मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत १ शुक्रबार ०९:५५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

एकीकरण टुंग्याउने अन्तिम गृहकार्यमा नेकपाका शीर्ष नेता

पहिलो चरणमा जिल्ला अध्यक्ष–सचिवको सूची टुंगो लाग्दै 

Read Time : > 2 मिनेट
२०७५ चैत १ शुक्रबार ०९:५५:००

दश महिनादेखि अल्झिएको एकीकरण प्रक्रियाको बाँकी काम केही दिनमै टुंगो लगाउने गरी नेकपाको शीर्ष तहमा ‘निर्णायक’ छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेताले केही दिनभित्रै एकीकरण टुंगो लगाउने गरी बिहीबारबाट छलफल सुरु गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहभागी थिए । उनीहरूबीच अढाई घन्टा छलफल भएको हो । 

पहिलो चरणमा जिल्ला अध्यक्ष र सचिवको सूची टुंगो लगाउन सचिवालय बैठकमा अनुमोदनका लागि प्रस्ताव लैजाने गरी ‘निर्णायक छलफल’ अघि बढेको नेताहरूले बताएका छन् । ‘एक–दुई दिनमै टुंगिन्छ कि टुंगिँदैन, तर फेरि छलफलको क्रम सुरु हुन खोजेको छ । विधि र मापदण्डका आधारमा पार्टीलाई एकताबद्ध गरेर लैजाने सोच हो भने छिट्टै टुंगिन सक्छ,’ बैठकपछि नेता नेपालले नयाँ पत्रिकासँग भने, ‘ढिलाइ भो, बैठक बसेन, भेटै भएन भने त हुन सक्दैन । तर, अहिले धेरै ढिलाइ भइसकेकाले दुई दिन होइन, आमचाहना एक दिनमै होस् भन्ने छ । अहिले त्यस दिशामै छलफल अघि बढ्ने सकारात्मक संकेत देखिएको छ ।’

एकीकरणको बाँकी कामसमेत टुंगो लगाउन बनेको नौ सदस्यीय कार्यदल भंग भएपछि नेकपाका शीर्ष नेताहरू छिटो एकीकरण टुंग्याउनुपर्ने दबाबमा छन् । एकीकरण अल्झिएपछि नेकपाको सांगठनिक गतिविधि ठप्प छ भने देशभरका करिब ८ लाख पार्टी सदस्य निष्क्रिय छन् ।

अध्यक्ष र सचिवमा ओली–प्रचण्डको प्रस्ताव 
अध्यक्षद्वय ओली र प्रचण्डले गृहकार्य गरेर तयार पारेको जिल्ला अध्यक्ष र सचिवसहित जिल्ला कमिटीको सूचीमा शीर्ष नेताहरूले छलफल सुरु गरेका छन् । पूर्वएमाले र पूर्वमाओवादी समूहमध्ये एउटाले अध्यक्ष लिए अर्कोले सचिव लिने गरी बनेको प्रस्तावमा पालैपालो जिल्ला टुंगो लगाउँदै जाने दिशामा छलफल भइरहेको प्रधानमन्त्रीनिकट स्रोतले बतायो । ‘दुई अध्यक्षले आ–आफ्नो समूहलाई समेटेर प्रस्ताव तयार पार्नुभएको छ । त्यही प्रस्तावमा अरू नेताहरूसँग पनि छलफल अघि बढेकाले लगातार यो क्रमले निरन्तरता पाउँदा अब दुई–तीन दिनकै बीचमा पहिलो चरणमा जिल्ला एकीकरण टुंगो लाग्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले जनायो । अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि अमेरिका जाने तयारीमा रहेकाले पनि पहिलो चरणमा केही दिनमै जिल्ला एकीकरण टुंगो लगाउने तयारी भइरहेको स्रोतको भनाइ छ । 

महासचिव विष्णु पौडेलले तयार पारेको सूचीमा ओली र प्रचण्डले गृहकार्य गरेपछि वरिष्ठ नेता नेपालसहित नेताहरूबीच छलफल भएको हो । ‘हामीले एकीकरण यथाशीघ्र निश्चित विधि, प्रक्रिया र मापदण्डको आधारमा टुंग्याऊँ, त्यसका लागि ढुक्कसँग लगातार २–३ दिन छलफल गरौँ भनेका छौँ,’ वरिष्ठ नेता खनालले नयाँ पत्रिकासँग भने, ‘त्यसरी गृहकार्य भएपछि चाँडो सचिवालय बैठक आयोजना गर्ने दिशामा छलफल भएको छ ।’

नेता नेपालसँग ओलीको छुट्टै छलफल 
सामूहिक छलफलअघि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग छुट्टै छलफल गरेका थिए । पूर्वएमालेभित्र नेपालको समेत सहमतिमा प्रस्तावलाई अन्तिम रूप दिने गरी दुई नेताबीच छुट्टै छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले बतायो । नेपालले व्यक्ति को–कताभन्दा पनि विधि, प्रक्रिया र मापदण्डअनुसार ज्येष्ठतालाई प्रमुख आधार मानेर जिल्ला अध्यक्ष र सचिवको चयन हुनुपर्नेमा जोड दिँदै आएका छन् । उनको प्रस्तावमा सचिवालयमा खनाल, गौतम र नारायणकाजी श्रेष्ठको पनि समर्थन छ । पछिल्लोपटक ओली सकभर नेपाललाई मनाएर मात्रै सचिवालय र स्थायी समितिमा एकीकरण प्रस्ताव लैजाने कसरतमा देखिए पनि पर्याप्त संवाद भएको छैन । यसअघि प्रदेश तहमा बनेको कार्यदलमध्ये ५ नम्बर प्रदेशले पठाएको एकीकरण प्रस्तावमा नेपाल समूहले बढी आपत्ति जनाएको छ । प्रधानमन्त्री ओली र प्रचण्डबीचको छलफल सकिएपछि नेपालसँग ओलीले छुट्टै वार्ता गरेका थिए । त्यसपछि क्रमशः खनाल र गौतम बालुवाटार पुगेका थिए । 

प्रवक्ता श्रेष्ठलाई बोलाइएन 
अध्यक्ष ओली र प्रचण्डले बालुवाटारमा बोलाएको बिहीबारको पाँच नेताको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बोलाइएको थिएन । पूर्वमाओवादीमा दोस्रो वरीयतामा रहेका श्रेष्ठ नेकपाभित्र छैटौँ वरीयतामा छन् । ‘उहाँहरू (पूर्वमाओवादी) समूहभित्र एकताबारे खासै समस्या नभएकाले पनि उहाँलाई नबोलाइएको हो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो । तर, ओलीले केही दिनयता सचिवालय सदस्य ईश्वर पोखरेल, पूर्वमाओवादीका नेता रामबहादुर थापा ‘बादल’सँग भने एक्लाएक्लै पनि छलफल गरेको स्रोतले जनाएको छ । 

विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्धबारे साझा मत 
पार्टीभित्र छलफलै नगरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्धमाथि असन्तुष्टि जनाउँदै आएका नेपाल, खनाल र गौतमले छलफलपछि समर्थन जनाएका छन् । प्रतिबन्ध लगाउनुपर्ने बाध्यताबारे सुरक्षा निकायको प्रतिवेदनलाई समेत आधार बनाउँदै प्रधानमन्त्री ओलीले ‘ब्रिफिङ’ गरेपछि पार्टीमा साझा मत तय भएको हो । सबैले सरकारको कदमको पक्षमा बोल्ने निष्कर्ष निकालिएको नेताहरूको भनाइ छ । 

‘विप्लव समूहलाई हत्या–हिंसाको बाटोबाट शान्तिपूर्ण बाटोमा आउन यो (सरकारको) निर्णयले पक्कै सहयोग पुग्नेछ,’ वरिष्ठ नेता नेपालले सञ्चारकर्मीसँग भने, ‘किनभने उहाँहरूमा बन्दुकको बलमा राज्यलाई तह लगाउन सक्छौँ भन्ने भ्रम देखियो । पार्टीभित्र पहिले छलफल हुन सकेको भए, विभिन्न तौरतरिका अवलम्बन गर्न सकेको भए राम्रो प्रक्रिया हुन्थ्यो कि भन्ने मात्र हो, सरकारको कदममा आलोचना गर्नुपर्ने स्थिति छैन ।’ अर्का वरिष्ठ नेता खनालले पनि सामूहिक छलफलपछि विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध उचित रहेको निष्कर्ष निकालिएको बताए ।