Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नवीन लोचनमगर
२०७५ फाल्गुण ३० बिहीबार १२:५१:००
Read Time : > 2 मिनेट
समाचार

माडी पुल निर्माण तीव्र, रोल्पाको आधा भूभाग सडकसँग जोडिँदै

सम्झौताअनुसार मंसिरसम्म समय भए पनि असारमै सक्ने योजना

Read Time : > 2 मिनेट
नवीन लोचनमगर
२०७५ फाल्गुण ३० बिहीबार १२:५१:००

रोल्पाको करिब आधा भू–भागलाई सडक सञ्जालमार्फत सदरमुकाम लिवाङसँग जोड्ने माडी पुलको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ । एक दशकअघि पुल निर्माण प्रक्रिया सुरु भएको थियो, तर काम कठिन भएपछि पहिलो ठेकेदारले छाडेका थिए । नयाँ ठकेकेदारले भने काम तीव्र बनाएका हुन् । 

पुरानो ठेक्का रद्द गरिएपछि ३१ असारमा एसियाटिक राज जेभी कन्स्ट्रक्सनले ३ करोड ५१ लाखमा १७ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । ७२ मिटर लम्बाइ, ६ मिटर चौडाइ रहेको पुलमा राज कन्स्ट्रक्सनले धमाधम निर्माणको काम गरिरहेको छ ।

कन्स्ट्रक्सनका सञ्चालक राजवीर घर्तीले पुलको बीच खण्ड ढलान गरिसकेको र अब दुई खण्ड बाँकी रहेको बताए । उनका अनुसार तीन खण्डमा ढलान सुरु गरिएको पुलको पूर्वी खण्ड पनि अबको एक महिनामा सम्पन्न हुनेछ । यसअघि निर्माण जिम्मा पाएको ‘लामा एन्ड धर्मेन्द्र जेभी कम्पनी’ले दुई पिलर मात्र ठड्याएर अलपत्र पारेपछि पुरानो ठेक्का रद्द गरिएको थियो ।

कडा चट्टानले ठेकेदारलाई तर्सायो
पुल निर्माणका लागि पूर्वी क्षेत्रमा ठूलो चट्टान फोर्नुपर्ने भएपछि यसअघिको निर्माण कम्पनीले बीचैमा छोडेको थियो । अहिले निर्माणको ठेक्का पाएको राज जेभी कन्स्ट्रक्सनका राजवीर घर्तीले भने, ‘मैले पनि चट्टानमै एक करोड खर्चिएँ, स्टिमेटमा करिब ४० लाख मात्र थियो ।’ विभिन्न कम्पनीले धोका दिइरहेको अवस्थामा निर्माण पूरा गरेरै छाड्ने अठोट लिएको राज कन्स्ट्रक्सनले निर्माण कार्यलाई आफ्नो इज्जतसँग जोडेको घर्ती बताए । 

यस्तो छ पुलको नालीबेली
दाङ–होलेरी हुँदै थवाङ जोड्ने ‘सहिद–मार्ग’लाई लिवाङसँग जोड्नका लागि पनि माडी पुल अनिवार्यजस्तै छ । ०६५ सालमा टेन्डर आह्वान गरिएको सो पुल निर्माणको जिम्मा ‘लामा एन्ड धर्मेन्द्र जेभी कम्पनी’लाई दिइयो । ३ करोड ६८ लाखमा ०६५ मै जिम्मा लिएको कम्पनी केही वर्ष चुपचाप रह्यो । वेला–वेलामा मिडिया र स्थानीय सरोकारवालाको दबाबले दुई पिलर त उठे, तर निर्माणको काम बीचमै रोकियो । 

०६५ मै ‘लामा एन्ड धर्मेन्द्र जेभी कम्पनी’ हुँदै ठेक्का हात पारेका प्युठानका वसन्त डिसी ३ करोड ६८ लाखसहित कामै नगरी हराए । ०६९ असारसम्म निर्माण सम्पन्न गरिसक्ने सर्तमा जिम्मा पाएका ठेकेदारले पुल बनाउनुको साटो ५० लाख पेस्की लिएर भागेको सरोकारवाला बताउँछन् । ६२ मिटर लम्बाइ र ४ मिटर चौडाइको स्टिमेट गरिएको सो पुल स्टिमेट नमिलेको बहाना बनाउँदै ठेकेदार झन्डै चार वर्ष हराएको स्थानीयको भनाइ छ ।

पछि ठेकेदारकै भनाइलाई सही मान्दै लम्बाइ, चौडाइ, रकम, समयावधि सबै थपियो । तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी र तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २६ कात्तिक ०६९ मा पुलको सिलान्यास गरे । मन्त्रीहरूलाई नै साक्षी राखेर सिलान्यासकै दिन आयोजक सडक डिभिजनले १० मिटर लम्बाइ, २ मिटर चौडाइ र लागत ३२ प्रतिशतले बढाएर ४ करोड ८५ लाख पु¥याइएको घोषणा ग¥यो । यसरी मन्त्रीकै रोहबरमा आयोजक संस्थाले स्टिमेट बिग्रिएको घोषणा गरिरहँदा स्टिमेट बिगार्ने कन्सल्टेन्सीलाई कुनै कारबाही भएन । 

पुल निर्माणका लागि संघर्ष समिति बनाउँदै ४ भदौ ०७१ मा समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र पठायो । संघर्ष समितिकै दबाबमा निर्मित बेलिब्रिजले तत्कालका लागि वारपार सहज भए पनि दीर्घकालीन समस्या समाधानका लागि पक्की पुल अनिवार्य थियो ।
चाँडै सक्ने तयारी
पुल निर्माण कम्पनी एसियाटिक राज जेभी कन्स्ट्रक्सनले असारमै निर्माण सम्पन्न गर्ने योजना बनाएको छ । आगामी मंसिरसम्म सम्पन्न गर्ने सम्झौता भए पनि वर्षाका कारण हुने घाटा कम गर्न  कम्पनीले असारभित्रै सक्ने योजना बनाएको हो । पुल निर्माणमा करिब ५० लाख घाटा हुने राजवीरको अनुमान छ । कडा चट्टान फोर्ने तथा निर्माण सामग्री खरिदमा केही महँगो परेकाले घाटा हुने अवस्था आएको उनको भनाइ छ । 

नेताको टाउकोदुखाइ
रोल्पाको पश्चिमी भेगलाई लिवाङसँग जोड्ने मुख्य पुल निर्माणको कथा लामो छ । उपराष्ट्रपति नन्दबहादुर पुन, ऊर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री जयपुरी घर्ती, प्रदेश ५ का कानुनमन्त्री कुलप्रसाद केसीलगायत दर्जनौँ नेताको घर पुलपारि पर्छ । तर, साबिक जिल्ला सदरमुकाम पुलवारि छ । वर्षामा जिल्लाको झन्डै आधा भाग सदरमुकामसँग माडी खोलाकै कारण आवत–जावत बन्द हन्छ । अस्थायी बेलिब्रिज बनेपछि भने जेनतेन वारपार भइरहेको छ । माडी पुलकै कारण सभामुख कृष्णबहादुर महरादेखि रोल्पा जन्मघर भएका सबै नेताले आलोचना सहनुपरेको छ । अझ विपक्षीका लागि आलोचनाको विषय बन्ने गरेको छ । ठेकेदारको अटेरीका कारण नेताले गाली खानुपरेको गुनासो नेताहरूले गर्दै आएका छन् । पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित छन् ।

दुई निर्वाचन क्षेत्र जोडिने
पुल निर्माणसँगै रोल्पाका निर्वाचन क्षेत्र १ र २ जोडिने भएका छन् । त्यसका साथै पश्चिम रोल्पामा उत्पादित कृषि तथा खाद्यवस्तु, पशुपक्षीलगायत कृषिजन्य सामग्री र जडीबुटी सदरमुकाम लिवाङ, व्यापारिक क्षेत्र सुलिचौर हुँदै जिल्लाबाहिर निर्यात गर्नसमेत कृषकलाई सहज हुने भएको छ । त्यसैगरी सदरमुकामका खाद्यवस्तु पश्चिम रोल्पाको ग्रामीण भेगमा पु¥याउन सहज हुनेछ । माडी पुल बनेसँगै रोल्पाका पश्चिम भेग परिवर्तन, थवाङ, रुन्टीगढी, त्रिवेणी गाउँपालिका मात्रै नभएर छिमेकी जिल्ला रुकुम र सल्यानसम्मको यातायात सेवा सहज हुनेछ ।