१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
पवन बराइली नयाँ पत्रिका
२०७९ जेठ ८ आइतबार ०९:०६:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सिंगल थिएटर सकिँदै, मलमा मल्टिप्लेक्स हल 

Read Time : > 1 मिनेट
पवन बराइली, नयाँ पत्रिका
२०७९ जेठ ८ आइतबार ०९:०६:००

- विश्वज्योति सिनेमा हल कुनै समय ‘सिंगल थिएटर’का रूपमा देशभर प्रसिद्ध थियो । ६ दशकभन्दा लामो समय सिंगल थिएटरका रूपमा चलेको विश्वज्योति अब भने मल्टिप्लेक्समा रूपान्तरण भएको छ । ३ जेठदेखि ‘विश्वज्योति सिनेप्लेक्स’ (२०१ र ८९ सिट क्षमताका दुई हल) का रूपमा सञ्चालन भएको छ । 

- गुण ग्रुपले दरबार मलमा अत्याधुनिक सेवा–सुविधासहित ‘दरबार सिने म्याक्स’ सञ्चालनमा ल्याएको छ । २ वैशाखदेखि यस ग्रुपले ५० र ५३ सिट क्षमताको हल सञ्चालनमा ल्याएको हो । हलमा अत्याधुनिक साउन्ड सिस्टम, स्क्रिन र अर्डरअनुसारको खाना, खाजा र बारसहितको सुविधा छ । 

- रञ्जना सिनेमा हल पनि नेपालको पुरानो सिनेमा हलमध्येको एक हो । कुनै समय सिनेमा प्रदर्शनको चर्चित मानिने सिनेमा बन्द गरेर रञ्जना ट्रेन्ड सेन्टर निर्माण भएको थियो । तर, लामो समय बन्द भएपछि गत चैत १० गतेदेखि रञ्जना हल मल्टिप्लेक्समा रूपान्तरण भएको हो । हाल रञ्जना कम्प्लेक्स भवनमा रञ्जना सिनेप्लेक्सअन्तर्गत तीनवटा सिनेमा हल सञ्चालनमा छ । 

यी त पछिल्ला केही उदाहरण मात्रै हुन् । देशभर मल्टिप्लेक्सको अवधारणासहित सिनेमा हल खुल्ने लहर चलिरहेको छ । नयाँ प्रविधिसहित सिंगल थिएटरहरू पनि धमाधम मल्टिप्लेक्समा रूपान्तरण भइरहेका छन् । एउटै छानामुनि एकभन्दा बढी सिनेमा हेर्न मिल्ने अत्याधुनिक र सुविधासम्पन्न सपिङ मलमा मिल्टप्लेक्स खुल्ने लहर चलेको छ । दर्शकहरूको रोजाइ पनि मलमा खुलेका सुविधासम्पन्न मल्टिप्लेक्स हुने गरेका छन् । नेपाल चलचित्र विकास बोर्डको तथ्यांकअनुसार पछिल्लो चार वर्षमा ३६ वटा सिनेमा हल खुलेका छन् । तीमध्ये अधिकांश मल्टिप्लेक्स छन् । 

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसमार सिंगल थिएटर नजाने दर्शकलाई पनि सपिङ मलहरूमा खुलेका मल्टिप्लेक्सले तानेको छ । उनी ‘अपग्रेडेड’ प्रविधि र सुविधानसम्पन्न मल्टिप्लेक्स दर्शकको रोजाइमा पर्नु स्वाभाविक ठान्छन् । उनी भन्छन्, ‘पुराना ढर्राका सिनेमा हलमा दर्शक जान छोडिसकेका छन् । सिनेमा मेकिङको क्वालिटी बढेसँगै प्रदर्शनको पनि क्यालिटी बढ्नुपर्छ । मल्टिप्लेक्स हल खुल्नु दर्शकको माग पनि हो ।’ मल्टिप्लेक्सको वृद्धिले नेपाली सिनेको गुणस्तर पनि बढ्ने उनको बुझाइ छ । 

क्युएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगा मल्टिप्लेक्स सिनेमा हेर्ने ठाउँमा मात्रै नभएर ‘स्ट्यान्डर्ड’ देखाउने बिम्बका रूपमा समेत स्थापित भएको छ । उनी भन्छन्, ‘पैसा तिरेर सिनेमा हेरेपछि दर्शकहरू लक्जरी पनि खोज्छन् । मल्टिप्लेक्समा सिनेमा हेर्नुलाई उनीहरू गर्वका रूपमा हेर्छन् ।’ सपिङ मलमा मल्टिप्लेक्स अपरिहार्यजस्तै बनेको उनको बुझाइ छ । सिनेमा हल बन्द गरेर व्यापारिक केन्द्रमा परिणत गरी मल्टिप्लेक्स हलहरू खुल्न थालेका छन् । ‘दर्शकको माग भएर नै नयाँ व्यापारिक केन्द्रमा सिनेमा हल खुलेका हुन् । व्यापारिक केन्द्रमा सिनेमा खुल्दा ग्राहक पनि बढ्छन् । जसले मलमा चहलपहल धेरै हुन्छ, मान्छेको आवातजावत हुन्छ,’ उनले भने ।