मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
पर्शुराम काफ्ले नयाँ पत्रिका
२०७९ जेठ ३ मंगलबार ०७:२४:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

देउवा-मोदी प्रतिनिधिमण्डलस्तरीय वार्ता : हवाई रुट उपलब्ध गराउन र पश्चिम सेतीमा लगानी सहजीकरणका लागि देउवाको प्रस्ताव

Read Time : > 3 मिनेट
२०७९ जेठ ३ मंगलबार ०७:२४:००

करिब ४० मिनेट भएको वार्तामा प्रधानमन्त्री देउवाले उठाएका विषयमा सम्बन्धित भारतीय अधिकारीले गम्भीरतापूर्वक छलफल गर्ने मोदीको आश्वासन 

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्तामा हवाई रुट उपलब्ध गराउन र पश्चिम सेतीमा लगानीका लागि सहजीकरण प्रस्ताव गरेका छन् । आफ्नो निमन्त्रणामा बुद्धजयन्तीको अवसर पारेर सोमबार लुम्बिनी आएका मोदीलाई नयाँ हवाई रुट खोल्न देउवाले प्रस्ताव गरेका हुन् । 

देउवाले भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरु भइसकेको स्मरण गराउँदै महेन्द्रनगर, नेपालगन्ज र जनकपुरमा थप हवाई प्रवेश रुट उपलब्ध गराउन आग्रह गरेका थिए । देउवाको प्रस्तावमा मोदीले सम्बन्धित भारतीय अधिकारीले यसबारे गम्भीरतापूर्वक छलफल गर्ने आश्वासन दिएका छन् । 

‘भारतीय प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीद्वारा उठाइएका विषयबारे सम्बन्धित भारतीय अधिकारीले गम्भीरतापूर्वक छलफल गर्ने आश्वासन दिनुभएको छ,’ परराष्ट्र मन्त्रालयले भनेको छ । परराष्ट्रले जारी गरेको विज्ञप्तिअनुसार गौतमबुद्ध विमानस्थलले दुई देशबीच थप कनेक्टिभिटी, सांस्कृतिक सम्बन्ध, जनस्तरको आवागमन बढ्ने र सांस्कृतिक पर्यटन वृद्धि गर्ने उल्लेख गर्दै देउवाले हवाई प्रवेश रुटका लागि आग्रह गरेका थिए । देउवाले १९ चैतमा दिल्लीमा भएको औपचारिक वार्तामा पनि मोदीसँग हवाई रुट अनुमतिका लागि आग्रह गरेका थिए । 

प्रधानमन्त्री देउवाले पश्चिम सेती परियोजनामा लगानीको सहजीकरण गरिदिन पनि मोदीसँग आग्रह गरेका छन् । परराष्ट्रका अनुसार देउवाले भारतको नेसनल हाइड्रोपावर इलेक्ट्रिक कर्पोरेसन (एनएचपिसी)लगायत इच्छुक भारतीय कम्पनीलाई पश्चिम सेतीमा लगानीका लागि आह्वान गरेका छन् । प्रधानमन्त्री मोदीले नेपालको जलविद्युत् क्षेत्रको विकासमा भारतको सहयोग रहने तथा पश्चिम सेतीबारे चासो राख्ने भारतीय लगानीकर्तालाई प्रोत्साहन गर्ने आश्वासन दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । उनीहरूबीच पञ्चेश्वर परियोजनालाई प्राथमिकताका साथ अघि बढाउने सहमति पनि भएको छ । 

देउवाले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी निर्माण, डडेल्धुराको परशुराम धाम र भारतको उत्तराखण्डस्थित पूर्णागिरी माई जोड्ने पुल तथा महाकाली नदीमा नेपाल र झुलाघाट जोड्ने पुललगायत पूर्वाधार निर्माणमा सहयोग गर्न पनि आग्रह गरेका छन् । देउवाले भारतीय अनुदान सहयोगमा उदयपुरको मोतीगडा–फत्तेपुर–रामपुर सडक निर्माणका लागि समेत मोदीलाई आग्रह गरेका छन् ।

काठमाडौंबाहिर दुई देशबीच शीर्ष तहमा पहिलोपटक औपचारिक वार्ता भएको हो । भारतीय प्रधानमन्त्री मोदीसँग राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव विनयमोहन क्वात्रा, कार्यवाहक राजदूत नाम्ग्य सी खम्पासहित विदेश मन्त्रालयका अधिकारी थिए । प्रधानमन्त्री देउवासँग गृह, परराष्ट्र, भौतिक पूर्वाधार, ऊर्जा, शिक्षा, कानुनमन्त्री तथा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । 

एकदिने भ्रमणमा आएका मोदी करिब पाँच घन्टा लुम्बिनीमा आयोजित आधा दर्जन कार्यक्रममा सहभागी भए । देउवासँग अनौपचारिक वार्तासमेत गरेका उनले मायादेवी मन्दिरमा पूजा गरे । मोदीले बुद्धको जन्मस्थल भएको ऐतिहासिक प्रमाण अशोक स्तम्भमा दीप प्रज्वलन गरे । उनले ०७१ मा उपहारस्वरूप पठाएको पवित्र बोधि रूखमा पानी पनि हाले । देउवा र मोदीबीच गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई भारतका बोधगया र कुशीनगरसँग जोडेर बुद्ध सर्किट निर्माणमा साझा प्रयास गर्ने सहमति पनि भएको छ । लुम्बिनी र कुशीनगरबीच भगिनी सहर सम्बन्ध स्थापना गर्ने सहमति पनि भएको छ । सीमा समस्या तथा इपिजी प्रतिवेदनका विषयमा भने छलफल भएन । नेपाल र भारत दुवैका वक्तव्य तथा देउवा र मोदीले सोमबार लुम्बिनीमा गरेका सार्वजनिक सम्बोधनमा सीमाबारे उल्लेख गरेनन् । 

परराष्ट्रका अनुसार नेपालमा चाँडै मल आपूर्ति गर्ने, प्रोटोकल र मेमोरेन्डमसहित संशोधित पारवहन सन्धिको टुंगो लगाउने, व्यापार सन्धिको पुनरावलोकनलगायत विषयमा छलफल भएको छ । बुद्धिस्ट सर्किट र रामायण सर्किटसहित संस्कृति तथा पर्यटनका एजेन्डा, शिक्षा तथा प्राज्ञिक सहकार्य, नागरिकले लैजान पाउने भारतीय रुपियाँको थ्रेसहोल्ड बढाउने तथा आपसी हितका आधारमा क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा सहकार्य गर्ने विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ । 

दुवै प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्माण हुन लागेको इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेजको सामूहिक शिलान्यास गरेका छन् । यो लुम्बिनीको विहार क्षेत्रमा छ । लुम्बिनी इन्टरनेसनल बुद्धिस्ट मेडिटेसन सेन्टर तथा सभाहलमा लुम्बिनी विकास कोषलाई दुवै प्रधानमन्त्रीले सम्बोधन पनि गरे । भारतीय प्रधानमन्त्रीले नेपाल र भारतका सांस्कृतिक सम्पदाहरू एकअर्काेविना अधुरो हुने भन्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउँदा आफूलाई अपार आनन्द भएको बताएका छन् । उनले नेपालको हरेक राजनीतिक भ्रमण उनका लागि तीर्थयात्राजस्तो लाग्ने पनि उल्लेख गरे ।

 मोदीलाई हेलिप्याडमा प्रधानमन्त्री देउवा, प्रधानमन्त्रीपत्नी आरजु राणा देउवा तथा सातजना मन्त्री र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वागत र बिदाई गरेका थिए ।

निर्बाध विद्युत् व्यापारको प्रस्ताव
प्रधानमन्त्री देउवाले पारस्परिक रूपमा लाभ हुने सर्तमा दीर्घकालीन रूपमा निर्बाध विद्युत् व्यापारका लागिसमेत अनुरोध गरेका छन् । देउवाको भारत भ्रमणमा जारी भएको संयुक्त भिजन स्टेटमेन्टका आधारमा अब दीर्घकालीन व्यापार गर्नुपर्नेमा देउवाको जोड थियो । उनीहरूले अरुण तेस्रो परियोजना निर्माणमा भएको प्रगतिमा सन्तोष व्यक्त गरेका छन् भने नेपाल विद्युत् प्राधिकरण र सतलज जलविद्युत् निगमबीच अरुण चौथो जलविद्युत् आयोजना निर्माणका लागि भएको समझदारीको स्वागत गरेका छन् । दुई प्रधानमन्त्रीबीच निजी सार्वजनिक साझेदारी मोडेलमा स्वच्छ ऊर्जा उत्पादन गर्नुपर्ने विषयमा छलफल भएको थियो । 

बुद्ध जन्मस्थलबाट प्राप्त ऊर्जा अविस्मरणीय : मोदी

लुम्बिनी विकास कोषद्वारा आयोजित बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै मोदीले बुद्धको जन्मस्थलमा भ्रमण गर्दा अलग्गै अनुभूति भएको बताए । मायादेवी मन्दिर दर्शन अविस्मरणीय बनेको बताउँदै उनले भने, ‘जुन ठाउँमा स्वयं भगवान् बुद्धले जन्म लिएका थिए, त्यहाँको ऊर्जा, त्यहाँको चेतना मेरा लागि अलग्गै अनुभूति भएको छ ।’ २२ मिनेट सम्बोधन गरेका मोदीले गौतम बुद्ध नेपाल र भारतका साझा विरासत रहेकोसमेत बताए । उनले वर्तमान वैश्विक परिस्थितिमा मानवहितका लागि नेपाल–भारत मित्रता निरन्तर बलियो हुनुपर्ने धारणा पनि राखे । ‘आज जुन ढंगले वैश्विक परिस्थिति बनिरहेको छ, यसमा भारत र नेपालको निरन्तर मजबुत मित्रता र हाम्रो घनिष्ठताले सम्पूर्ण मानवताको हितको काम गर्नेछ,’ जनकपुरमा चार वर्षअघि नेपालविना राम अधुरो हुन्छ भनेको उल्लेख गर्दै मोदीले थपे, ‘भारतमा बनिरहेको श्रीरामको मन्दिरबाट नेपालका जनता पनि उत्तिकै खुसी रहेको मलाई थाहा छ ।’ लुम्बिनीबाट फर्किएपछि पनि मोदीले बुद्ध पूर्णिमामा नेपालको भ्रमण विशेष रहेको भन्दै ट्विटरमार्फत खुसी व्यक्त गरेका छन् । 

दुई देशको सम्बन्ध थप सुदृढ : देउवा
प्रधानमन्त्री देउवाले वैशाख पूर्णिमाका दिन लुम्बिनी भ्रमण गरेकोमा मोदीलाई धन्यवाद दिएका छन् । ‘गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा मोदीको विशेष तीर्थयात्राले दुई देशबीचको मित्रता र सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउने मेरो विश्वास छ,’ देउवाले विशेष समारोहलाई सम्बोधन गर्दै भने । 

तस्बिर : रासस