मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १ आइतबार ०९:२८:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सुन्निएको ठाउँमा आइस प्याक : गलत गर्दै हुनुहुन्छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ १ आइतबार ०९:२८:००

कडा व्यायाम वा चोटपटक लागेपछि, हामीमध्ये धेरै दुखिरहेको मांसपेशीमा ‘आइस प्याक’ लगाउँछौँ । तर, पशुहरूमा गरिएको एक नयाँ अध्ययनले सुन्निएको मांसपेशीमा बरफ प्रयोग गर्दा मांसपेशीको अणुस्तरमा प्रभाव पर्ने र निको हुने गति ढिलो हुने देखाएको छ ।

मुसामाथि अध्ययन गरिएको भए पनि पछिल्ला अन्य अध्ययनले पनि कडा व्यायामपछि दुखिरहेका मांसपेशीमा आइस प्याकको प्रयोग प्रभावकारी नहुने मात्र होइन, प्रत्युत्पादक हुने देखाएको छ ।

अधिकांश जिममा राखिने फ्रिज वा एथ्लेटिकका भान्सामा ‘आइस प्याक’ अनिवार्यजस्तै हुन्छ । खेलाडीहरूका लागि ‘आइस प्याक’ पानीको बोतलजस्तै हुने गरेको छ । खेलाडीहरू केही नसोची कठोर व्यायाम वा चोटपटकपछि दुखिरहेको भागमा ‘आइस प्याक’ लगाइहाल्छन् । यसो गर्नुपछाडिको तर्क हुन्छ, दुखेको भागलाई बरफले लाटो बनाउँछ र दुखाइ कम हुन्छ ।  

तर, हालैका वर्षमा वैज्ञानिकहरूले गरेको अध्ययनको निष्कर्षले आइस प्याकको प्रयोगले फाइदा गर्छ भन्ने विश्वासमाथि प्रश्न उठाउन थालेको छ । उदाहरणका लागि सन् २०११ मा गरिएको एक अध्ययनमा पिँडुलाको मांसपेशी च्यात्तिएका मानिसले ‘आइस प्याक’ प्रयोग गरेको केही छिनमा पुनः उत्तिकै दुखाइ महसुस गरेको पाइयो । त्यसले सुन्नेको बसाउन पनि केही प्रभाव नपारेको पाइयो । जसका कारण अध्ययनमा ‘आइस प्याक’ लगाउने सहभागीहरू चाँडै काम वा अन्य गतिविधिमा फर्किन असमर्थ भए । 

सन् २०१२ को अर्को वैज्ञानिक समीक्षाअनुसार कडा व्यायामपछि मांसपेशी दुखाइ कम गर्न आइस प्याक प्रयोग गर्ने खेलाडीको मांसपेशीको बल र शक्ति आइस प्याक प्रयोग नगर्नेहरूमा भन्दा धेरै बिस्तारै फर्किएको थियो । तौल प्रशिक्षणसम्बन्धी सन् २०१५ को एक अध्ययनले कसरतपछि नियमित रूपमा आइस–प्याक प्रयोग गर्ने पुरुषले बरफ प्रयोग नगर्ने पुरुष अभ्यासकर्ताको तुलनामा कम मांसपेशी बल, आकार र सहने सामथ्र्य विकास गरेको पत्ता लगायो ।

तर, आइस प्याकको प्रयोगले सूक्ष्म तहमा घाउ, क्षतिग्रस्त मांसपेशीहरूलाई कसरी असर गर्छ भन्नेबारे धेरै जापानस्थित कोबे विश्वविद्यालयका अनुसन्धानदाताले एक अध्ययन गरे । मांसपेशीको बनावटबारे चाख राख्ने विश्वविद्यालयका अनुसन्धानदाताले ४० वटा स्वस्थ्य भाले मुसामाथि अनुसन्धान गरेका थिए । 

मार्च ०२१ मा जर्नल अफ एप्लाइड फिजियोलोजीमा प्रकाशित अध्ययनअनुसार मुसाको तल्लो खुट्टामा विद्युतीय झट्का दिएर पिँडुलाको मांसपेशीहरू बारम्बार संकुचित गरिएको थियो । यसमा एक लामो, थकाउने व्यायामपछि मानिसको खुट्टाको मांसपेशी च्यातिने कुराको नक्कल गर्न खोजिएको थियो । 

कोबे विश्वविद्यालयको अध्ययनमा अन्वेषकको मुख्य चासो मांसपेशी कसरी सद्दे बन्छन् भन्ने थियो । र, आइस प्याकको प्रयोगले तिनमा कुनै परिवर्तन हुन्छ कि हुँदैन भन्ने पनि खोजको विषय थियो । त्यसैले मुसालाई विद्युत्को झट्का दिएपछि आधाजसो मुसाको खुट्टामा मसिनो आइस प्याक बाँधिदिए । आधा मुसालाई बिजुलीको झट्कापछि केही गरिएको थिएन । 

वैज्ञानिकले दुवै समूहका मुसाबाट दुई सातासम्म मांसपेशीको नमुना संकलन गरे । मांसपेशीको सूचना संकलन सुरुमा केही घन्टाको अन्तर गरिएको थियो भने पछि दिनको अन्तरमा गरियो । संकलित मांसपेशीका नमुना सूक्ष्मदर्शक यन्त्रको प्रयोग गरेर जाँच गरियो । यसमा सुन्निएको कोषभित्रका परिवर्तनमा विशेष नजर राखियो । कुनै संक्रमण वा चोटपटक हुँदा शरीरको कोषिकाले सुन्निएर पहिलो प्रतिक्रिया दिन्छन् । सुन्निने प्रकृतिका कोष आक्रमणकारी कीटाणुसँग लड्छन् वा तन्तु र कोषका क्षतिग्रस्त हिस्सालाई पखाल्छन् । 

शोधकर्ताले विद्युत् झट्कापछि मुसाको खुट्टाको मांसपेशी सूक्ष्मदर्शक यन्त्रले हेर्दा फाइबरमा क्षति भएको स्पष्ट प्रमाण देखे । त्यसपछि तिनले बरफ दिइएको र नदिइएकोबीचको भिन्नतामा ध्यान दिए । विद्युतीय झट्का लगाएपछि बरफ नदिइएका मुसाका तन्तुमा, सुन्निने कोशिका (प्रो–इन्फ्लेमेटरी सेल) द्रुत गतिमा जम्मा भयो । केही घन्टाभित्रै यी कोशिकाले कोशभित्र जम्मा भएको फोहोरलाई हटाउन थाले । तेस्रोे दिनसम्म अधिकांश क्षतिग्रस्त फाइबरहरू हटिसकेका थिए । त्यस बिन्दुमा एन्टी–इन्फ्लेमेटरी (नसुन्निने) कोशिकाहरू तन्तु निर्माण गर्ने विशेष मांसपेशी कोशिकासँग देखा पर्न थाले । दुई साताको अत्यसम्ममा क्षतिग्रस्त मांसपेशी पूर्ण रूपमा स्वस्थ बनेका थिए । तर ‘आइस प्याक’ प्रयोग गरिएको मांसपेशीमा त्यस्तो भएन । आइस प्याक प्रयोग नगरिएका मांसपेशी तीन दिनमा पुगेको प्रो–इन्फ्लेमेटरी कोशिका पुग्न यिनमा एक साता लागेको थियो । 

दुई हप्तापछि पनि यी मांसपेशीले तन्तुका अणु तहमा क्षतिका संकेत देखिएका थिए । अर्थात् पूर्ण रूपमा ठीक भइसकेका थिएनन् । ‘हाम्रो प्रयोगात्मक परिस्थितिमा चिसोको प्रयोगले स्वास्थ रूपमा हुने इन्फेमेटोरी प्रतिक्रिया सुस्त बनाइदिन्छ,’ कोबे विश्वविद्यालय ग्रेजुएट स्कुल अफ हेल्थ साइन्सेसका प्राध्यापक ताकामित्सु अरकावाले बताए । उनले उल्लेखित अध्ययनको नेतृत्व गरेका थिए ।

शोधकर्ताले अध्ययनमा मान्छे नभएर मुसा प्रयोग गरिएको कुरा ख्याल गर्न आग्रह गरेका छन् । मुसा र मानिसको मांसपेशीको बनावट समान भए पनि एउटाको निष्कर्ष अर्कोलाई काम नलाग्न सक्छ । अहिलेका लागि भने उनको अध्ययनले क्षतिग्रस्त मांसपेशीमा आइस प्याक लगाउन दिनुभन्दा त्यसै छाड्नु उपयुक्त देखाएको छ । 

न्युयोर्क टाइम्सबाट