मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
किरण दहाल काठमाडाैं
२०७९ जेठ ४ बुधबार ०६:०५:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मधेसमा पनि ठूला दल नै हाबी

Read Time : > 6 मिनेट
किरण दहाल, काठमाडाैं
२०७९ जेठ ४ बुधबार ०६:०५:००

केन्द्रीय सत्ता राजनीतिका लागि निर्णायक थलो मधेसको निर्वाचन परिणाम सबै राजनीतिक शक्तिका लागि महत्वपूर्ण

मधेस प्रदेशमा मधेसका दलहरू नै पछाडि परेका छन् । प्रदेशमा जनाधार धेरै रहेको भनिएका जसपा र लोसपा निर्वाचन परिणाममा ठूला दलभन्दा पछाडि छन् । मंगलबार मध्यरातिसम्म नतिजा आएका मधेसका २० स्थानीय तहमध्ये जसपाले तीन स्थानको प्रमुखमा मात्रै जित हात पारेको छ । लोसपाले त अहिलेसम्म प्रमुखमा खातासमेत खोल्न सकेको छैन । बाँकी १७ स्थानीय तहमध्ये कांग्रेसले आठ, एमालेले ६ र माओवादीले तीन स्थानमा प्रमुख जितेका छन् ।

आठ जिल्लाका एक सय ३६ पालिकामा अहिलेसम्मको मतगणनामा पनि कांग्रेस, एमाले र माओवादीकै अग्रता छ । कांग्रेसले ३६, एमालेले २१ र माओवादीले पाँच ठाउँमा प्रमुख पदमा अग्रता लिइरहेका छन् । मधेसमा बलियो मानिएको जसपाले २५ र लोसपाले १० ठाउँमा प्रमुख पदमा अग्रता लिइरहेका छन् । 

थोरै जिल्ला रहेको मधेस केन्द्रीय सत्ता राजनीतिका लागि निर्णायक थलो हुने भएकाले सबै राजनीतिक शक्तिका लागि स्थानीय निर्वाचन आउने यहाँको परिणाम महत्वपूर्ण छ । मधेसमा एक महानगर (वीरगन्ज), तीन उपमहानगर (जनकपुर, कैलया, जितपुर–सिमरा), ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । एक महानगर, तीन उपमहानगरमा गठबन्धनबीच केन्द्रबाटै तालमेल भएको छ । वीरगन्जमा एमाले र लोसपाबीच पनि तालमेल छ । 

मंगलबार रातिसम्मको मतपरिणामअनुसार मधेसका आठ जिल्लामध्ये कांग्रेस आठवटा पालिका प्रमुख र नौवटा उपप्रमुखमा विजयी भइसकेको छ । एमालेले ६ पालिका प्रमुख र चारवटा उपप्रमुखमा जित निकालेको भने माओवादीले तीनवटा पालिका प्रमुख र तीनवटा उपप्रमुख पद जितेको छ । जसपाले दुईवटा पालिका प्रमुख र दुईवटा उपप्रमुख जितेको छ । अन्य दलले अहिलेसम्म खाता खोलेका छैनन् ।

उपप्रमुखतर्फ कांग्रेसले ३६ वटा पालिकामा अग्रता लिइरहेको छ । त्यस्तै, एमालेले १८, माओवादीले चार, जसपाले २५, लोसपाले नौ ठाउँमा अग्रता लिइरहेका छन् ।

लोसपा नेता तथा संघीय सांसद लक्ष्मणलाल कर्णले स्वतन्त्र र निष्पक्ष चुनाव नभएको र आफ्नो पार्टी नयाँ पनि रहेकाले ठूलो जित हासिल गर्न नसकेको बताए । मधेसको राजनीति गठबन्धनको मारमा परेको र परिणाम जस्तो आए पनि स्वीकार गर्ने उनको भनाइ छ ।

‘स्वतन्त्र र निष्पक्ष चुनाव भएन, आचारसंहिता पालना भएन । आयोगले प्रभावकारी अनुगमन गरेको छैन । सरकारले शक्ति दुरुपयोग गरेको छ । यस्तो विकृतिको मार मधेसमा पनि पर्‍यो,’ उनले भने, ‘हाम्रो पार्टी नयाँ बनेको हो । संगठन निर्माणको क्रममै हुँदा चुनावमा जानुपर्‍यो । त्यसकारण सोचेजस्तो राम्रो गर्न सकेनौँ । तैपनि ठिकै परिणाम आइरहेको छ ।’

जसपा नेता तथा संघीय सांसद प्रमोद साहले मधेसमा ठूला दलहरूको प्रभाव सामान्य रूपमा लिए । विगतको तुलनामा जसपाले मधेसमा सिट बढाउने उनको दाबी छ । ‘अहिले सरकारमुखी नतिजा आइरहेको छ । विगतमा पनि यस्तै हुन्थ्यो । अहिले पनि कांग्रेसले राम्रो गरिरहेको छ । त्यस्तै, ठूला पार्टीहरूले विगतदेखि नै आधिपत्य जमाएर बसेका छन् । जनता पनि ठूला पार्टीतिरै जोडिएका छन् । त्यसकारण उनीहरूले राम्रो भोट ल्याउँछन्,’ साहले भने, ‘गठबन्धन प्रभावकारी नभएको नतिजा हामीले मधेसमा व्यहोरिरहेका छौँ । गठबन्धनले राम्रोसँग काम गरेको भए नतिजा राम्रो आइहाल्थ्यो नि ! मधेसमा कांग्रेसले सबैभन्दा राम्रो गरिरहेको छ । तर, त्यही अनुपातमा अरूको छैन ।’

राजनीति विभाजित भएपछि ठूला दललाई फाइदा हुने विश्लेषक तुलानारायण साह बताउँछन् । पहाडमा कम्युनिस्टहरू विभाजन हुँदाको र मधेसमा त्यहाँ केन्द्रित दलहरू विभाजन हुँदा कांग्रेसलाई फाइदा भएको उनको विश्लेषण छ । गत निर्वाचनमा जस्तै यसपालि पनि मधेसमा ठूला दललाई फाइदा भएको उनले बताए । 

‘राजनीति जति विभाजित हुन्छ, ठूला दललाई त्यति नै फाइदा हुन्छ । पहाडमा विशेषगरी एमाले र माओवादी कांग्रेसका प्रतिस्पर्धी हुन् । मधेसमा एमाले, माओवादीसँगै जसपा र लोसपा पनि उसको प्रतिस्पर्धी हुन् । अरू दलहरू विभाजन भएको हुनाले पहाड र मधेसमा कांग्रेसले फाइदा लिइरहेको छ,’ उनले भने, ‘राजनीति पहिलादेखि नै विभाजित छ । समाज पनि राजनीतिक रूपमा विभाजित छ । चुनावी राजनीति पनि त्यसैअनुसार अघि बढेको छ । नयाँ पार्टीहरूको ‘स्पेस’ छैन । तैपनि मधेसकेन्द्रित दल भनेका जसपा र लोसपा नै हुन्, उनीहरूले केही मत ल्याइरहेकै छन् ।’

राष्ट्रिय ६ पार्टीबाहेक मधेसका आठ जिल्लामा स्थानीय निर्वाचनका लागि २० देखि ३० दल दर्ता भएका छन् । आयोगका अनुसार सप्तरी २८, सिराहा २६, धनुषा २६, महोत्तरी २०, सर्लाही २९, रौतहट ३०, बारा २९ र पर्सामा २७ दल दर्ता छन् । यद्यपि, सबैले उम्मेदवारी दिएका छैनन् । 

निर्वाचन आयोगका अनुसार मधेसमा विभिन्न पदका लागि ४० हजार नौ सय २४ जनाको उम्मेदवारी थियो । मधेसमा नगरपालिकाको मेयरमा एक हजार चार सय २०, उपमेयरमा ६ सय ८४, गाउँपालिकाका अध्यक्षमा आठ सय ९३, उपाध्यक्ष चार सय ७९, वडाध्यक्ष नौ हजार चार सय २०, सदस्य १४ हजार तीन सय ४९, महिला सदस्य सात हजार आठ र दलित महिला सदस्यमा ६ हजार ६ सय ७१ जनाको उम्मेदवारी छ । नौ महिला सदस्य निर्विरोध भएका थिए । 

अन्य प्रदेशमा भन्दा मधेस प्रदेशमा झन्डै दोब्बर उम्मेदवारी थियो । प्रदेश १ मा २१ हजार पाँच सय २२, बागमतीमा २२ हजार ६ सय ६५, गण्डकीमा १२ हजार नौ, लुम्बिनीमा २२ हजार चार सय २६, कर्णालीमा १२ हजार पाँच सय ९६ र सुदूरपश्चिममा १२ हजार आठ सय ६८ जनाको उम्मेदवारी थियो । 

मधेस प्रदेशमा धेरै उम्मेदवारी पर्नुमा धेरै ठाउँमा पाँचदलीय गठबन्धनबीच तालमेल नहुनु, एमाले, कांग्रेस र माओवादीबाहेक जसपा र लोसपाले पनि सबैजसो पदमा उम्मेदवारी दिनु, ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारी पर्नु र चुनाव लड्नका लागि जिल्ला तहमा धेरै दल दर्ता हुनु मुख्य कारण हुन् । 

संघीय र प्रदेश चुनावलाई केन्द्रमा राखेर दलहरूले मधेसमा स्थानीय निर्वाचनमा ध्यान दिएका थिए । ७७ जिल्लामा एक सय ६५ संघीय संसद्का सिट छन्, जब कि मधेसका आठ जिल्लामा मात्रै ३२ सिट छन् । सप्तरी, सिराहा, धनुषा, महोेत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा संघमा चार–चार र प्रदेशमा आठ–आठ सिट छन् । मधेसका आठ जिल्लामा रहेका ३२ संघीय र ६४ प्रादेशिक निर्वाचन क्षेत्र केन्द्रीय र प्रदेश सरकार निर्माणका लागि महत्वपूर्ण अंक हो ।

०७४ को स्थानीय तह निर्वाचनमा मधेस प्रदेशमा कांग्रेस ४० वटा पालिकामा प्रमुखमा विजयी भएको थियो । एमाले १८, माओवादी २१, जसपा (तत्कालीन संघीय समाजवादी फोरम) २६, लोसपा (तत्कालीन राष्ट्रिय जनता पार्टी) २५ ठाउँमा विजयी भएका थिए । त्यस्तै, उपप्रमुखतर्फ ०७४ मा कांग्रेसले ३५ वटा पालिकामा जित हासिल गरेको थियो भने एमालेले १९, माओवादीले २४, तत्कालीन संघीय समाजवादी फोरमले २५, तत्कालीन राष्ट्रिय जनता पार्टीले ३० ठाउँमा जितेका थिए ।

नयाँ पार्टीहरूको स्पेस छैन : तुलानारायण साह, विश्लेषक

राजनीति जति विभाजित हुन्छ, ठूला दललाई त्यति नै फाइदा हुन्छ । पहाडमा विशेषगरी एमाले र माओवादी कांग्रेसका प्रतिस्पर्धी हुन् । मधेसमा एमाले, माओवादीसँगै जसपा र लोसपा पनि उसको प्रतिस्पर्धी हुन् । अरू दलहरू विभाजन भएको हुनाले पहाड र मधेसमा कांग्रेसले फाइदा लिइरहेको छ ।

राजनीति पहिलादेखि नै विभाजित छ । समाज पनि राजनीतिक रूपमा विभाजित छ । चुनावी राजनीति पनि त्यसैअनुसार अघि बढेको छ । नयाँ पार्टीहरूको ‘स्पेस’ छैन । तैपनि मधेसकेन्द्रित दल भनेका जसपा र लोसपा नै हुन्, उनीहरूले केही मत ल्याइरहेकै छन् ।

पुरानो सिट गुमाउँदै नयाँ ठाउँमा जित्दै जसपा

मंगलबार मध्यरातिसम्मको नतिजाअनुसार जसपाले ०७४ मा जितेका चार स्थानीय तहको नेतृत्व गुमाएको छ । तर, नयाँ ठाउँमा भने जित निकालेको छ । जसपाले अहिलेसम्म बाराको करैयामाई गाउँपालिका, धनुषाको जनकनन्दिनी गाउँपालिका र सिराहाको नवराजपुर गाउँपालिकामा जित निकालेको छ । यी तीनवटै पालिकामा ०७४ मा कांग्रेसले जितेको थियो ।

नौ पालिकामा यसकारण भएको छैन मतगणना

चार जिल्लाका नौ पालिकाका ३० केन्द्रमा मतदान रद्द, केहीमा मंगलबार पुनः चुनाव भयो, बाँकीमा बुधबार हुँदै

मधेस प्रदेशका नौ पालिकामा मतगणना सुरु नै हुन सकेको छैन । यी पालिकाका केही केन्द्रमा ३० वैशाखमा मतदान रद्द भएकाले मतगणना रोकिएको हो । जसमा रौतहटका मात्रै ६ पालिका छन् । रौतहटका गढीमाई नगरपालिका, देवाही गोनाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गरुडा नगरपालिका, बैधीमाई गाउँपालिका र यमुनामाई गाउँपालिकाका गरी २० मतदान केन्द्रमा निर्वाचन रद्द भएको थियो । विभिन्न दलका कार्यकर्ताबीच झडप र मतपेटिका नै तोडफोड भएपछि निर्वाचन रोकिएको थियो । ती केन्द्रमा बुधबार पुनः निर्वाचन हुँदै छ । 

मतगणना हुन नसकेका अन्य तहमा सिराहाको गोलबजार नगरपालिका, बाराको पचरौता नगरपालिका र सर्लाहीको बरहथवा नगरपालिका छन् । ३० वैशाखमा गोलबजारको वडा नं. ११ स्थित बल्कवा मतदानस्थलको क, ख, ग र घ केन्द्रमा दलीय विवाद तथा हावाहुरीका कारण मतदान नै रोक्नुपरेको थियो । यी केन्द्रमा मंगलबार पुनः मतदान भइसकेको छ र बुधबारबाट मत गन्ने तयारी छ । पचरौता नगरपालिकाको वडा नं. २ स्थित श्रीनगर बैरिया मतदानस्थलको श्रीनगर प्रावि र बरगाछी केन्द्र तथा वडा नं. ४ को बेलडाँडीस्थित नेपाल राष्ट्रिय प्रावि क र ख केन्द्रमा मतदान रद्द भएको थियो । यी ठाउँमा बुथ कब्जा गरेर मत हाल्ने प्रयास भएपछि मतदान रोकिएको थियो । बुधबार पुनः निर्वाचन हुँदै छ । त्यस्तै, बरहथवा नगरपालिका वडा नं. १७ को आधारभूत विद्यालय परोरिया मतदानस्थलका दुई केन्द्रमा जसपा र अन्य दलबीच विवाद हुँदा मतदान रद्द भएको थियो । यहाँ मंगलबार पुनः मतदान भएपछि बुधबारदेखि मतगणनाको तयारी भएको छ । 

जसपा र लोसपाले ०७४ मा जितेका चार–चार स्थानीय तह यसपटक गुमाए

‘मधेसका शक्ति’ भनिएका जसपा (तत्कालीन संघीय समाजवादी फोरम) र लोसपा (तत्कालीन राष्ट्रिय पार्टी नेपाल) ले ०७४ मा जितेका स्थानीय तहको नेतृत्व पनि यसपटक गुमाइरहेका छन् । मंगलबार मध्यरातिसम्म नतिजा आएका मधेसका २० स्थानीय तहमध्ये जसपाले तीन स्थानमा मात्रै जित हात पारेको छ । लोसपाले त अहिलेसम्म खातासमेत खोल्न सकेको छैन । बाँकी १७ स्थानीय तहमध्ये कांग्रेसले आठ, एमालेले ६ र माओवादीले तीन स्थानमा प्रमुख जितेको छ ।

०७४ मा संघीय समाजवादी फोरमले जितेका सप्तरीको तिरहुत गाउँपालिका र धनुषाको लक्ष्मीनियाँ गाउँपालिका यसपटक कांग्रेसले लगेको छ । त्यस्तै, यसअघि राष्ट्रिय जनता पार्टीको नेतृत्व रहेका सर्लाहीका कौडेना गाउँपालिका र ब्रह्मपुरी गाउँपालिका पनि कांग्रेसले जितेको छ । 

त्यस्तै, एमालेले जितेका ६ मध्ये तीन स्थानीय तहमा पनि अघिल्लोपटक मधेसी दलहरूको नेतृत्व थियो । ०७४ मा संघीय समाजवादी फोरमले जितेका सिराहाका भगवानपुर गाउँपालिका र विष्णुपुर गाउँपालिका तथा राष्ट्रिय जनता पार्टीले जितेको बाराको परवानीपुर गाउँपालिकामा यसपटक एमालेले झन्डा गाडेको छ । ०७४ मा राष्ट्रिय जनता पार्टीले जितेको सर्लाहीको बलरा नगरपालिका यसपटक माओवादीको पोल्टामा गएको छ । 

यसबाहेक कांग्रेसले सप्तरीको सप्तकोसी नगरपालिका र अग्निसाइर कृष्णसवरन गाउँपालिका, धनुषाको धनौजी गाउँपालिका तथा सर्लाहीका हरिपुर नगरपालिका र धनकौल गाउँपालिका पनि जितेको छ । तीमध्ये दुईवटा ०७४ को निर्वाचनमा एमालेले जितेको थियो । 

०७४ मा कांग्रेसले जितेका धनुषाको औरही गाउँपालिका र सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका तथा माओवादीले जितेको धनुषाका विदेह नगरपालिकामा पनि यसपटक एमालेले जित निकालेको छ । त्यस्तै, ०७४ मा कांग्रेसले नेतृत्व गरेका सर्लाहीको रामनगर गाउँपालिका र रौतहटको दुर्गाभगवती गाउँपालिकामा यसपटक माओवादीले जितेको छ ।