकायले कांग्रेसकी मनमाया आचार्यलाई एक सय १२ मतको अन्तरले हराएका हुन् ।

विदुरमा पनि ढल्यो एमालेको तीन दशकको बिरासत
०४९ देखि लगातार मेयर जित्दै आएको नुवाकोटको विदुर नगरपालिका यसपालि एमालेको हातबाट फुत्कियो । मेयरमा कांग्रेस उम्मेदवार राजन श्रेष्ठले एमालेका सञ्जु पण्डितलाई तीन हजार ६ सय ७२ मतान्तरले हराएका हुन् । एमालेविरुद्ध कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । उपमेयरमा माओवादीकी प्रभा बोगटीले एमालेकी अम्बिका पौडेललाई आठ सय ६५ मतको अन्तरले पराजित गरेकी छिन् । 

निर्वाचनको सम्मुखमा विभिन्न जिल्लामा सभा गर्दै हिँडेका एमाले अध्यक्ष केपी ओलीले विदुरको सभामा ‘नुवाकोटलाई एमाले किल्ला बनाउने’ उद्घोष गरेका थिए । तर, त्यही विदुरमा एमालेको तीन दशक पुरानो बिरासत भत्कियो । एमालेले यसअघि जितेको बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिका पनि गुमाएको छ । १२ तह रहेको नुवाकोटमा एमालेले एउटा किस्पाङ गाउँपालिकामा मात्रै प्रमुख पद जितेको छ, जहाँ उसले माओवादीसँग गठबन्धन गरेको थियो । ०७४ मा उसले दुई नगर प्रमुखसहित तीन पालिकामा प्रमुख र तीनमा उपप्रमुख जितेको थियो । अघिल्लोपटक ३५ वडा जितेको एमाले अहिले १३ वटा गुमाएर २२ मा सीमित भएको छ । दुप्चेश्वर गाउँपालिका– ३ मा त एमालेका वडाध्यक्षका उम्मेदवारले पार्टीको संगठित सदस्य संख्याभन्दा आधा कम मत पाएका छन् । 

नुवाकोटमा अघिल्लो निर्वाचनको तुलनामा कांग्रेस पनि खुम्चिएको छ भने माओवादी चम्किएको छ । ०७४ मा दुई प्रमुख र एक उपप्रमुखमा चित्त बुझाएको माओवादीले अहिले चार प्रमुख र आठ उपप्रमुख जितेको छ । १५ वडा जितेकोमा अहिले २६ पुर्‍याएको छ । त्यतिवेला सात प्रमुख र सातै उपप्रमुख जितेको कांग्रेसले यसपालि सात प्रमुख र चार उपप्रमुख मात्रै जितेको छ । वडा भने ३७ बाट बढाएर ३९ पुर्‍याएको छ । 

बाग्लुङमा तीन दशकदेखिको एमाले साख कांग्रेसको काखमा
बाग्लुङ नगरपालिकामा एमाले पकड एक–दुई वर्षको होइन, ३० वर्ष पुरानो हो । तर, एमालेको यो साख यसपालि कांग्रेसको काखमा सरेको छ । पाँचदलीय गठबन्धनले मेयरको उम्मेदवार बनाएका कांग्रेसका वसन्तकुमार श्रेष्ठले एमालेका जनकराज पौडेललाई पाँच हजार आठ सय ५७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । ०७४ मा उनै पौडेलसँग दुई हजार दुई सय ९४ मतले हारेका श्रेष्ठले अहिले साटो फेरेका छन् । उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार माओवादीका राजु खड्का विजयी भएका छन् । 

०४९ को स्थानीय निर्वाचनमा तत्कालीन कालिका गाविस रहेको जिल्ला सदरमुकाममा आसपासका अन्य केही गाविस मिलाएर ०५४ मा बाग्लुङ नगरपालिका बनाइएको थियो । ०४९ देखि नै एमालेले प्रभाव जमाएको यो क्षेत्रमा ०५४ को निर्वाचनमा एमालेका ऋषिराज शर्मा मेयर निर्वाचित भएका थिए । 

पार्टी फुटसँगै विगतका सहयात्रीको कित्ता परिवर्तन र टिकट वितरणमा असन्तुष्टि नै हारको मुख्य कारण भएको बाग्लुङका एमाले नेताहरूको प्रारम्भिक विश्लेषण छ । नगरका १० मध्ये एउटा वडा मात्रै एमालेले जितेको छ । एमालेबाट फुटेको एकीकृत समाजवादीले नगरको कोर क्षेत्र मानिने वडा २ र एमालेको गढ मानिएको वडा १० जितेको छ । 

भीमेश्वरमा ०४९ फर्कायो कांग्रेसले
दोलखाको भीमेश्वर नगरपालिका क्षेत्रमा पर्ने तत्कालीन गाविसहरूमा ३० वर्षअघि कांग्रेसको बहुमत उपस्थिति थियो । ०४९ को स्थानीय निर्वाचनमा नगरभित्र पर्ने सात गाविसमध्ये कांग्रेसले चारमा अध्यक्ष तथा केहीमा उपाध्यक्ष जितेको थियो । तर, भीमेश्वर नगरमा ०५४ र ०७४ मा एमालेले एकलौटी नेतृत्व पायो । यसपालि भने गठबन्धनको बलमा कांग्रेस नेता ईश्वर मानन्धरले पार्टीलाई ०४९ को हैसियतमा फर्काउन सफल भएका छन् । उनले एमाले उम्मेदवार हरिवंश चौलागाईंलाई एक हजार चार सय २२ मतान्तरले पराजित गरेका हुन् । ०७४ मा उनै मानन्धर एमालेका भरतबहादुर केसीसँग हारेका थिए । ०५४ मा एमालेकै चोकबहादुर दाहालले कांग्रेसका आत्माकृष्ण श्रेष्ठलाई हराएका थिए । उपमेयरमा भने यसपालि पनि एमालेकै कमला बस्नेतले एकीकृत समाजवादीकी संगीता तामाङलाई तीन सय ३५ मतान्तरले पराजित गरेकी छिन् । 

मुगुको खत्याडमा २५ वर्षपछि एमाले पराजित
एमालेले मुगुको खत्याड गाउँपालिका २५ वर्षपछि गुमाएको छ । ०५४ को स्थानीय निर्वाचनमा खत्याड भेकका सात गाविसका ६३ वटै वडामा एकलौटी जित निकालेको एमाले ०७४ को स्थानीय तह निर्वाचनमा पालिका अध्यक्ष, उपाध्यक्ष र चार वडामा विजयी भएको थियो । तर, यसपालि तीन वडाको नेतृत्व मात्रै जितेको छ । 

माओवादी र कांग्रेसको गठबन्धन रहेको पालिकामा माओवादीका अजबहादुर शाहीले एमालेका लालबहादुर मल्ललाई नौ सय मतान्तरले अध्यक्षमा पराजित गरेका छन् । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी सरिता रोकायले एमालेकै कविता गिरीलाई दुई हजार ४९ मतान्तरले हराएकी छिन् । ०७४ को निर्वाचनमा रोकाय उपाध्यक्षमै एमालेकी जयनन्दा कार्कीसँग सात मतले हारेकी थिइन् । 

२५ वर्षमा पार्टीले हार व्यहोरेपछि एमाले खत्याड गाउँपालिका संगठन कमिटी अध्यक्ष दिलबहादुर थापाले राजीनामा दिएका छन् । पार्टीभित्रका अनैतिक, अराजक, नातावाद र राजनीतिलाई धन्दा मान्नेहरूसँग बसेर काम गर्न नसक्ने विज्ञप्तिमार्फत घोषणा गरेका हुन् । चार पालिका रहेको मुगुमा एमालेले सबैको नेतृत्व गुमाएपछि पार्टी जिल्ला कमिटी सचिव डबलबहादुर रोकायले पनि राजीनामा दिएका छन् । उनले पनि पार्टीभित्र अराजकता, अस्थिरता र व्यक्तिवादी हावी भएको आरोप लगाएका छन् । 

स्याङ्जामा एमाले र कांग्रेसले एक–अर्काको ‘किल्ला’मा झन्डा गाडे
स्याङ्जाको पुतलीबजार नगरपालिकामा ०५४ र ०७४ मै एमालेले मेयर र उपमेयरसहित अधिकांश वडाको नेतृत्व जितेको थियो । अहिले त्यो स्थान कांग्रेसले लिएको छ । ०७४ मा मेयर बनेकी सीमा क्षेत्री र उपमेयर बनेका महेश पुरीलाई यसपालि क्रमशः कांग्रेसका तुलसीराम रेग्मी र देवी अर्यालले पराजित गरेका हुन् । एमालेका केन्द्रीय कमिटी सचिव पद्मा अर्याल र संघीय सांसद नारायण मरासिनीको गुटबन्दी तथा पार्टी विभाजनको असरले पार्टी कमजोर बनेको नगर क्षेत्रका एमाले नेताहरू बताउँछन् । त्यस्तै, गल्याङ नगरपालिकामा पनि कांग्रेसका गुरुप्रसाद भट्टराई मेयर र हेमा न्यौपाने तिमिल्सिना उपमेयर निर्वाचित भएका छन् । यहाँ ०७४ मा एमालेले जितेको थियो । 

कांग्रेसको गढ मानिने वालिङ नगरपालिकामा भने एमालेका कृष्ण खाण मेयरमा निर्वाचित भएका छन् । उनले एमाले उम्मेदवार निवर्तमान मेयर दिलीपप्रताप खाणलाई दुई हजार एक सय ८३ मतान्तरले हराएका हुन् । उपप्रमुखमा भने कांग्रेसकी कविता तिवारी विजयी भएकी छिन् । उनले एमाले उम्मेदवार खगीसरा थापामगरलाई चार सय ८२ मतान्तरले हराएकी हुन् । 

हेटौँडामा सुदीप सिवाकोटी, झापामा चिरञ्जीवी घिमिरे, बुटवलमा विष्णु घिमिरे, बाँकेमा विश्वराज पछल्डङ्ग्या, नुवाकोटमा नवदीप अजनवी, सुर्खेतमा रमेश रावल, कञ्चनपुरमा मोहन विष्ट, बाग्लुङमा नारायण रिजाल, दोलखामा श्याम खतिवडा