मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी काठमाडाैं
२०७९ जेठ ९ सोमबार ०६:१९:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पाण्डेविरुद्ध यौन दुर्व्यवहारको अर्को आरोप, बालिकाले दिइन् किटानी जाहेरी

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ जेठ ९ सोमबार ०६:१९:००
  • आठ वर्षअघिको बलात्कार घटनामा मानव बेचबिखन कसुरमा जाहेरीको तयारी, कसुर प्रमाणित भए १० देखि १५ वर्ष कैद
  • सात वर्षअघि प्रिन्सिपलले बलात्कार गरेको भन्दै अर्की युवतीले पनि सामाजिक सञ्जालमार्फत  गरिन् घटना सार्वजनिक

आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका क्रममा एक बालिकालाई बलात्कार गरेको आरोप लागेका मोडेल भिसाज कल्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध यौन दुर्व्यवहारको आरोपमा अर्की बालिकाको किटानी जाहेरी परेको छ । आठ वर्षअघिको घटनामा हदम्यादका कारण बलात्कार कसुरको मुद्दा दर्ता हुन नसकिरहेका वेला आइतबार अर्की बालिकाले पाण्डेबाट यौन हिंसामा परेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी हुन् । 

बालिकाले महानगरीय प्रहरी परिसर टेकुमा आइतबार साँझ जाहेरी दर्ता गरेको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले बताए । ‘मनोज पाण्डेविरुद्ध एक बालिकाले यौन हिंसा भएको भन्दै जाहेरी दिएकी छिन् । जाहेरी दर्ता भएको छ । घटनाका सम्बन्धमा अब विस्तृत अनुसन्धान हुनेछ,’ उनले भने ।
आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा आफू पाण्डेबाट बलात्कृत भएको घटना सामाजिक सञ्जालमार्फत युवतीले सार्वजनिक गरेपछि प्रहरीले पाण्डेलाई शनिबार स्वयम्भूबाट पक्राउ गरेको थियो । त्यसको भोलिपल्टै अर्की बालिका पाण्डेबाट यौन हिंसामा परेको भन्दै प्रहरीकहाँ पुगेकी हुन् । कानुनी परामर्शपछि बालिका उजुरी दिन टेकु पुगेकी थिइन् । कसुर प्रमाणित भए अभियुक्तविरुद्ध तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । 

आठ वर्षअघिको बलात्कार घटनामा भने प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कसुरअन्तर्गत मुद्दा दर्ताको तयारी गरेको छ । सौन्दर्य प्रतियोगिता आयोजना गरेका पाण्डेले ‘सक्सेस पार्टी’ दिने बहानामा होटेलमा बोलाएर बलात्कार गरेको पीडितले केही दिनअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । तर, बलात्कार कसुरमा घटना भएको एक वर्षभित्र जाहेरी दिनुपर्ने कानुनी हदम्यादका कारण अहिले उक्त कसुरमा जाहेरी दर्ता नै हुन सकेको छैन । 

पाण्डेविरुद्ध सोमबार युवतीले मानव बेचबिखन तथा ओसारपसार कसुरमा जाहेरी दर्ताको तयारी गरेकी छिन् । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले भने, ‘आठ वर्षअघि बलात्कारमा परेको भनिएकी युवतीको पनि जाहेरी दर्ता प्रक्रियामा छ । सोमबारसम्ममा दर्ता होला । जाहेरी दर्तालगत्तै हामी अभियुक्तलाई म्याद थपका लागि अदालत लैजान्छौँ ।’ 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरअन्तर्गत जाहेरी लिएर अनुसन्धान गर्ने तयारी भएको बताए । ‘बलात्कार कसुरमा पाण्डे पक्राउ परेका छन् । हदम्यादका कारण बलात्कार मुद्दामा जाहेरी लिन मिल्दैन । त्यसो हुँदा मानव बेचबिखन तथा ओसारपसार कसुरअन्तर्गत जाहेरी दर्ता गर्ने तयारी रहेको मैले बुझेको छु । जाहेरी परेलगत्तै प्रहरी घटनाको अनुसन्धानमा लाग्नेछ,’ उनले भने । 

पाण्डेबाट बलात्कृत हुँदा आफू १६ वर्षको मात्रै रहेको पीडितले बताएकी छिन् । आफ्नो नग्न तस्बिर र भिडियो खिचेर पाण्डेले डरधम्की देखाई ६ महिनासम्म पटक–पटक बलात्कार गरेको मात्रै होइन, अन्य व्यक्तिसँग पनि सम्बन्ध राख्न लगाएको उनको भनाइ छ । यस्तो घटनामा पीडकविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत पनि मुद्दा चलाउन मिल्छ । यो कसुरमा जाहेरी दिन हदम्यादको प्रावधान छैन । कसुर भएको जुनसुकै मितिमा अभियुक्तविरुद्ध जाहेरी दिन सक्ने मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ मा व्यवस्था गरिएको छ । ऐनको दफा ५ मा उल्लेख छ, ‘मानव बेचबिखन तथा ओसारपसार कसुर गरेको, गरिरहेको वा गर्न लागेको थाहा पाउने जुनसकै व्यक्तिले नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न सक्नेछ ।’

युवतीको बयानलाई आधार मान्दा उक्त घटनामा ऐनको दफा ४ को उपदफा ४ (ख) आकर्षित हुने देखिन्छ । उक्त दफामा ‘कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने’लाई कसुर लाग्ने व्यवस्था छ । उक्त कसुरअन्तर्गत सोही ऐनको दफा १५ को उपदफा १ (ख)मा यस्ता व्यक्तिलाई १० देखि १५ वर्षसम्म कैद सदाय र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । 

अधिवक्ता लोकेन्द्र वली भन्छन्, ‘पाण्डेविरुद्ध मानव बेचबिखन ऐनअन्तर्गत मुद्दा चल्दा ऐनको दफा ४ को उपदफा १ (ख) अन्तर्गत कसुर गरेको आकर्षित हुन्छ । त्यस्ता कसुरदारलाई सोही ऐनको दफा १५ को उपदफा १ (ख) अनुसार १० देखि १५ वर्ष कैद सजाय हुने व्यवस्था छ । यस्तो सजायमा अन्यमा जस्तो सहुलियत हुँदैन ।’

राष्ट्रिय महिला आयोगकी प्रमुख आयुक्त कमला पराजुलीले पीडितलाई न्याय दिने उद्देश्यले कानुनी परामर्श लिने काम अझै पूरा नभएको बताइन् । उनले भनिन्, ‘पीडितले न्याय पाउनुपर्ने विषयमा दुविधा रहेन । कुन कानुन समाउँदा अभियुक्तले कडा सजाय पाउने र पीडितले न्याय पाउने हो त्यस विषयमा छलफल चलिरहेको छ । इटहरीमा पनि यस्तै घटना सार्वजनिक भएको छ । यसमा आयोग जिम्मेवार ढंगले लागेको छ ।’

होटेल एभरेस्टको ‘रुम’तर्फ प्रहरीको अनुसन्धान 
पीडित युवतीको बयानअनुसार पाण्डेले होटेल एभरेस्टको कोठामा पहिलोपटक बलात्कार गरी भिडियोसमेत बनाएका थिए । प्राप्त विवरणअनुसार पाण्डेले १७ भदौ ०७१ मा आर्मी अफिसर्स क्लबमा ‘मिस ग्लेबल इन्टरनेसनल, २०१४’ आयोजना गरेका थिए । सक्सेस पार्टी भने होटेल एभरेस्टमा १९ भदौ ०७१ मा आयोजना गरेका थिए । सार्वजनिक भएको बयानअनुसार सक्सेस पार्टीभन्दा अघि पाण्डेले युवतीलाई बलात्कार गरेका थिए । यसका लागि उनले होटेलको कोठा बुक गरेका थिए । बलात्कारअघि उनले होटेलका वेटरमार्फत युवतीलाई ‘लेमन जुस’सँग लठ्याउने औषधि खुवाएका थिए ।

 अनुसन्धानका क्रममा प्रहरीले घटना भएको दिन बुक भएको होटेलको कोठा, कोठाका लागि बुक भएको नाम, त्यस दिनको सिसिक्यामेरा फुटेज, होटेलमा चेक इन र आउट भएको ग्राहकको नाम, ‘लेमन जुस’ दिने वेटरलगायतको पक्षमा अनुसन्धान सुरु गरेको छ । त्यसबाहेक घटनाका दिन सक्सेस पार्टीमा सहभागी प्रतियोगी, व्यवस्थापनमा खटिएका कर्मचारी, कोरियोग्राफर, फोटोग्राफरलगायतको पनि सूची उतार्ने काम सुरु गरिसकेको छ । सामाजिक सञ्जालमा प्राप्त प्रमाण संकलनमा पनि प्रहरी जुटेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी कुँवरले भने, ‘अनुसन्धानका लागि आवश्यक सबै पक्ष प्रहरीले हेर्छ । यो स्वाभाविक पक्ष हो । सबैभन्दा पहिले जाहेरी कस्तो आउँछ, कस्ता विषय समेटिन्छन्, त्यसले अनुसन्धानलाई कसरी लैजाने भन्ने निर्धारण गर्छ ।’