मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ५ बिहीबार ०७:२८:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

२८ महिनापछि नेपाल-चीन हवाई उडान सुरु हुँदै, १६ जेठदेखि काठमाडौं–कुनमिङमा उडानको तयारी

चिनियाँ र नेपाल वायुसेवा निगमले कोभिडअघि चीनका आधा दर्जन सहरलाई काठमाडौंसँग जोड्दै आइरहेका थिए, नेपाली वायुसेवासँग चीनका १५ सहरमा उडान गर्ने अनुमति छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ५ बिहीबार ०७:२८:००

करिब २८ महिनापछि नेपाल–चीन हवाई उडान पुनः सुचारु हुने भएको छ । चीनमा कोरोना भाइरसले महामारीको रूप लिन थालेपछि संक्रमण फैलिन नदिन काठमाडौं–चीन नियमित उडान बन्द गरिएको थियो । चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री बालकृष्ण खाणसँगको भेटवार्तामा ३० मे (१६ जेठ)देखि काठमाडौंबाट चीनको कुनमिङमा सीधा उडानको तयारी भइरहेको जानकारी गराएकी हुन् । उनले काठमाडौं–कुनमिङ र कुनमिङ–काठमाडौं सीधा उडान हुने जानकारी गृहमन्त्री खाणलाई गराएकी हुन् ।

अहिले दुई देशबीच चार्टर्ड उडान मात्र हुँदै आइरहेको छ । नेपालको निजी वायुसेवा हिमालय एयरलाइन्सले १६ जेठदेखि चीनको कुनमिङमा नियमित उडान सुरु गर्ने भएको हो । कुनमिङ उडानका लागि यात्रुसँग टिकट बुकिङसमेत सुरु गरिसकेको एयरलाइन्स स्रोतले बताएको छ ।

 कोभिड महामारीपछि नियमित उडान बन्द गरिँदा वायुसेवा कम्पनीले कार्गो चार्टर्ड उडान गर्दै आइरहेका छन् । हिमालय एयरलाइन्सले पनि कुनमिङमा कार्गो चार्टर्ड उडान गर्दै आइरहेको थियो । अब, कुनमिङमा साताको एक दिन मंगलबार नियमित यात्रु उडान गर्न लागेको स्रोतले बतायो । यस्तै, कुनमिङ–काठमाडौं यात्रु उडान चिनियाँ एयरलाइन्सले पनि गर्ने बताइएको छ । 

कोभिडअघि चीनमा नेपाल वायुसेवा निगमसहित चिनियाँ एयरलाइन्सले चीनका विभिन्न सहरबाट काठमाडौं उडान गर्दै आइरहेका थिए । नेपाल र चीनबीच सबैभन्दा धेरै अन्तर्राष्ट्रिय उडान हुने गथ्र्यो । चीनतर्फ सीधा उडान बन्द हुँदा नेपालबाट विभिन्न मुलुकमा जाने र त्यहाँबाट नेपाल आउने यात्रुको यात्रा महँगो परिरहेको थियो । चीनलाई ट्रान्जिट बनाएर अन्तर्राष्ट्रिय उडान गर्दा यात्रा सस्तो हुन जान्छ । 

नेपाली वायुसेवाले चीनका १५ सहरमा उडान गर्न पाउने अनुमति छ । चिनियाँ र नेपाल वायुसेवा निगमले कोभिडअघि चीनका आधा दर्जन सहरलाई काठमाडौंसँग नियमित तथा चार्टर्ड उडानमार्फत जोड्दै आइरहेका थिए । अहिले हिमालयले साउदीको दमाम र रियाद, कतारको दोहा, दुबई, मलेसियाको क्वालालम्पुर, बंगलादेशको ढाकामा नियमित उडान गर्दै आइरहेको छ । अहिलेसम्म कुनमिङ र नाम्निङ कार्गो चार्टर्ड उडान गरिरहेको हिमालयले कुनमिङमा यात्रु र चार्टर्ड दुवै उडान गर्नेछ । हिमालय एयरलाइन्स चिनियाँ र नेपालीको संयुक्त लगानीमा स्थापित वायुसेवा कम्पनी हो ।