१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
बुद्धजयन्तीका लागि सिँगारिएको लुम्बिनी । तस्बिर : रासस
दीपेश पछाई लुम्बिनी
२०७९ जेठ २ सोमबार ०६:००:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मोदी आज लुम्बिनी आउँदै

Read Time : > 3 मिनेट
२०७९ जेठ २ सोमबार ०६:००:००

मोदीको ६ घन्टे कार्यतालिका, देउवासँग दुई चरण वार्ता

करिब ६ घन्टाको व्यस्त कार्यतालिका लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी आउँदै छन् । बुद्धजयन्तीका अवसरमा भारतको कुशीनगरस्थित गौतम बुद्धले महापरिनिर्माण गरेको स्थानमा निर्मित मन्दिर दर्शन गरेर त्यहींबाट उनी लुम्बिनी आउन लागेका हुन् । 

भारतबाट प्रधानमन्त्रीस्तरमा पहिलोपटक लुम्बिनी भ्रमण हुन लागेको हो । लुम्बिनीमा नेपाल र भारतका प्रधानमन्त्रीबीच आपसी एजेन्डाहरूमा छलफल हुनेछ भने केही सम्झौतापत्रमा हस्ताक्षरको तयारी भएको छ । 

आठ वर्षअघि सार्कको १८औँ शिखर सम्मेलनमा काठमाडौं आउँदा मोदीले लुम्बिनी भ्रमण गर्ने उद्घोष गरेका थिए । त्यतिवेला जनकपुर, मुक्तिनाथ र लुम्बिनी भ्रमणमा जाने घोषणा गरेअनुसार अब लुम्बिनी मात्रै बाँकी छ । नेपाल र भारतका कूटनीतिक अधिकारीबीच करिब ६ महिनादेखि मोदीको लुम्बिनी भ्रमणबारे छलफल हुँदै आएको कूटनीतिक स्रोतले जनाएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा आउन लागेका मोदी सोमबार ६ घन्टा लुम्बिनीमा रहनेछन् । उनको भ्रमणका लागि सुरक्षा तयारी पूरा भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । नेपाली र भारतीय सुरक्षाकर्मी सुरक्षाका लागि खटिएका छन् । 

सुरक्षा स्रोतका अनुसार मोदी बिहान पौने ११ बजे भारतीय हवाई सेनाको हेलिकोप्टरबाट भारतको कुशीनगर हुँदै लुम्बिनी आउनेछन् । मोदीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्का, परराष्ट्रसचिव भरतराज पौड्याललगायत उच्च अधिकारीले लुम्बिनीमा स्वागत गर्नेछन् । 

प्रधानमन्त्री मोदी हेलिप्याडमा अवतरण गरेलगत्तै मायादेवी मन्दिरमा पुग्नेछन् । मायादेवी मन्दिरमा प्रधानमन्त्री देउवाले मोदीलाई स्वागत गर्नेछन् । प्रधानमन्त्री देउवा र मोदीले एकैसाथ मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । देउवा र मोदी त्यहाँ आधा घन्टा सँगै रहनेछन् । 

मोदीले लुम्बिनीस्थित बौद्ध बिहारहरूको पश्चिमी क्षेत्रमा एक अर्ब ६० करोड भारतीय सहयोगमा निर्माण हुन लागेको सांस्कृतिक तथा सम्पदा केन्द्रको शिलान्यास गर्नेछन् । कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार लुम्बिनी गुरुयोजनामा बिभिन्न बिहारहरू निर्माणका लागि ४२ वटा प्लट छुट्याइएकोमा ४१ वटा वितरण भइसकेको छ । यिनैमध्ये एक बिघाको प्लट भारतलाई कोषले दिएको हो । जम्मा १७ प्लट विभिन्न मुलुकलाई बिहार निर्माणका लागि दिएको छ । २५ प्लटमा बिहार निर्माण भइसकेका छन् भने १६ वटा निर्माणाधीन अवस्थामा छन् । केन्द्रको शिलान्यासपछि मोदी आठ वर्षअघि लुम्बिनीमा रोपिएको बोधी वृक्षमा पानी चढाएर पवन अन्तर्राष्ट्रिय होटेल पुग्नेछन् । 

देउवासँग दुई चरण वार्ता
मोदीसँग सुरुमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले १० मिनेट शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि मोदी र प्रधानमन्त्री देउवाबीच दुई चरणमा भेटवार्ता हुनेछ । पहिलो चरणमा, देउवा र मोदीबीच सानो समूहमा र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । भेटवार्तामा दुई देशबीच आधा दर्जनजति सम्झौतापत्रहरूमा हस्ताक्षर हुनेछ । त्यसपछि प्रधानमन्त्री देउवाद्वारा आयोजित दिवाभोजमा मोदी सहभागी हुनेछन् । 

दिवाभोजपछि मोदीले व्यापारिक समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा अपराह्न ३ः३० मा प्रधानमन्त्री देउवा र मोदीले बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । मोदी साँझ ५ बजेपछि भारतीय वायुसेनाको हेलिकोप्टरबाट कुशीनगरतर्फ प्रस्थान गर्नेछन् । कुशी(नगरमा महापरिनिर्माण मन्दिर दर्शन गरेपछि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यन(ाथसँगै मोदी लखनउ प्रस्थान गर्ने कार्यक्रम छ । 

मोदीले भने– नेपालसँग अतुलनीय सम्बन्ध

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमणपूर्व आइतबार जारी विज्ञप्तिमा नेपालसँग भारतको सम्बन्ध अतुलनीय रहेको बताएका छन् । ‘नेपालसँगको हाम्रो सम्बन्ध अतुलनीय छ । भारत र नेपालबीचको सभ्यता र जनताबीचको सम्पर्कले हाम्रो घनिष्ट सम्बन्धको स्थायी आधार तयार गरेको छ,’ मोदीले विज्ञप्तिमा भनेका छन्, ‘मेरो भ्रमण शताब्दीयौँदेखि बढ्दै गएको र अन्तरमिलनको हाम्रो लामो इतिहासमा रेकर्ड गरिएका सम्बन्धहरूलाई पुनः ताजगी गर्ने र अझ गहिरो बनाउने उद्देश्य हो ।’ 

मोदीले गौतम बुद्धको जन्मस्थलमा लाखौँ भारतीयहरूको पाइला पछ्याएर दर्शन गर्न तत्पर रहेको बताएका छन् । उनले प्रधानमन्त्री देउवासँग साझा समझदारीलाई निरन्तरता दिने विषयमा पनि छलफल हुने उल्लेख गरेका छन् । 

‘बुद्धजयन्तीको शुभ अवसरमा मायादेवी मन्दिरमा पूजाआजा गर्न तत्पर छु,’ मोदीले भनेका छन्, ‘भगवान् बुद्धको जन्मस्थलमा श्रद्धा अर्पण गर्न लाखौँ भारतीयको पाइला पछ्याउन पाउँदा म सम्मानित छु । गत महिना प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि म फेरि भेट्न पनि उत्सुक छु ।’ मोदीले जलविद्युत्, विकास र कनेक्टिभिटीलगायतका विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने दुई देशको साझा समझदारीलाई निरन्तरता दिने बताएका छन् । 

के भन्छन् विज्ञ ? 
रणनीतिक मामिला जानकारहरूले बौद्धधर्म कूटनीतिमार्फत छिमेक र बाहिर भारतले स्थान बढाउँदै लैजाने प्रयासका रूपमा लुम्बिनी भ्रमणलाई अथ्र्याएका छन् । यसलाई लुम्बिनीको प्रवद्र्धनमा फाइदा पुग्ने अवसरका रूपमा सरकारले सदुपयोग गर्नुपर्ने उनीहरूको राय छ । 

‘बौद्ध धर्म कूटनीतिमार्फत यो क्षेत्रलाई जोड्ने रणनीतिक कदम भारतले चालेको अर्थमा मोदीको लुम्बिनी भ्रमणलाई लिनुपर्छ । यो उनको द्विपक्षीय भ्रमण वा पूजापाठ मात्र होइन, यसलाई मोदीको छिमेक प्रथम नीति कार्यान्वयनको रणनीतिक उद्देश्यसँग जोडेर हेर्नुपर्छ,’ रणनीतिक मामिला विज्ञ विनोज बस्न्यातको टिप्पणी छ । एसियामा अमेरिकासहित पश्चिमा मुलुकहरूको चासो र प्रभाव बढिरहेको अवस्थामा भारतले बुद्ध धर्ममार्फत प्रभाव विस्तार गर्न खोजेको बस्न्यातको भनाइ छ ।

प्रधानमन्त्री देउवा चैत १८ देखि २० सम्म भारत भ्रमणका क्रममा सांस्कृतिक सहर वाराणसी गएका थिए । त्यहाँ उनलाई भव्य स्वागत गरिएको थियो । बस्न्यातको भन(ाइमा बुद्धिष्ट कूटनीतिमार्फत भारतले सुरुमा दक्षिण एसिया र त्यसपछि चीन हुँदै पूर्वी एसियामा प्रभाव विस्तार गर्ने रणनीतिक उद्देश्य राखेको छ । त्यसबाट नेपाललाई पनि फाइदा पुग्ने उनको भनाइ छ । 

नेपालमा आगामी मंसिरसम्म निर्वाचन हुन लागेका वेला राजनीतिक पार्टीहरूले भारतविरोधी एजेन्डा नउठाउन् भन्ने भारतको चाहना छ । मोदीको भ्रमणले त्यसमा पनि सहयोग पुग्ने भारतीय विश्लेषकहरूको भनाइ छ । ‘भारतको छिमेक प्रथम नीति र यसमा पनि बौद्ध सम्पदाहरूमा आपसी सहकार्यबाट नेपाललाई फाइदा छ । बृहत् बौद्ध नेटवर्क बन्दा नेपाल आर्थिक रूपमा पनि लाभान्वित हुन सक्छ,’ बस्न्यातले भने, ‘अन्तर्राष्ट्रिय सम्बन्धमा धर्मको बढ्दो प्रभाव छ । बौद्ध धर्म कूटनीति प्राकृतिक हो । भारत र चीनको कूटनीतिक सम्बन्ध सम्पर्क कुनै वेला बौद्ध धर्मले जोडेको यथार्थ हामीले बिर्सन हुँदैन । हामीले यसलाई फाइदाका रूपमा अघि बढाउन सक्नुपर्छ ।’

दिल्लीस्थित नेपाल–भारत सम्बन्धका जानकार सुधीन्द्र भदोरियाले लुम्बिनीलाई शान्तिको वैश्विक गन्तव्य बनाउनुपर्ने भन्दै उच्चस्तरीय भ्रमणले त्यस दिशामा योगदान गर्न सक्नुपर्ने बताए । ‘बुद्धको जन्मस्थल नेपालको लुम्बिनी, ज्ञान प्राप्त गरेको बिहारको बोधगया र बुद्धले ज्ञान बाँडेको उत्तरप्रदेशको बनारसलाई त्रिकोणात्मक रूपमा जोड्नुपर्छ र बौद्धमार्गीहरूको पहुँच सरल बनाउनुपर्छ,’ भदोरियाले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘युरोप अहिले वार जोन भइरहेको छ । हामी बौद्ध सम्पदाहरूलाई शान्ति क्षेत्र बनाउन सक्छौँ । लुम्बिनीमा अन्तर्राट्रिय शान्ति सम्मेलन आयोजना गर्नुपर्छ भन्ने मेरो सुझाव छ ।’

नेपाल–भारत मामिला जानकार एवं थिंकट्यांक आइडिएसएका रिसर्च फेलो डा. निहार नायकले बुद्धजयन्तीका अवसरमा भ्रमण गर्नु अर्थपूर्ण रहेको बताए । ‘देउवाजीको भारत भ्रमणपछिको यो    रिटर्न भिजिट हो, दुई देशको निकटताको प्रतिबिम्बका रूपमा यसलाई लिनुपर्छ,’ नायकले टेलिफोनमा भने, ‘बुद्धिष्ट र हिन्दूको साझा केन्द्र रहेको लुम्बिनी भ्रमण गरेर मोदीजीले यो क्षेत्रका अल्पसंख्यक बौद्ध समुदायलाई सम्बोधन गर्न खोजेका छन् ।’ भारतीय सीमाबाट १५ किलोमिटर टाढा रहेको लुम्बिनीमा भारतको बिहार हालसम्म थिएन । ‘यसको चीनलाई पनि सन्देश हो कि चीनको प्रभाव अब हिमालयबाट बाहिर गइसकेको छ,’ नायकले भने ।