मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ जेठ ४ बुधबार ०८:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिद्धबाबाविरुद्ध बलात्कार मुद्दा  जिल्ला अदालतको फैसला बदर,  फेरि सुनुवाइ गर्न आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ जेठ ४ बुधबार ०८:५५:००

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला बदर गर्दै पुनः इन्साफका लागि पठाउने आदेश भएको छ । जिल्ला अदालतले फैसला गर्दा अंग नपुगेको भन्ने ठहर्‍याउँदै उच्च अदालत विराटनगरको संयुक्त इजलासले पुनः इन्साफ गर्न जिल्लामै फर्काउने आदेश गरेको उच्चका प्रवक्ता ओम सुवेदीले जानकारी दिए । 

मंगलबार न्यायाधीशद्वय सत्यमोहन जोशी थारू र किरणकुमारी गुप्ताको इजलासले जिल्लाको फैसला उल्ट्याएको हो । ‘जाहेरवालाको साक्षी नबुझेको, प्रतिवादीको साक्षी पनि नबुझेको, स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको बकपत्र नगराएको, सरकारी पक्षबाट पेस गरिएको कल रेकर्डिङको विधिविज्ञान प्रयोगशालाबाट परीक्षण गराई प्रतिवेदन अदालतमा नदिएकाले प्रमाण बुझेर फेरि इन्साफ गर्न आदेश भएको हो,’ सूचना अधिकारीसमेत रहेका सुवेदीले भने । थप प्रमाण बुझेर फैसला गर्ने आदेश भएको उनको भनाइ छ । 

फैसलाउपर चित्त नबुझे सरकारी पक्ष र प्रतिवादी दुवैले कानुनले दिएको समयभित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । सुनसरीका तत्कालीन जिल्ला न्यायाधीश अर्जुन कोइरालाले गिरीलाई सफाइ दिएका थिए । उनले गिरीसँग पीडित मोहित भई शरीर समर्पण गरेको भनेर फैसला गरी सफाइ दिएका थिए, जुन फैसला विवादमा परेको थियो । 

सिद्धबाबामाथि सुनसरीस्थित आफ्नै आश्रममा अनुयायीमाथि बलात्कार गरेको अभियोग दायर भएको थियो । अनुसन्धान गरी १० पुस ०७६ मा प्रहरीले सुनसरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । २२ मंसिर ०७७ मा सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले सिद्धबाबालाई सफाइ दिँदै जाहेरवालीको चरित्रमाथि प्रश्न उठाएको थियो ।