१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ बैशाख ३१ शनिबार ११:२०:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मतपरिणाम सुन्न आतुर वृद्धवृद्धा

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार ११:२०:००

दमक नगरपालिकाको मत गणना निर्वाचन अधिकृतको कार्यालय रहेको नगरपालिकाको कार्यालयमा हुँदै छ । रातिबाट सुरु भएको मत गणनाको परिणाम सुन्न नगरपालिकाको गेट बाहिर भिड छ । 

त्यही भिडमा छन् ८२ वर्षीय वृद्ध शेरबहादुर खड्का । दमक–४ का वृद्ध खड्का बिहान ७ बजेदेखि प्रारम्भिक परिणाम कुरेर गेटबाहिर बसेका छन् । गेटमा अधिकांश दलका समर्थक छन् । तर, खड्का कसैका समर्थक भने हाेइनन् । उनी मत परिणाम सुन्न आतुर देखिन्छन् ।

‘हामीले मत दिएको प्रतिनिधिले हार्छ कि जित्छ भन्ने सुन्न मन त लागिहाल्छ नि ! तर, जसले जिते पनि हामी वृद्धवृद्धालाईचाहिँ हेरोस्,’ उनी भन्छन्, ‘घरबाट ५० रुपैयाँ भाडा तिरेर सिटी रिक्सामा आएँ ।’ घरमा रेडियो छैन । सामाजिक सञ्जाल पनि छैन । त्यसकारण उनी नगरपालिकाकै गेटमा आएर नगपालिकाले राखेको माइकतिर हेरेर बसेका छन् । ‘घरमा बस्दा कस्ले जितो थाहा नपाइने रहेछ,’ उनी भन्छन्, ‘यहाँ आउँदा मतपरिणाम पनि सुन्न पाइने । साथीभाइसँग पनि भेट हुने ।’ उनी अझै केही घन्टा बस्ने सोचमा छन् । यद्यपि, निर्वाचन कार्यालयले मतपरिणाम सुनाउन ढिला गरेकोमा उनी दुखी देखिए । ‘बिहान आउनेबित्तिकै एकपटक भन्यो । त्यसपछि भन्दैन,’ उनी भन्छन्, ‘आँखा माइकतिरै छन् ।’

मतपरिणाम सुन्नेको भिडमा छन्, दमक–९ का ७३ वर्षीय वृद्ध टेकबहादुर बस्नेत । उनी पनि मतपरिणाम सुन्न आतुर छन् । उनी कुनै दलमा आबद्ध छैनन् । तर, राजनीतिक चेत भने छ । २०४६ सालमै पहाडी जिल्लामा जनप्रतिनिधि भएका रहेछन् । ‘अहिले कतै आबद्ध छैन । तर, मत परिणाम सुन्न इच्छा लाग्छ । त्यही भएर आएँ,’ उनी भन्छन्, ‘तर, निर्वाचन कार्यालयले एकदम ढिला गर्‍यो ।’