१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
श्रीमान् र छोराको हत्या भएपछि भावविह्वल ५७ वर्षीया पवनदेवी पाल
२०७९ जेठ ९ सोमबार ०६:११:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज डिजिटल संस्करण

विवाहको तीन दिनअघि बाबु–छोराको हत्या

हत्या भएका युवकसँगै सुतेका थिए छिमेकी १० वर्षीय बालक, बुबा सुतेको घरभित्रै श्रीमती र केही पाहुना पनि थिए

Read Time : > 1 मिनेट
२०७९ जेठ ९ सोमबार ०६:११:००

सिराहाको अर्नमा गाउँपालिका– १ महनौरमा ११ जेठमा बिहे गर्न लागेका युवक र उनको बुबाको हत्या भएको छ । स्थानीय १९ वर्षीय सन्तलाल पाल र उनका बुबा ६० वर्षीय चन्देश्वरको शनिबार राति घरमै सुतिरहेका वेला हत्या भएको हो ।सन्तलालको विराटनगरकी युवतीसँग बिहे गर्ने मिति निश्चित भएपछि घरमा पाहुना आउन थालिसकेका थिए भने स्थानीय महिला राति भेला भएर नाचगान गर्न थालेका थिए । मध्यरातसम्म नाचगान चलेको बिहेघरभित्र बाबु–छोराकै हत्या भएकोमा प्रहरी नै आश्चर्यचकित छ । 

प्रहरीका अनुसार चन्देश्वर मूलघरमा सुतेका थिए भने छोरा सन्तलाल मूलघरसँगै जोडिएको दलान घरमा सुतेका थिए । चन्देश्वरकी श्रीमती ५७ वर्षीया पवनदेवी पाल र केही पाहुना पनि मूलघरभित्रै सुतेका थिए । दलान घरमा पनि सन्तलालसँगै छिमेकी १० वर्षीय बालक सुतेका थिए । निद्राबाट ब्युँझिँदा सँगै सुतेका सन्तलाललाई मृत देखेपछि बालक चिच्याएको र परिवार तथा घिमेकीले घटना थाहा पाएको प्रहरीले जनाएको छ । 

प्रहरीलाई बिहान ३ बजेतिर खबर आएकाले २ बजेतिर घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताए । ‘प्रहरीलाई बिहान ३ बजेतिर खबर आएको हो । हत्या २ बजेआसपासमा भएको अनुमान छ । घटनाबारे जानकारी आएपछि बिहानै प्रहरी पुगेर घटनास्थल सिल गरी प्रारम्भिक मुचुल्का उठायो ।

मध्याह्नतिर शव पोस्टमार्टमका लागि सिराहास्थित प्रादेशिक अस्पताल पठाइएको छ,’ बुढाथोकीले भने, ‘घटना गम्भीर प्रकृतिको भएकाले विभिन्न कोणबाट अनुसन्धान थालिएको छ । विवाह हुनुभन्दा तीन दिनअघि हत्या भएकाले व्यक्तिगत रिसइबी पनि हुन सक्छ । तर, सूक्ष्म अनुसन्धान नगरी यकिन हुन सक्दैन ।’ प्रहरीले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुर लगेरसमेत घटनास्थलको अनुसन्धान गरेको छ । 

अर्नमा– १ का वडाध्यक्ष गफार मियाँले घटना थाहा पाएका स्थानीयले आफूलाई बिहान २ः४९ मा फोन गरेको बताएका छन् । मध्यरातसम्म बिहे घरमा नाचगान गरेका महिलाले आ–आफ्नो घर गएको केही समयपछि नै हत्याको खबर सुनेको बताएको वडाध्यक्ष मियाँले बताए । ‘मध्यरातसम्म छिमेकी महिलाहरूले बिहेघरमा गीत गाएका रहेछन् । उनीहरू फर्किएको केही समयपछि घटनाबारे खबर आएको बताएका छन्,’ उनले भने, ‘घटनापछि महनौर गाउँ त्रास र शोकमा छ ।’ 


छिमेकीहरूका अनुसार पाल परिवार सिराहाकै गोलबजार नगरपालिका– १२ बेतौना गाउँबाट वर्ष दिनअघि मात्रै बसाइँ सरेर महनौर आएको हो । सन्तलाल परिवारका कान्छा छोरा थिए । उनी घरबाट करिब सय मिटर दक्षिणमा पर्ने महनौर बजारमा हार्डवेयर पसलमा मजदुरी गर्थे । उनका दाइहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेको छिमेकीहरू बताउँछन् । पालदम्पतीले खेतीपाती गरेर जिविकोपार्जन गर्दै आएको थियो ।