मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ ९ सोमबार १०:४७:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

वाग्लेको ‘अतृप्त अवसर’ लोकार्पण

Read Time : < 1 मिनेट
२०७९ जेठ ९ सोमबार १०:४७:००

वरिष्ठ अर्थशास्त्री स्वर्णिम वाग्लेको पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक भएको छ । कांग्रेस महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झा र लेखक वाग्लेले आइतबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरेका हुन् । 

पुस्तक विमोचनको ‘समसामयिक अर्थ–राजनीतिक’ विषयक विमर्शमा महामन्त्री थापाले ‘अतृप्त अवसर’ पुस्तक नेपालको अर्थ–सामाजिक विषयमा रुचि राख्नेहरूका लागि उपयोगी रहेको बताए । ‘यो पुस्तक सरकार सञ्चालनसँग गाँसिएका नीति, बजेट र आयोजनाबारे टिप्पणीमा आधारित छ । नेपालको दीर्घकालीन विकास रोडम्यापमा अन्तर्निहित सोच, मान्यता र दर्शनबारे पुस्तकमा अभिव्यक्त विचारले हाम्रो समाज र आगामी सरकारलाई दिशानिर्देश गर्नेछ,’ उनले भने, ‘तथ्यसंगत तर्क र प्रक्षेपण त हुन्छन् नै, युवा पुस्ताको भर, लिन सक्ने प्रेरणा र बोक्न सक्ने आशा उनका लेखहरूमा पाउँछु ।’

शासकीय स्थिरता र विकासले समाउन सक्ने गतिका दृष्टिले २०७४ देखि २०७८ सालको अवधि नेपालको इतिहासमा उल्लेख्य थियो । यस खण्डको अर्थ–राजनीतिक रेकर्ड राख्ने उद्देश्यसहित अर्थशास्त्री वाग्लेद्वारा प्रकाशित २५ वटा लेखको यो सँगालोको महत्व चिरस्थायी रहेको महामन्त्री थापाको दाबी छ । 

योजना आयोगकी पूर्वसदस्य झाले अल्पकालीन सरकारका कारण विकासमा हुने अवरोध चिर्न दीर्घकालीन नीति बनाउनुपर्नेमा जोड दिइन् । नेपालमा उत्कृष्ट नीति बन्ने, तर कार्यान्वयन तह कच्चा भइदिँदा समस्या हुने गरेको उनको भनाइ छ । अब पाँच वर्ष होइन, २५ वर्षे योजना बनाएर नेपालको विकासमा अघि बढ्नुपर्ने र सबै राजनीतिक पार्टीले त्यसमा प्रतिबद्धता जनाएर कार्यान्वयनको तहमा जानुपर्ने उनले औँल्याइन् । 

नेपालको इतिहासमा जुद्धशमशेरपछि अपूर्व अवसरका साथ केपी शर्मा ओली नेतृत्वको सरकार आएको उल्लेख गर्दै लेखक वाग्लेले यस्तो अवस्थामा पनि सोचेअनुसार काम गर्न नसक्नु नेपालका लागि दुर्भाग्यपूर्ण भएको बताए । तत्कालीन ओली नेतृत्वको सरकारका अवसर र उनका समयमा गर्न सकिने, तर नगरिएका विषयलाई पुस्तकमा समेटेको उनको भनाइ छ ।