मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
किरण दहाल नयाँ पत्रिका
२०७९ जेठ ७ शनिबार ०६:२९:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कसले जिते, कसले हारे ?

Read Time : > 3 मिनेट
किरण दहाल, नयाँ पत्रिका
२०७९ जेठ ७ शनिबार ०६:२९:००

अहिलेको स्थानीय निर्वाचन राजनीतिक व्यक्तित्वको परीक्षा पनि थियो

जसले जिते

शेरबहादुर देउवा

०७४ को स्थानीय निर्वाचनमा २६६ पालिकासहित दोस्रो हैसियतमा रहेको कांग्रेसलाई पहिलो बनाए । पाँचदलीय गठबन्धनप्रति सुरुदेखि नै प्रतिबद्ध बने । पार्टी पहिलो हुनुमा मूलतः गठबन्धन नै कारण रह्यो । महाधिवेशन सकिएकै दिनदेखि अर्को महाधिवेशनको तयारीमा लागेका र कांग्रेसकै मूल्यमा पनि आफूलाई कमजोर बनाउन तयार शेखर कोइराला–गगन थापा समूहको दबाबलाई थेग्दै गठबन्धनमा गए । त्यो दबाब नभएको भए गठबन्धन अझ धेरै ठाउँमा हुन्थ्यो र कांग्रेसले थप सिट जित्ने थियो । सात सय ५३ स्थानीय तहमध्ये शुक्रबार मध्यरातसम्म ६७९ तहको नतिजा आउँदा कांग्रेसले ३०३ तहमा प्रमुख र २७८ उपप्रमुखमा जित निकालेको छ, २० तहको प्रमुखमा अग्रता लिइरहेको छ । 

प्रचण्ड

निर्वाचनको परिणामले तेस्रो भए पनि निर्णायक ‘पोजिसन’ स्थापित गरे । पूर्वउपाध्यक्ष रामबहादुर थापा बादललगायत २२ केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा र राष्ट्रिय सभाका ६ सांसदसहितका नेता पार्टीबाट बाहिरिँदासमेत माओवादीले चुनावमा बढत् हासिल गर्‍यो । ०७४ को निर्वाचनमा माओवादीले १०६ प्रमुख र १११ उपप्रमुख जितेको थियो । शुक्रबार रातिसम्म ११६ पालिका प्रमुख र १२० उपप्रमुखमा जित निकालिसकेको छ भने सात पालिकाको प्रमुखमा अग्रता लिइरहेको छ । 

उपेन्द्रले पुरानो शक्ति जोगाए

जनता समाजवादी पार्टीले अघिल्लो निर्वाचनमा प्राप्त सिट बढाउने देखिएको छ । मधेसकेन्द्रित दलका रूपमा आफू सबैभन्दा बलियो शक्ति भएको उसले प्रमाणित गरेको छ । ०७४ को निर्वाचनमा ३४ स्थानीय तह जितेको जसपाले शुक्रबार रातिसम्म २३ तहको प्रमुख र २५ उपप्रमुखमा जित निकालिसकेको छ । १० तहको प्रमुखमा अग्रता लिइरहेको छ । चुनावपछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकता गरेका कारण यसपटक पहाडी जिल्लामा पनि एक पालिका प्रमुख र केही वडाध्यक्ष जितेको छ ।

माधवले अपेक्षाकृत नतिजा ल्याउन सकेनन्

एमाले विभाजन गरेर पहिलोपटक निर्वाचनमा गएको एकीकृत समाजवादीले अपेक्षाकृत नतिजा ल्याउन सकेन । गठबन्धनभित्रकै दलहरूले पूर्ण सहयोग नगरेको गुनासो अध्यक्ष माधव नेपालले सार्वजनिक रूपमै गरिसकेका छन् । एकीकृत समाजवादीले अहिलेसम्म १६ पालिकाको प्रमुख र २५ मा उपप्रमुख जितिसकेको छ । तीन पालिका प्रमुखमा अग्रता लिइरहेको छ । 

जसले हारे

केपी ओली

०७४ को निर्वाचनबाट एमाले फराकिलो अन्तरसहितको पहिलो पार्टी बनेको थियो । दोस्रो स्थानमा रहेको कांग्रेसभन्दा एमालेको २८ सिट बढी अर्थात् २९४ पालिकामा वर्चस्व थियो । तर, यो निर्वाचनबाट एमाले फराकिलो अन्तरकै दोस्रो पार्टी बन्न पुगेको छ । शुक्रबारसम्म १८५ पालिका प्रमुख र २१० उपप्रमखुमा जित निकालेको छ भने १७ पालिकाको प्रमुखमा अग्रता लिइरहेको छ । अहिलेसम्मको नतिजामै कांग्रेसभन्दा एमालेको ११८ सिट कम छ, गणना भइरहेका पालिकाहरूमा पनि कांग्रेसकै अग्रता बढी छ । यो निर्वाचनको नतिजाले आगामी प्रादेशिक र संघीय चुनावमा समेत एमालेमाथि अत्यन्त ठूलो चुनौती थपेको छ । 

विप्लव–प्रकाण्ड

२१ फागुन ०७७ मा सरकारसँग सहमति गर्दै मूलधारको राजनीतिमा आएको विप्लव–प्रकाण्डको दल नेपाल कम्युनिस्ट पार्टीले पनि यो निर्वाचनमा ठूलो मूल्य चुकाउनुप¥यो । निर्वाचनमा सहभागी हुने–नहुने मुद्दाकै कारण गत २३ वैशाखमा पार्टी नै विभाजन भयो । विभाजनकै मूल्यमा चुनावमा होमिएको विप्लव–प्रकाण्ड समूहले जनाधार र मताधार दुवै गुमायो । आफ्नो ‘आधार इलाका’ भनेको रोल्पामा समेत जित निकाल्न सकेन, वडाध्यक्षमा समेत हार व्यहोर्नुपर्‍यो । 

गगन थापा

देशव्यापी अपिल भएका भनिएका युवा नेता गगनले आफ्नै निर्वाचन क्षेत्रका कुनै पनि स्थानीय तहमा पार्टीलाई जिताउन सकेनन् । उनको निर्वाचन क्षेत्र काठमाडौं– ४ मा पर्ने बूढानीलकण्ठ नगरपालिका एमालेले जितेको छ । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ, जसमा गठबन्धनको अर्थात् कांग्रेसको मेयरकी उम्मेदवार सिर्जना सिंह तेस्रो नम्बरमा छिन् । गगनकै गृहजिल्लामा बालेन साहको उदय अब दलीय राजनीतिका तेस्रो पुस्ताको आकर्षण सकिएको प्रमाण पनि हो । 

महन्थ ठाकुर–राजेन्द्र महतो
मधेसमा कांग्रेस र जसपा (तत्कालीन संघीय समाजवादी फोरम)पछि तेस्रो शक्ति रहेको लोकतान्त्रिक समाजवादी फोरम (लोसपा) पनि यो निर्वाचनमा चित खाएको छ । ०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालले २५ पालिकामा जित निकालेको थियो । तर, यो निर्वाचनमा एमाले, माओवादी र एकीकृत समाजवादीभन्दा पनि पछाडि परेको छ । शुक्रबार रातिसम्म लोसपाले १० पालिकाको प्रमुख र ९ उपप्रमुख जितेको छ भने ६ पालिकाको प्रमुखमा अग्रता लिइरहेको छ । 

बालेन, गोपाल र हर्कहरूले बनाए दलहरूमाथि दबाब

यो निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन साह मात्रै होइन, धनगढी उपमहानगरमा गोपाल हमाल र धरान उपमहानगरमा हर्क राई पनि जबर्जस्त उदाएका छन् । शुक्रबार मध्यरातिसम्मको मतगणनामा उनीहरू प्रमुख दलहरूलाई पछि पार्दै अग्रता लिएर विजयको बाटोतर्फ छन् । साह एमालेका उम्मेदवार केशव स्थापितभन्दा झन्डै दोब्बर मतले अगाडि छन् भने कांग्रेसकी सिर्जना सिंह तेस्रो नम्बरमा छिन् । उता, धनगढीमा त हमाल सत्तागठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडभन्दा दोब्बरभन्दा बढी मतले अगाडि छन् । एमाले तेस्रो स्थानमा छ । धरानमा राई पनि हजार मतले अग्रता लिइरहेका छन् । उनीहरूले ठूला दलहरूलाई सुधारका लागि दबाब सिर्जना गरेका छन् । 

राप्रपा र रवीन्द्र मिश्रको सुधार

यो निर्वाचनमा राप्रपाले पनि सुधार गरेको छ । पार्टी विभाजनलगत्तै निर्वाचनमा होमिएको राप्रपाले शुक्रबार रातिसम्म चार पालिका प्रमुख र चार उपप्रमुख जितिसकेको छ । त्यस्तै, ६५ वडाध्यक्षमा जित हात पारेको छ । ०७४ को निर्वाचनमा राप्रपाले नेपालगन्ज उपमहानगरसहित पाँच पालिकाको प्रमुख जितेको थियो । त्यस्तै, रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले पनि बारामा एक पालिकामा प्रमुख–उपप्रमुखसहित दुई वडाध्यक्ष जितेको छ । काठमाडौं उपत्यकामा भने विवेकशीलका उम्मेदवारले अपेक्षाकृत मत ल्याउन सकेनन् । 

कम्युनिस्ट पार्टीहरूले झगडा गर्दा देउवालाई फाइदा  : लोकराज बराल, विश्लेषक

यो चुनाव गठबन्धनहरूबीचको प्रतिस्पर्धाजस्तो भयो, विशेषगरी कांग्रेसलगायतका दलको गठबन्धन र एमालेबीच । केपी ओलीको अहं र आत्मकेन्द्रित सोचका कारण उहाँको पार्टीलाई नोक्सान भयो । हुन त एमालेलाई पहिलादेखि नै धक्का लाग्दै आएको थियो । दुईतिहाइको सरकार ढल्नु, माधव नेपाललगायतका नेताले फुटेर नयाँ पार्टी बनाउनु एमालेले व्यहोरेको संकट हो । यो चुनावले पनि एमालेलाई धक्का लाग्यो ।

कम्युनिस्ट पार्टीहरूको झगडाबाट शेरबहादुर देउवाले फाइदा लिए । देउवाले गठबन्धन गर्न जोड दिएका थिए, गठबन्धनकै कारण पनि राम्रो सिट प्राप्त भयो । प्रचण्ड पनि यो चुनावबाट फाइदामै छन् । माओवादीले राम्रै सिट ल्याएको छ । अहिलेको निर्वाचनले संसदीय चुनावमा पनि प्रभाव पार्ने देखिन्छ । सबै दलका नेतालाई आफ्नो पार्टीको हैसियतबारे सोच्ने बनाएको छ स्थानीय चुनावले । यो चुनावबाट माधव नेपाललाई पनि धक्का लाग्यो । उनी आफैँले पनि यति कम सिट आउला भनेर कल्पना गरेका थिएनन् होला ।